काठमाडौँ – सरकारले ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ । पहिलो चरणअन्तर्रगत २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा खोप दिने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
मन्त्रालयले दिएको जानकारी अनुसार २ श्रावणदेखि ८सम्म दोस्रो मात्रा खोप दिइनेछ।
पहिलो चरणमा प्रदेश १ मा झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा, मधेश प्रदेशमा सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी जिल्लामा खोप लगाइनेछ ।
त्यसैगरी, बागमती प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप दिइनेछ भने गण्डकी प्रदेश कास्की, नवलपरासी पूर्वमा , कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइनेछ ।
बालबालिकालाई विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप लगाइने केन्द्रले जनाएको छ । दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।