२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१४ घण्टा लामो जटिल शल्यक्रियाबाट त्रिवि शिक्षण अस्पतालमा छिनालिएको हात जोडियो

१४ घण्टा लामो जटिल शल्यक्रियाबाट त्रिवि शिक्षण अस्पतालमा छिनालिएको हात जोडियो


काठमाडौं—२० पुसमा काठमाडौं बाँसबारीमा एक फर्निचर उधोगमा काठ चिर्ने क्रममा सुजन तामाङको बायाँ हातको छिनालियो । २४ वर्षीय तामाङको हात छिनालिएपछि उनलाई हतार—हतार त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा लगियो ।

चिकित्सकहरुले दिउँसो १ बजे इमर्जेन्सीमा आएका सुजनको छिनालिएको हात जोड्ने शल्यक्रिया तत्कालै अगाडि बढाए । ‘दिउँसो एक बजेतिर उहाँ इमर्जेन्सीमा आउनुभएको थियो । उहाँको हात नाडीनेरबाट छिनालिएको थियो,’ उक्त शल्यक्रियामा संलग्न शिक्षणका रेजिडेन्ट चिकित्सक डा. सुशान्त राई भन्छन्, ‘भोलिपल्ट ४ बजेसम्म शल्यक्रिया जारी रह्यो । निकै जटिल केस भएकाले शल्यक्रियामा झण्डै १४ घण्टा लाग्यो ।’

यो जटिल शल्यक्रियामा क्रममा ५ देखि ६ वटा रगत बग्ने नसा, २ देखि ३ वटा थाहा हुने नसा, २५ देखि ३० वटा हात चलाउने नसा जोड्नुपर्ने डा. सुशान्त बताउँछन् । ‘यति धेरै नसाहरु जोड्नुपर्ने भएकाले यो जटिल शल्यक्रिया हो,’ उनले भने, ‘यसबाहेक मासु, हाड र छाला पनि जोड्नुपर्ने हुन्छ ।’

नसाहरु थिचिएको हुने भएकाले यस्तो शल्यक्रिया गरेपछि रगत बग्न बन्द हुने समस्या उत्पन्न हुन्छ । जसका कारण फेरि खोलेर बन्द गर्नुपर्ने हुन्छ । सुजनको शल्यक्रियामा क्रममा पनि यस्तो समस्या देखिएपछि चिकित्सकहरुले दुई पटक खोलेर पुनः नसामा रगत बग्ने बनाएका थिए ।

‘ह्याण्ड रिप्लान्टेसन’ भनिने उक्त जटिल शल्यक्रिया त्रिविको प्लास्टिक सर्जरी विभाग प्रा.डा. ईश्वर लोहनी, प्रा.डा. जयनमान श्रेष्ठको सुपरभिजनमा भएको थियो । उक्त शल्यक्रियामा प्रत्यक्ष रुपमा अर्थोप्लास्टिक सर्जन डा. समित शर्मा र डा. संगम रायमाझीसहित रेजिडेन्ट डा. सुशान्त राई, डा. रोहन प्रधान र डा. प्रकाश मैनाली संलग्न रहेका थिए । त्यस्तै एनेस्थेसियामा डा. नवीन्द्रराज विष्टसहितको टिम संलग्न थियो भने अर्थोपेडिक्सतर्फ डा. नितिशविक्रम देवसहितको टिम संलग्न थियो ।

डा. सुशान्त अहिले नेपालमा यस्ता घटना दिनहुँ बढिरहेको बताउँछन् । ‘फर्निचरमा काम गर्ने कामदार, उधोगधन्दामा काम गर्ने र घरेलु औजार ध्यान दिएर नचाउँदा अहिले यस्ता घटनाहरु बढ्दै गएका छन्,’ उनी भन्छन्, ‘त्यसैले होशियारीका साथ काम गर्नुपर्छ ।’ डा. सुशान्त यस्तो घटना घटेमा तुरुन्त स्वास्थ्य संस्थामा पुग्नुपर्ने बताउँछन् ।

उनकाअनुसार घटना घटिहालेमा छिनालिएको हातखुट्टाको भागलाई सेतो कपडा भिजाएर प्याक गर्ने, त्यसलाई छुट्टै प्लास्टिकको झोलामा राख्ने र त्यसपछि चिसो नपस्ने गरी बरफ भएको झोलामा प्याक गरेर स्वास्थ्य संस्था लैजानुपर्छ । यस्तै, अस्पताल पुग्नुपूर्व शरीरको छिनालिएको ठाउँबाट रगत बग्न नदिन हात वा खुट्टा माथि पार्ने, अलिकति टाइट गरेर ब्याडेज लगाउने र हातले थिचेर रगत रोक्ने काम गर्नुपर्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. नवीन्द्रराज विष्ट, #डा. नितिशविक्रम देव, #डा. प्रकाश मैनाली, #डा. रोहन प्रधान, #डा. संगम रायमाझी, #डा. समित शर्मा, #डा. सुशान्त राई, #प्रा.डा. ईश्वर लोहनी, #प्रा.डा. जयनमान श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ