२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारइवामुरा अस्पतालको नयाँ व्यवस्थापनमा डा. मनोजमानको टिम, को–को चिकित्सक छन् टिममा ?

इवामुरा अस्पतालको नयाँ व्यवस्थापनमा डा. मनोजमानको टिम, को–को चिकित्सक छन् टिममा ?


काठमाडौं—भक्तपुर सल्लाघारीस्थित २५ वर्ष पुरानो डा. इवामुरा मेमोरियल अस्पतालको व्यवस्थापनमा नयाँ टिम आएको छ । १ साउनदेखि पूर्ण रुपमा १५ वर्षका लागि इवामुराको व्यवस्थापकीय नेतृत्व वरिष्ठ रेडियोलोजिष्ट डा. मनोजमान श्रेष्ठको टिमले लिएको हो ।

१०० शैय्याको इवामुरा अस्पतालको व्यवस्थापन १५ वर्षसम्म नयाँ टिम सम्हाल्नेछ । नयाँ टिमले व्यवस्थापन लिएसँगै अस्पतालको नयाँ भवन निर्माणदेखि एमआरआई, सिटी स्क्यानलगायतका उपकरण भित्र्याउने प्रक्रिया पनि अगाडि बढाइएको छ । ‘नयाँ भवनलगायत विभिन्न विशेषज्ञ सेवाहरु एक्सपान्सन गर्न लागेका छौं,’ अस्पतालको *नयाँ व्यवस्थापन टिमका अध्यक्ष डा. श्रेष्ठले भने ।

‘साउन १ गते अस्पतालको व्यवस्थापन हामीलाई औपचारिक रुपमा ह्याण्डओभर हुन्छ,’ डा. श्रेष्ठले हेल्थआवाजसँग भने, ‘अस्पतालको पूरै व्यवस्थापन हाम्रो टिमले हेर्छ । कलेजको व्यवस्थापनमा भने पूरानै टिम हुनेछ ।’ इवामुराले नर्सिङ र पारामेडिक्सका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

व्यवस्थापनमा डा. श्रेष्ठसँगै अन्य पाँच जना छन् । नयाँ व्यवस्थापन भित्रिएसँगै ‘डा. इवामुरा अस्पताल, मेरो सपनाको अस्पताल’ थिममा अस्पताल ब्राण्डिङ पनि सुरु गरिने भएको छ ।

अस्पतालको मेडिकल कोर्डिनेटरको जिम्मेवारी सर्जन डा. जितेन्द्र सिंहले सम्हाल्ने भएका छन् । यस्तै, नयाँ व्यवस्थापनले अस्पतालमा सेवा र विभागहरुलाई बलियो बनाउने गृहकार्य सुरु गरिसकेको छ । अहिले लिभरका चिकित्सक डा. सुशील प्रजापति, काठमाडौं मोडलका जीआई सर्जन डा. उदय कोइराला, फिजिसियन डा. तास्मिन जमाल, बीएण्डबीका अर्थोपेडिक्स सर्जन डा.निरज शाह ठकुरी, प्रसुति तथा स्त्री रोगमा डा. अजला प्रजापति, रेडियोलोजिष्ट डा. विवेक कर्णलगायतका वरिष्ठ चिकित्सकहरुको फुलटाइम टिम बनाइएको छ ।

इवामुराले इनफर्टिलिटी सेवा पनि सुरु गरेको छ । जसमा डा. भावा श्रेष्ठ र डा. चुनुमिला महर्जनले फुलटाइम सेवा दिन सुरु गरेका छन् । यस्तै, इवामुरामा वरिष्ठ न्युरो फिजिसियन डा. सर्वोत्तम श्रेष्ठले पनि सेवा दिनेछन् ।

१ सय बढी कर्मचारी रहेको इवामुरा अस्पतालको आर्थिक विभाग मोहन वली र अन्य प्रशासनिक व्यवस्थापनमा श्याम श्रेष्ठ रहेका छन् । यसैगरी, राजेन्द्र श्रेष्ठ, सन्जय श्रेष्ठ, टासी सोनाम लामा पनि अस्पतालको व्यवस्थापन टिममा छन् ।

अस्पतालका नयाँ अध्यक्ष बनेका रेडियोलोजिष्ट डा. श्रेष्ठले १० वर्ष काठमाडौं मोडल अस्पतालमा सेवा दिएका थिए । उनले २२ वर्ष भक्तपुरको गठ्ठाघरमै ‘एएमएस क्लिनिक’समेत सञ्चालन गरिरहेका छन् । ‘अहिले हामीले डाक्टर, नर्स र अन्य स्टाफहरुलाई तालिमसमेत दिइरहेका छौं,’ अध्यक्ष डा. श्रेष्ठले भने, ‘भक्तपुरकै अधिकांश चिकित्सकहरुलाई नै प्रमुख प्राथमिकता दिएर सेवा दिन थालेका छौं ।’

२५ वर्षअघि जापानी समाजसेवी डा. नोबुरु इवामुराले सम्झनामा अस्पतालमा स्थापना भएको हो । डा. इवामुराले जापानिज स्वयंसेवकका रुपमा नेपाल आएर टिबी रोग नियन्त्रणमा ठूलो योगदान गरेका थिए । उनलकै सम्झनामा सन् १९९८ मा स्थापना भएको इवामुरा हस्पिटल सन् २००१ मा सञ्चालनमा आएको थियो । जसमा सन् २००५ मा स्थानीयलाई पनि सहभागी गराइएको थियो ।

*सच्चाइएको : डा. मनोजमान श्रेष्ठ इवामुरा अस्पताल व्यवस्थापन टिमको अध्यक्ष हुनुपर्नेमा अन्याथा भएकाले सच्चाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. इवामुरा मेमोरियल अस्पताल, #डा. जितेन्द्र सिंह, #डा. मनोजमान श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ