डा. वासुदेव उपाध्याय
महानिर्देशक,
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग
नेपालीहरुको महान् पर्व दशैं र तिहारहरुमा अधिकांश ब्यक्ति आफ्ना आफन्तहरुसँग भेटघाट गरी आफ्नो समय खानपिन, मोजमस्ती र रमाइलोमा नै बढी ब्यतीत गर्ने गर्दछन् । अन्य समयमा गरिने कामहरुलाई समेत छोडेर यस समय रमाइलो गर्ने र खानपिनमा नै बढी जोड दिने समय हो, भन्ने मानसिकता जनमानसमा रहेको पाइन्छ । जसकारण अन्य दिनको तुलनामा यसबेला बढी चिल्लो तथा मसलायुक्त खानाहरु खाइएता पनि हामी शारीरिक कसरत र व्यायामलाइ भने पूर्ण रुपमा बेवास्ता गर्ने गर्दछौ ।
फलस्वरुपः यस्ता गतिविधिबाट आफूद्धारा रुचीपूर्वक नै खाइएका खानाहरु पनि राम्ररी नपच्ने, ग्यास्ट्रिक हुने तथा अपच भई विभिन्न शारीरिक समस्याहरु देखा पर्ने हुन्छ । जसबाट रमाइलो गर्ने इच्छा हुँदाहुँदै पनि शरीरले साथ नदिएको खण्डमा हामीले चाहे जसरी चाडबाड मनाउन नसकिने परिणामहरु भोग्न बाध्य हुन्छौं । तसर्थ दशैं तिहारजस्ता चाडपर्वहरु रमाइलोका साथ मनाउन हामीले खानपिनमा विशेष ध्यान दिनु पर्दछ । यसका साथै, शरीरले हाम्रो साथ दिओस् भन्नका लागि हामीले पनि उचित शरीरको उचित ख्याल राख्नु पर्ने हुन्छ ।
मेरो स्वास्थ्य मेरो जिम्मेवारी
चाडवाडमा स्वस्थ्य भई रमाइलो गर्नका लागि सर्वप्रथम हामीले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने कुरालाई विशेष रुपमा ख्याल राख्नुपर्छ । यसका लागि चाडपर्व हो भन्दैमा अन्य दिन भन्दा बढी खाना खाने र अझ मासु, चिल्लो, तारेको तथा मसालायुक्त खानाहरु बढी खाने बानीलाई हटाउनु पर्दछ । हाम्रो शरीरलाई नियमित रुपमा हामीले खाने खाना पचाउने बानी परिसकेको हुन्छ ।
तर, दशैंको समयमा हामीले एकैचोटी बढी खाना खानाले यसबाट शरीरलाई लोड पर्न गई पाचन प्रकृयामा विभिन्न समस्या समेत देखिन सक्छ । वर्षदिनमा आउने चाडबाडलाई भव्यताका साथ मनाउने क्रममा मानिसहरु प्रायजसोः यस समयमा दैनिक रुपमा गर्ने कामहरु बन्द गर्छन् नै, यस बाहेक शरीरलाई आवश्यक शारीरिक कसरत समेत गर्दैनन् । जसकारण शरीरको पाचन प्रणालीमा विभिन्न समस्याहरु उत्पन्न हुने सम्भावना रहन्छ ।
कति र कसरी खाने?
दशैं तिहार बाहेक अन्य समयमा नियमित रुपमा खाइने अस्वस्थ्यकर तथा ध्यान नदिइएको खानपिनका कारण पनि शरीरमा चिनी रोग, रक्तचाप तथ नसर्ने रोगहरु देखा परी यसले मुटु सम्बन्धि पनि विभिन्न रोगहरु निम्त्याउने सम्भावना उत्तिकै रहन्छ । त्यसैले हामीले प्रत्येक समय कति र कसरी खाने भन्ने कुरामा विशेष ध्यान दिन अत्यावश्यक रहन्छ ।
यसको अर्थ हामीले खादै नखाने होइन, तर शरीरले पचाउन सक्ने जति खानाको मात्र सेवन गर्नुपर्छ । यसबाहेक, यस्तो समयमा बजारमा गुणस्तरहिन खाद्य पदार्थहरुको पनि उत्तिकै बिगबिगी रहने हुन्छ । जसबाट पनि विभिन्न किसिमका दिर्घकालीन रोगहरु देखिन सक्ने भय रहन्छ । तसर्थ यस्ता समस्या आइ नपरोस् भन्नका लागि हामीले निम्न उपायहरु अपनाउनु पर्दछ :
- उमालेर पकाएको माछा मासुले चिल्लो कम सोस्ने हुFदा त्यस्तो माछा मासुको मात्रै प्रयोग गर्ने
- बढी चिल्लो तथा मसालायुक्त खानाहरुको सेवन सकभर नगर्ने र गर्नैपर्ने अवस्था आएमा कम मात्रामा सेवन गर्ने
- एकैचोटी धेरै खाना नखाई त्यसलाई पटक–पटकमा थोरै थोरै गरेर खाने
- बोसोयुक्त खानाको प्रयोग नगर्ने
- रातो मासुभन्दा सेतो मासुलाई बढी प्राथमिकता दिने
- पाचन प्रणालीको शक्ति अनुसार मात्रै खानाको सेवन गर्ने
- एउटै तेललाई लामो समयसम्म प्रयोग नगर्ने
- आफ्नो उमेर, शरीरको क्षमता तथा आवश्यकता अनुसार मात्र खानाको प्रयोग गर्ने
- बासी तथा खुल्ला राखिएका खानाहरुको प्रयोग नगर्ने
- झिंगा भन्किएका पसलबाट माछामासु साथै अन्य खाद्य पदार्थहरु पनि खरिद नगर्ने
- प्याक गरी बेच्न राखिएका खाद्य पदार्थको उपभोगको निम्ति तोकिएको मितिलाई चेक गरी मात्रै सामान खरीद गर्ने
- खाना बनाउन प्रयोग गरिने तेल तथा खाद्य पदार्थहरुको गुणस्तरमा ध्यान दिने
- खानपिन सँगसँगै शारीरिक व्यायाम तथा सक्रियतालाई पनि उत्तिकै ध्यान दिने ।
शरीरमा समस्या देखा परेपछि उपचार गर्नुभन्दा पहिले नै त्यस्ता समस्याहरु आउन नदिनु बुद्धिमानी भएता पनि कहिलेकाहिँ उचित स्याहार गर्न खोज्दा खोज्दै पनि शरीरमा यस्ता समस्या देखा पर्ने हुनसक्छ । यदि त्यस्ता समस्या देखा परेमा हामीले त्यसबाट राहत पाउनको निम्ति निम्न घरेलु उपायहरु अपनाउन सक्छौः
- पानीको सेवन अत्याधिक मात्रामा गर्ने
- हल्का शारीरिक व्यायाम गर्ने
- बिरे नुन र ज्वानो मिसाएर उमालेको पानी बिहान बेलुका पिउने
- र, आयुर्वेदमा पाइने सन्दिपन चुर्ण, अविपतिकर चुर्ण, हिङ्गवास्टक चुर्ण जस्ता घरेलु जडिबुटीहरुद्धारा निर्मित पाचनमा सहायक हरु नियमित बिहान बेलुका १/१ चम्चा प्रयोग गर्ने ।
यसबाहेक पाचन प्रकृयामा सघाउ पु¥याउने यी पाचकहरु घरमा लगी राख्नाले अकस्मात् शरीरमा अपच हुने जस्ता समस्याहरु देखा परेको खण्डमा यो मद्दतगार सावित पनि भई उक्त समस्याहरु बाट राहत पनि पाउन सकिन्छ ।
प्रस्तुतीः सृजना मगर