२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्ज नाकामा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणमा ढिलाइ

नेपालगन्ज नाकामा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणमा ढिलाइ


नेपालगन्ज–भारतबाट नेपालगन्ज नाका हुँदै नेपाल प्रबेश गर्नेहरुमा कोभिड–१९ संक्रमण देखिने क्रम बढ्दै गएको छ । सीमा नाकामा परीक्षण गर्दा पछिल्ला दिनहरुमा दैनिक २०—३० देखि ४०—५० जना सम्ममा कोभिड–१९ संक्रमण देखिने गरेको छ ।

बाँकेमा मंगलबार विहानसम्म ८ सय ७७ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितहरुको संख्या बढ्दो छ ।

भारतबाट आउने कोभिड–१९ संक्रमितलाई ब्यवस्थित रुपमा आइसोलेसनमा राख्ने र आवश्यक परेमा औषधी उपचार गर्ने सुविधासहितको अस्थायी अस्पतालको रुपमा प्रयोग गर्ने उद्देश्यले नेपाली सेनाले नेपालगन्ज नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको हो ।

कोभिड संक्रमण तीब्र गतिमा फैलदै गएर संक्रमितहरको संख्या बढ्दै गएपनि संक्रमितहरुको ब्यवस्थापनका लागि निर्माण सुरु गरिएको होल्डिङ सेन्टरको निर्माणमा भने ढिलाइ भइरहेको छ ।

२०७६ असोज २६ गतेसम्म निर्माण सम्पन्न गर्ने २९ करोड ३८ लाखमा गरी श्री हनुमान कन्स्ट्रक्सन, हेटौडाले १ हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणको ठेक्का लिएको थियो । होल्डिङ सेन्टरका २२ वटा भवन, भान्साघर, खानेपानीको टंकी सहित शौचालय भवनहरु ४ विघा ८ कठ्ठामा निर्माण भइरहेका छन् ।

निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिएको झन्डै ४ महिना बितिसक्दा पनि होल्डिङ सेन्टरको निर्माण कार्य भने करिब ८२ प्रतिशत र वित्तिय प्रगति करिब ६४ प्रतिशत मात्रै भएको छ । नेपाल सरकारले होल्डिङ सेन्टर निर्माणका लागि समयमै बजेट निकासा नगरेका कारण निर्माण कार्यमा ढिलाइ भएको हो ।

निर्माण कार्यमा भएको भौतिक प्रगतिअनुसार साढे ३ करोड रकम भुक्तानी नहुँदा होल्डिङ सेन्टरका लागि आबश्यक पर्ने सामाग्रीहरु खरिद गर्नका लागि रकमको अभाब भएको गुनासो निर्माण ब्यवसायीको छ ।

होल्डिङ सेन्टरको निर्माण नेपाल सरकारको उच्च प्राथमिता प्राप्त आयोजना भएपनि अर्थ मन्त्रालयबाटै रकम निकासामा ढिलाइ हुँदा निर्माण कार्यले गति लिन सकेको छैन ।

भौतिक प्रगतिअनुसारको बिलको रकम भुक्तानी नभएका कारण निर्माण कार्य पुरा हुन अझै कति समय लाग्ने हो भन्ने एकिन भइसकेको छैन । निर्माण अन्तिम चरणमा पुगे होल्डिङ सेन्टर निर्माणस्थलमा सडक र ढल निकासको काम सुरुसम्म भएको छैन । सेन्टर संचालन गर्ने कार्य विधि तत्काल बनाउनुपर्ने देखिएको छ ।

होल्डिङ सेन्टर निर्माणमा ढिलाइ भएका कारण संक्रमितहरुलाई नेपालगन्ज उप–महानगरपालिकाले संचालन गरेको ५० बेड क्षमताको आइसोलेसन सेन्टरमा राख्ने गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताए । संक्रमितहरुको संख्या बढ्दै गएमा होल्डिङ सेन्टरका ३ सय बेडलाई संचालनमा ल्याउने तयारी स्थानीय प्रशासनको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ