विराटनगर– नेपाल जनस्वास्थ्य संघको आगामी नेतृत्वका लागि प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएका जनस्वास्थ्यकर्मीहरुले जनस्वास्थ्य संघलाई देखिने र सुनिने संगठन बनाइने बताएका छन् ।
वर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आगामी निर्वाचनबाट आफूहरु नेतृत्वमा आउने दावी गर्दै प्रगतिशील प्यानलबाट अध्यक्षका उम्मेदवार वसन्त अधिकारीले देखिने संगठन बनाइने बताए ।
विराटनगरमा आइतबार उम्मेदवार परिचयात्मक कार्यक्रमसहित १९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उनले कोभिड-१९ को संक्रमणमा समयमा नेतृत्व चुकेको आरोप लगाए । उनले आफ्नो प्यानलका उम्मेदवार विजयी भए लगत्तै संगठनको धारणा सार्वजनिक गरिने बताए । उनले भने, ‘स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको दरवन्दी सिर्जना र यसका लागि पैरवी गरिनेछ ।’
३० वर्षदेखि एउटै विचारधाराको नेतृत्व रहेका कारण जनस्वास्थ्य संघले गति लिन नसकेको उनले बताए । संगठन विस्तारमा नेतृत्वको ध्यान पुग्न नसकेको अधिकारीकाे दावी छ । उनले आगामी निर्वाचनबाट चेनब्रेक हुने दावी गरे। प्रगतिशील प्यानलमा अनुभवी व्यक्तिहरु रहेको उनले बताए । अधिकारीले भने, ‘यो टिम जनस्वास्थ्य संघलाई नेतृत्व गर्न सक्षम छ ।’
बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा लामो समयदेखिको अनुभव लिएका व्यक्तिहरु प्रगतिशील प्यानलमा रहेकाले आफ्नो समूहको जित निश्चित भएको महासचिवका उम्मेदवार कैलाश खाकी श्रेष्ठले बताए । उनले प्रदेश १ बाट उम्मेदवारसहितको अभियान सुरुवात गरिएको जानकारी दिए।
प्रगतिशील प्यानलबाट उपाध्यक्षमा सुर्शन पौडेल, महासचिवमा कैलाशखाकी श्रेष्ठ, सचिवमा तेजप्रसाद दुलाल, कोषाध्यक्षमा डमरुप्रसाद पनेरु, सह-कोषाध्यक्षमा हईकली थापालगायत रहेका छन् ।
आगामी पुस २४ गते हुने जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । मतदान ७ वटै प्रदेशका राजधानी र काठमाडाैमा गरिने व्यवस्था मिलाइएको छ । मतदानमा १ हजार ७१८ जना मतदाता रहेको बताइएको छ ।