२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा तीन लाख बालबालिकालाई टाइफाइडको खोप दिइने

प्रदेश १ मा तीन लाख बालबालिकालाई टाइफाइडको खोप दिइने


विराटनगर – टाइफाइडविरुद्धको खोप अभियान प्रदेश १ लगायत मुलुकभरि शुक्रबारदेखि सुरू भएको छ । प्रदेश १ मा स्वास्थ्यमन्त्री जयराम यादवले विराटनगरस्थित आर्दश स्कूलमा एक कार्यक्रमको बीच खोप अभियानको शुभराम्भ गरेका हुन् ।

अभियानको उदघाटन गर्दै मन्त्री यादवले खोप अभियान सफल बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए । खोपबाट बचाउन सकिने रोगलाई शून्यमा झार्नका लागि बालबालिकालाई टाइफाइडविरुद्धको टीभीसी दिने अभियान सञ्चालन गर्न गइरहेको उनले बताए ।

चैत २५ देखि वैशाख १८ सम्म सुरु हुने हुने खोप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाउने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश १ का १२ लाख ३८ हजार ३ सय ८७ बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य रहेको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । सबभन्दा बढी मोरङमा ३ लाख ४७ हजार २ सय २५ र सबभन्दा कम तेह्रथुममा २५ हजार ७ सय १७ बालबालिकालाई खोप लगाइने स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

‘खोप लगाउने लक्षित बालबालिकामा १५ महिनादेखि ५ वर्षमुनिका २ लाख ४७ हजार ५ सय २२ र ५ वर्षदेखि १५ वर्ष उमेर समूहका ९ लाख ९० हजार ८ सय ६५ छन्,’ उनले भने, ‘प्रदेशका १ सय ३७ स्थानीय तहमा ९ हजार ६ सय ७८ खोप केन्द्रमा बालबालिकालाई खोपका लागि सोही संख्यामा स्वास्थ्यकर्मी र १९ हजार ३ सय ५० स्वयंसेवक परिचालन गरिनेछ ।’

 

प्रदेशमा निर्धारण गरिएकामध्ये ८० प्रतिशत खोप केन्द्र विद्यालयमा रहने  बस्नेतको भनाइ थियो । साल्मोनेल्ला टाइफिई ब्याक्टेरियाबाट हुने टाइफाइडविरुद्धको भारतमा उत्पादित टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी) लगाइने स्वास्थ्य निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठले बताए ।

उनले खोपको प्रभावकारिता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाए । पाटन एकेडेफी फर हेल्थ साइन्सले गरेको अध्ययनमा प्रति १ लाख जनसंख्यामा १ हजार ६२ र १५ वर्षमुनिका प्रति १ लाखमा १० हजार ९ सय ६० जनामा टाइफाइड हुने गरेकाले खोप अभियान सुरु गर्न लागिएको हो । राष्ट्रिय खोप सल्लाहकार समितिले सन् २०२० अगष्ट १४ मा टाइफाइड रोगविरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।

टाइफाइड दूषित पानी र खानेकुराबाट संक्रमण हुने रोग भएको र यो खोपले साल्मोनेल्ला टाइफिई ब्याक्टेरियालाई मात्रै मार्ने भएकाले खोपसँगै सरसफाइका लागि जनचेतना अभियानसमेत चलाइने श्रेष्ठले बताए । प्रदेशका सबै बालबालिकालाई खोप सेवामा सहभागी गराउन वडा तहसम्म खोप समन्वय समिति गठन गरिएको निर्देशक बस्नेतले जानकारी दिए ।

सरकारी तथ्यांकमा पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन् । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख टाइफाइडविरुद्धको खोप लगाउन लागिएको छ । टाइफाइडका बिरामीलाई उच्च ज्वरो, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने मुख्य लक्षण देखिने गरेका छन् । समयमै उपचार नपाएको खण्डमा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पु¥याउने भएकाले यसको रोकथामका लागि खोप अभियान सुरु गरिरहेको हो ।

यो खोप कडा एलर्जी भएका र एड्सको लक्षण भएकाले लगाउन नमिल्ने निर्देशक बस्नेतले बताए । हालसालै गम्भीर बिरामी भएको वा कोभिड संक्रमण भइ १४ दिन नकटेको अवस्थाका बालबालिकालाई समेत खोपमा सहभागी गराउन नमिल्ने उनले बताए । विद्यालय तथा स्वास्थ्य केन्द्रहरुमा लगाइने यो खोप सम्पूर्ण बालबालिकालाई लगाउन वडास्तरसम्म खोप सहजीकरण समितिमार्फत घर घरमा निमन्त्रणा कार्ड पठाउने योजना रहेको उनले सुनाए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ