२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड महामारीमा स्थानीय सरकारको सक्रियता, जसले सयौं सुत्केरीको ज्यान जोगियो

कोभिड महामारीमा स्थानीय सरकारको सक्रियता, जसले सयौं सुत्केरीको ज्यान जोगियो


कहालीलाग्दो कोभिड-१९ कालमा सिंगो जनजीवन कष्टकर बनिरहँदा विकट क्षेत्रका स्थानीय तहले प्रभावकारी भूमिका खेले । जसले सुत्केरी तथा गर्भवती महिलाको स्वास्थ्य जटिलता मात्रै घटाएन, कोभिडको त्रासदीसमेत कम गर्यो ।

काठमाडौं-सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ की ३८ वर्षीया फुलमाया लामा १२ साउन २०७८ मा इचोक स्वास्थ्य चौकीमा सामान्य सुत्केरी भइन् । तर, शिशु जन्मिएको आधा घण्टा भित्र खस्नुपर्ने साल एक घण्टासम्म पनि नखसेपछि स्वास्थ्य जटिलता थपिदैं गयो ।

स्वास्थ्य चौकीकी अनमी सरिता खनालले साल निकाल्नका लागि प्रयास गरिन् । करिब डेढ घण्टापछि साल त खस्यो । तर, त्यसलगत्तै अत्याधिक रक्तश्राव सुरु भयो । अनमी खनालले रक्तश्राव रोक्न गरेको प्रयास पनि सफल भएन । उनले त्यो दिनको घटना सम्झिदैं सुनाइन्, ‘रगत धेरै बगेकाले रगत नै चढाउनुपर्ने अवस्था देखियो । तर, स्वास्थ्य चौकीमा रगत चढाउने व्यवस्था छैन् ।’

फुलमायाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र स्वास्थ्य चौकीमा उनको ज्यान बचाउने सकिने सम्भावना कम देखेपछि अनमी सरिताले परिवारसँग काठमाडौं लैजानु पर्ने बताइन् । तर, कोभिडको दोस्रो लहर चलिरहेका बेला काठमाडौं लैजान सजिलो थिएन । त्यसमाथि १ असार २०७८ मा हेलम्बुमा आएको बाढीले स्वास्थ्य चौकीबाट काठमाडौं जाने सडक र पुल क्षतविक्षत थियो, एम्बुलेन्स गुडनेसम्मको सडक थिएन् ।

अवस्था नाजुक हुँदै गएपछि अनमी सरिताले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई खबर गरिन् । अध्यक्ष शेर्पाले बिरामीको अवस्था बुझेर तुरुन्तै हेलीकप्टर झिकाए । सरिताले सुनाइन्, ‘त्यतिबेला हेलिकप्टर उपलब्ध नभएको भए सायदै बिरामी बाँच्थिन । किनकी धेरै रगत बगेकाले बिरामीको शरीर निकै सेतो भइसकेको थियो ।’

गाउँपालिकाको पहलमा फुलमायाको उद्धार गरी काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पु¥याएपछि जोखिम टर्यो । स्थानीय सरकारको सहयोगले फुलमायाले नयाँ जीवन पाइन् ।

कोभिड संक्रमणका बेला सिमित स्रोत र साधनको भरमा पनि स्थानीय तहले खेलेको प्रभावकारी भूमिकाकै कारणले गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोगिएको देखिन्छ । हेलम्बु गाउँपालिकाले संक्रमणका बेला स्थानीय स्वास्थ्य संस्था र वर्थिङ सेन्टर दुवै बन्द हुन नदिने काम मात्रै गरेन, संक्रमण फैलिदा बिरामीको स्वास्थ्यमा जटिलता थपिएला भनेर थप कडाइ पनि गर्यो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र सिग्देल गाउँपालिकाले खेलेको भूमिकाकै कारण कोभिड संक्रमण फैलिएपछि वर्थिङ सेन्टरमा सुत्केरी हुन आउने संख्या बढेको अनुभव बाँडछन् ।

कोभिड महामारीका बेला गर्भवतीहरु वर्थिङ सेन्टर आउँदैनन् कि भन्ने पिर पनि थियो । तर वर्थिङ सेन्टरमा कोभिड नफैलियोस् भनेर गाउँपालिकाको सहकार्यमा स्वास्थ्यकर्मी र गर्भवती महिलाबाहेक अरु कोही पनि आउन नदिने नियम सुरु भयो । स्वास्थ्य शाखाका प्रमुख सिग्देलले स्थानीय तह सक्रिय भएकाले कोभिड संक्रमणको जोखिमबाट गर्भवती, सुत्केरी र कुरुवाहरुलाई जोगाउन सकिएको अनुभव सुनाए । कोभिड महामारीका गाउँपालिकाले वर्थिङ सेन्टरसँगै रहेको चार कोठे भवनमा सुत्केरीहरुलाई महिनौंसम्म बस्न र उपचार सकिएपछि मात्रै घर जान मिल्ने व्यवस्था मिलाएको थियो ।

स्थानीय तहको सक्रियताले स्वास्थ्य महामारीमा कसरी विपन्न र सीमान्त जनताले सेवा सुविधा पाउन सक्छन् भन्ने बलियो उदाहरण हो, नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका । वि.सं. २०७७ साल भदौ महिनामा कोभिडको दोस्रो लहर ओरालो लाग्दै थियो । तर पनि संक्रमणको जोखिम र यसले निम्त्याएको जटिलताहरु भने घटिसकेका थिएनन् । यही महिनामा दुप्चेश्वर १ कि ४१ वर्षीया लीला खड्काले स्थानीय स्वास्थ्य चौकीमा छैटौं सन्तानलाई जन्म दिइन् ।

तर, उनमा पनि फुलमायाको जस्तै समस्या देखियो । सुत्केरी भएको एकदिनसम्म पनि साल झरेन । घरपरिवारले साल झार्न अनेक जुक्ति लगाए तर झनै रक्तश्राव बढेपछि जोखिम देखियो । बेहोस अवस्थामा पुग्न लागेकी लीलाको स्वास्थ्य अवस्थाबारे गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष अन्जु आर्चायले जानकारी पाइन् ।
कोभिड संक्रमण भएर आइसोलेसनमा बसेकी उपाध्यक्ष अन्जु स्वास्थ्य मापदण्ड पालना गरेर लीलाको स्वास्थ्य अवस्था बुझ्न पुगिन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परे गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार सेवामा दुप्चेश्वर गाउँपालिका पनि सहभागी भएकाले जिल्ला प्रशासन कार्यलयलाई खबर गरेको एक, दुई घण्टामै हेलिकप्टर आएको उनको भनाइ छ ।

स्थानीय तहले हेलि व्यवस्था गरेपनि लीलाको परिवारले भने धामीझाँक्रीको विश्वासमा थिए । सुरुमा त लीलाको परिवारले अस्पताल जान पनि आनाकानी गरिरहेका थिए । तर, स्थानीय तहले नै सबै प्रबन्ध मिलाएपछि उनीहरु धामीझाँक्रीसहित काठमाडौंको थापाथलीस्थित प्रसुती गृह पुगे । निवर्तमान उपाध्यक्ष अन्जुले केही मिनेट मात्रै ढिला भएको भए सुत्केरीको ज्यानै जान सक्ने अवस्था रहेको बताइन् । त्यो घटना सम्झिँदा अहिले पनि अन्जुलाई आफूले पुण्य हुने काम गरे भन्ने खुशी मिल्छ ।

केही बर्ष अघिसम्म ब्यवस्थित स्वास्थ्य सेवाको कमजोर पहुँच र संस्कृतीजन्य अन्धविश्वासका कारण दुप्चेश्वर गाउँपालिकामा घरमै जोखिमपूर्ण सुत्केरी हुने चलन व्यापक थियो । वि.सं. २०७४ सालको स्थानीय चुनावअघिसम्म यहाँ संस्थागत सुत्केरी हुनेको संख्या १३ प्रतिशत मात्र थियो । निर्वतनमान उपाध्यक्ष अन्जुका अनुसार स्थानीय तहका निर्वाचित जनप्रतिनिधीहरु आइसकेपछि पछिल्लो पाँच वर्षमा संस्थागत सुत्केरीको दर बढेर ४३ प्रतिशत पुगेको छ ।

उनले स्थानीय सरकार आएपछि उल्लेखनीय काममध्ये प्रसुति सेवा मुख्य रहेको बताइन् । ‘२०७४ सालको निर्वाचनमा हाम्रो मुख्य एजेन्डा नै मातृशिशुमा रहेर काम गर्ने नै थियो । तर, कोभिडपछि यसमा थप जिम्मेवारी थपियो,’ पूर्व उपाध्यक्ष अन्जु आचार्य भन्छिन्, ‘यो वर्ष गाउँपालिकाको तीन वटा वडालाई पूर्ण संस्थागत सुत्केरीमैत्री वडा घोषण गर्न तयारी अवस्थामा राखिएको छ ।’

गाउँपालिकाले कुनै पनि हालतमा वर्थिङ सेन्टरलाई प्रभावित गर्नु हुँदैन भनेर लागि परेको पूर्व उपाध्यक्ष आर्चायले बताइन् । महामारीको समयमा गाउँपालिकाको पाँच वटा वडामा रहेका आठ वटा वर्थिङ सेन्टर सञ्चालनमै रहेको उनी सम्झिन्छिन् । उनले कोभिड संक्रमणका बेला पनि गाउँपालिकाले नियमित जाँच गर्न आउने गर्भवतीहरुलाई सेवामा कुनै पनि कटौती नगरेको र सेवा दिए बापत स्वास्थ्यकर्मीलाई भत्ता दिएको बताइन् ।

कतिसम्म भने लकडाउनको समयमा यातायात नचेलेपछि वर्थिङ सेन्टरहरुले अन्यत्र अस्पताल पठाउनुपर्र्नेे गर्भवतीहरुका लागि भनेर गाउँपालिकाले दुई वटा एम्बुलेन्सको जोहो गरेको थियो । ती दुई एम्बुलेन्समध्ये एउटा नर्मल र अर्कोमा कोभिड संक्रमित वा शंका लागेको बिरामी राख्ने व्यवस्था गाउँपालिकाले मिलाएको थियो ।

कोभिड संक्रमणका बेला सिंगो स्वास्थ्य क्षेत्र नै लथालिंङ बनेपनि स्थानीय तहको सक्रियताले देशैभरी मातृ शिशु स्वास्थ्यको क्षेत्रमा उल्लेख्य क्षति कम भएको देखिन्छ । खासगरी र सुत्केरीको ज्यान जोगाउन स्थानीय तहले खेलेको भूमिकाले धेरैलाई नयाँ जीवन दिएको छ । जस्तो कि, स्थानीय तहकै पहलमा दुप्चेश्वर गाउँपालिकाले गर्भवती महिलाहरुका लागि भनेर फोनमार्फत नै स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाएको थियो । स्थानीय तहले शिखरवेसी स्वास्थ्य चौकीमा प्रसुती हुन आएका आमाहरुलाई कोभिडसँग मिल्दाजुल्दा लक्षणहरु देखिएमा अलग्गै राख्नका लागि आइसोलेसन कक्ष समेत निर्माण गरिदिएको थियो ।

कतिपय स्थानीय तहले त कोभिड महामारीमा सबैभन्दा जोखिममा गर्भवती र सुत्केरी महिला हुने भन्दै थप सजगता पनि अपनाए । नुवाकोटको दुप्चेश्वर–१ त कोभिडकै बीच वर्थिङ सेन्टर संचालनमा ल्यायो । दुप्चेश्वर–१ घ्याङफेदीमा संचालित वर्थिङ सेन्टरका अहेब समिरकुमार महतोले आफूहरुले कोभिड लागेका गर्भवती वा सुत्केरी आए भने कसरी सेवा दिने भन्ने योजनासमेत त्यतिबेला बनाएको अनुभव सुनाए ।

कोभिड संक्रमणको सुरुवाती दिनहरुमा स्थानीय स्वास्थ्य संस्थाहरुलाई कसरी संचालनमा ल्याउन सकिन्छ भन्ने अन्योल स्थानीय तहमा भएको देखिन्छ । जस्तो कि बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका निर्वतमान नगरप्रमुख दुर्गाबहादुर चौधरी कोभिडको पहिलो लहरमा सबै जनप्रतिनिधी र स्वास्थ्यकर्मीका कसरी काम गर्ने होला भन्ने डर देखिएको बताउँछन् । उनले भने, ‘सुरुमा त सबै डराएका थिए । सबै डराएपछि कसरी काम गर्ने त भनेर निकै अन्योल भयो ।’

सधैभरी डराएर भएन भनेपछि जनप्रतिनिधि नै अग्रसर भएर क्वारेन्टाइन व्यवस्थापनतिर लागेका सबैको हौसलाले गर्दा स्वास्थ्यकर्मीहरु पनि अग्रभागमा खटिएको अनुभव उनले बाँडे । कोभिडको समयमा नगरपालिकाले बिरामीहरुका लागि भनेर दुई वटा छुट्टै एम्बुलेन्स सेवा निःशुल्क दिएको थियो ।

नगरपालिकाले मगरगढीमा रहेको आरसी थारू मेमोरियल अस्पताललाई प्रसुती गृहका रुपमा पनि तोकेको थियो । त्यस्तै, कोभिडका बेला पनि सुत्केरीहरुले सेवा पाउन भनेर बानियाँभार स्वास्थ्य चौकी, पद्नाहा र धधवार स्वास्थ्य चौकीबाट सेवा जारी राखेको थियो । उनले यी तीनवटै संस्था कोभिड ‘फ्रेन्डली’ बनाएको बताए । उनले प्रसुती गराउनुपर्ने आमालाई कोभिड पुष्टि भयो भने आरसी थारू मेमोरियल अस्पतालमै प्रसती गराइन्थ्यो भने सामान्य अवस्थामा रहेका गर्भवती महिलालाई भने पायक पर्ने स्थानमा नै सेवा दिने गरेको उनको भनाइ छ । कोभिड संक्रमणका बेला जटिल अवस्थाका सुत्केरी र गर्भवतीलाई जिल्ला अस्पताल गुलरिया रेफर गर्नुपर्ने हुनसक्ने भन्दै नगरपालिकाले जिल्ला अस्पतालसँग पनि समन्वय गरेको थियो ।

जनस्वास्थय विज्ञ डा. शरद वन्त भने कोभिड महामारीमा सबै स्थानीय सरकारले प्रसुती सेवालाई सहज बनाउन राम्रो भूमिका खेले भनेर भन्न सकिने अवस्था नरहेको बताउँछन् । उनी एकाध स्थानीय तहले कोभिडको समयमा गर्भवती र सुत्केरीका लागी राम्रो काम गरेपनि त्यो नै उल्लेख नभएको बताउँछन् । उनले गर्भवती तथा सुत्केरीका निम्ति आवश्यक स्वास्थ्य सेवा संवेदनशील बिषय भएको बताउँदै स्थानीय तहमा भएका महिला स्वास्थ्य स्वयंमसेविकाहरु हुनु सबैभन्दा सकारात्मक कुरा भएको बताए । उनले भने, ‘कोभिड महामारीमा स्वास्थ्य स्वयंमसेविकाहरुलाई सही रुपमा परिचालन गरेर गर्भवतीको अवस्था कस्तो छ ? क–कसलाई विशिष्टकृत सेवाको आवश्यकता परेको छ भनेर सुचना संकलन गर्ने र त्यसैका आधारमा स्वास्थ्य संस्थाले स्थानिय सरकारसँग मिलेर काम गर्नुपर्ने थियो । तर, त्यस्तो अभ्यास देखिएन् । अब फेरि महामारी आयो भने स्थानीय सरकारले यस्ता कुरामा ख्याल गर्नैपर्छ ।’ डा. वन्त महामारीको बेला सबै गर्भवती स्वास्थ्य संस्थासम्म पुग्न सक्ने अवस्था नभएकाले त्यस्तो बेला स्थानीय सरकारले घरघरमा गएर उनीलाई सेवा दिन सक्नुपर्ने तर्क राख्छन् ।

कोभिडको समयमा स्थानीय सरकारले कोभिड नियन्त्रण र कोभिडका कारण उत्पन्न समस्या समाधानमा महत्वपूर्ण भूमिका खेलेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । सार्वजनिक स्थलमा जमघट गर्ने क्रियाकलापमा रोक लगाउनेदेखि दिएर प्रसुती सेवालाई सहजीकरण गर्नका लागि यातायातको व्यवस्था गर्नेमा स्थानीय सरकार लागिपरेको उनले बताए । कोभिडको बेला गर्भवतीले गराउनुपर्ने नियमित परीक्षणदेखि प्रसुती हुँदासम्म स्थानीय सरकारले निगरानी गरेर सेवा प्रदान गरेको बताउँदै उनले भने, ‘केही स्थानीय तहले फोनमार्फत गर्भवती महिलाको स्वास्थ्यबारे बुझबुझारथ गरेका थिए ।’ उनले कोभिड महामारीमा स्वास्थ्य संस्थासम्म आउन नसकेको गर्भवतीका लागि भने स्वास्थ्यकर्मी घरमै गएर उपचार सेवा दिनुपर्ने खाँचो देखिएपनि त्यस्तो काम हुन नसकेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ