काठमाडौँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद(एनएचआरसी)ले स्वास्थ्य पत्रकारहरुका लागि ‘अनुसन्धानमा आमसञ्चारमाध्यमको भूमिका’ सम्बन्धि दिएको एकदिने तालिम सम्पन्न भएको छ । शुक्रबार बसेरा बुटिक होटेलस्थित उक्त तालिम सम्पन्न भएको हो।
सो तालिममा परिषदका विज्ञहरु र पत्रकारबीच नेपालमा अनुसन्धानको अवस्था र आमसञ्चार यससम्बन्धित गरिरहेको रिपोर्टिङहरु बारे छलफल गरिएको थियो।
कार्यक्रमको सुरुवातमा परिषदका सदस्य सचिव डा. प्रदिप ज्ञवालीले अनुसन्धानको अवस्था, अनुसन्धानको महत्व र पत्रकारहरुको यसमा हुनुपर्ने भूमिकाबारे आफ्नो प्रस्तुतीकरण राखेका थिए। उनले सो तालिमबाट पत्रकारहरुको क्षमता अभिवृद्धि हुनुको साथै विज्ञान सम्बन्धि पत्रकारिता गर्न अझै स्पष्ट हुने विश्वास रहेको बताए।
सञ्चार माध्यमले विज्ञानको विषयमा सत्यपरक कुराहरुलाई मात्र जोड दिएर समाचार बनाउन डा. ज्ञवालीले आग्रह गरेका छन् । परिषदबाट अनुसन्धान भैराखे पनि बजेट पर्याप्त नहुँदा अनुसन्धान गर्न अप्ठ्यारो भएको बताउंदै उनले स्वास्थ्यमा करिब ०.५ प्रतिशत बजेट छुटाइएकोमा २ प्रतिशत अनुसन्धानमा छुट्याउनु पर्ने बताए।
त्यस्तै, कार्यक्रममा परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले अनुसन्धनका चुनौतीबारे आफ्नो भनाइ प्रस्तुत गरे। उनले मुख्य चुनौती भनेको स्वास्थ्यका विषयमा अनुसन्धानहरु भएपनि त्यसका नतिजालाई नेपाली भाषामा कसरी प्रस्तुति गर्ने भन्ने चुनौती रहेको र अनुसन्धानलाई सरल भाषामा लग्न आवश्यक रहेको बताए ।
हरेक अनुसन्धानको उद्देश्य समाजको समस्याहरू सम्बोधन गर्ने हुँदा यसबारे सहि सूचनाजान आवश्यक रहेको बताउँदै उनले अनुसन्धान परिषद् प्रदेश तथा स्थानिय निकायसम्मका अनुसन्धान गर्न मिडियासँग सहकार्य गरेर जान सक्ने उनको भनाइ छ।
स्वास्थ्य अनुसन्धानको प्रवर्धन गर्न संचार माध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै यसमा परिषद र पत्रकारबीच सहकार्य हुनुपर्ने हेल्थ कन्सर्न नेपालका प्रमुख डा. सुवास प्याकुरेलले जोड दिए।
वैज्ञानिक खोजमा आधारित रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक एवं जनस्वास्थ्यविद डा. खेम कार्कीले जनाए। डा. कार्कीले स्वास्थ्य पत्रकारितामा विज्ञानका कुरा आउने हुँदा यो निकै सम्वेदनशील भएर लाग्न आग्रह गरे । उनले भने, ‘यो संवेदनशील कुरा हो। साइन्सको न्युज ब्रेकिङ गर्न हतार गर्न हुँदैन, यसलाई सन्तुलित, विश्वनीय बनाउपर्छ। यसमा विज्ञको नाम र उनीहरुले उल्लेख गरेको खोजले भन्न खोजेको अर्थसहितको कन्टेन्ट बनाउनुपर्छ।’
पत्रकारितामा चाहिने इथिक्स र प्राक्टिसका विषयमा कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले आफ्नो धारणा र अनुभव राखे राखेका थिए। हरेक वर्ष ५ लाख नेपाली जनताहरू महंगो उपचारकै कारण गरिबीको रेखामुनि परिरहेको बताउँदै उनले पत्रकारहरु सरकारको निति निर्माणका विषयमा केन्द्रित रहेर पत्रकारिताहुनुपर्ने बताए।
परिषदकी आचारसंहिता अनुगमन तथा मूल्यांकन शाखाका प्रमुख नमिता घिमिरेले नेपालमा स्वास्थ्य अनुसन्धान गर्न इच्छुकले के-कस्ता प्रक्रिया पुरा गर्नुपर्छ भन्ने विषयमा समेत जानकारी गराएकी थिइन ।