२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका

मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका


नर्सिङ अधिकृत टीका रावत लगनखेलस्थित मानसिक अस्पतालकी निमित्त नर्सिङ प्रमुख हुन् । मानसिक स्वास्थ्यको ५० शैय्याको एकमात्र विशिष्टीकृत संघीय अस्पतालमा मानसिक स्वास्थ्य नर्सिङ नै पढेकी उनी एक्ली नर्स हुन् । उनले साइक्याट्रिक नर्सिङमा एमएन गरेकी छन् । गत कात्तिक २८ गतेदेखि देशकै प्रमुख मानसिक अस्पतालको निमित्त नर्सिङ प्रमुखका रुपमा उनले कार्यभार सम्हालेकी हुन् । नेपाल सरकारकी सातौं तहकी नर्सिङ अधिकृत टीकाले बीएन पनि साइक्याट्रिक नर्सिङमै गरेकी हुन् ।

टीका वि.सं. २०४४ सालमा सुर्खेतमा जन्मिएकी हुन् । उनका बुवा बाबुलाल रावत शिक्षक थिए भने आमा गोमती रावत गृहणी थिइन् । उनी राम्ररी नहुर्किदैं उनको परिवार बर्दियाको सानोश्री तारातालमा बसाइँ स¥यो । बर्दियाको रातामाटे प्राविबाट उनको प्रारम्भिक शिक्षादीक्षा अगाडि बढ्यो । उनले कक्षा ५ सम्म गुराँस माविमा अध्ययन गरिन् । त्यहीबाट वि.सं. २०६० सालमा उनले फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेकी हुन् । टीका सानैदेखि पढाइमा अब्बल थिइन्, त्यही कारण उनले एसएलसीमा महिलातर्फ बर्दिया जिल्ला टप गरिन्।

बाल्यकालमा उनको विजनेश पढ्ने रुचि थियो । ‘म होटल म्यानेजमेन्ट पढ्न चाहन्थे । मलाई विजनेशनप्रति एकदमै रुचि छ,’ टीका भन्छिन्, ‘कक्षा ८ सम्म एभरेज स्टुडेन्ट थिए । पछि राम्रो हुँदै भयो । वि.सं. २०६० सालको एसएलसीको ब्याचमा म बर्दियाबाट केटीतर्फको टप भए ।’ त्यही कारण नेपालगन्ज आएर महेन्द्र क्याम्पसमा उनी म्यानेजमेन्टमा भर्ना भइन् । तर, सबै रहर उनिएको मालाजस्तै एकै लहरमा बग्दैनन् ।

त्यही क्रममा एक चिनेजानेका दाइले उनमा नर्सिङप्रतिको रुचि जगाइदिए । उनले भने, ‘तिमी यति राम्रो पढाइ भएको मान्छे नर्सिङ पढ् ।’ टीकाले नेपालगन्ज नर्सिङ क्याम्पसबारे थाहा पाइन् । उनले भर्नाका लागि इन्ट्रान्स दिइन् । नाम निस्केपछि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको नेपालगन्ज नर्सिङ क्याम्पसमा पिसिएल नर्सिङमा पढ्न थालिन् । वि.सं. २०६१ सालबाट नर्सिङ पढ्न थालेकी उनले वि.सं. २०६५ सालमा पिसिएल नर्सिङ सक्काइन् । दुई वर्ष त्यही पढाइन् ।

वि.संं. २०६७ सालमा उनले महाराजगन्ज नर्सिङ क्याम्पसमा बीएनका लागि इन्ट्रान्स दिइन् । इन्ट्रान्समा पास भएपछि महाराजगन्जमा उनी ब्याचलर इन नर्सिङ साइक्याट्रिक पढ्न थालिन् । त्यहाँबाट वि.सं. २०६९ मा उनले बिएन नर्सिङ सकिन् । त्यसपछि उनले वि.सं. २०७३ सालमा लोकसेवाबाट नेपाल सरकारको नर्सिङ अधिकृतमा नाम निकालिन् । त्यही क्रममा उनी जागिर गर्नका लागि राप्ती उपक्षेत्रीय अस्पताल दाङ पुगिन् । दाङमा दुई वर्ष काम गरेपछि उनी एमएन गर्नका लागि पुनः महाराजगन्ज नर्सिङ क्याम्पसमा भर्ना भइन् ।

महाराजगन्जबाट वि.सं. २०७७ सालमा उनले साइक्याट्रिक नर्सिङमै माष्टर्स सकिन् । एमएन गरिसकेपछि उनको अध्ययन विदा सकियो । संघमा समायोजन भएकाले उनको पोष्टिङ नरदेवी अस्पतालमा भयो । त्यहाँ एक वर्ष बसेपछि उनी कात्तिकको अन्तिमदेखि पाटन मानसिक अस्पतालमा पोष्टिङ भयो । नर्सिङतर्फ साइक्याट्रिक नर्सिङ नै पढेको र मानसिक अस्पतालमा पोष्टिङ भएपछि उनी अलि फुरुंग छन् । कारण आफूले सिकेको सीप व्यवहारमा पनि उत्तार्न पाउने भएपछि उनलाई आनन्द लागेको छ ।

साइक्याट्रिक नर्स अरु नर्सभन्दा के कारणले फरक छ ? भन्छिन्, ‘यो नर्सिङमा मानसिक सम्बन्धी कोर्स नै बढी पढिन्छ । मानसिक रुपमा बिरामी भएका मानिसहरुलाई कसरी ट्रिट गर्ने, रोगको प्रकृति, मानसिक नर्सिङको प्रोसिडियर र प्रोटोकलहरु नै फरक छ ।’ अहिले आधुनिक विश्वमा नर्सिङका धेरै शाखाहरु छन्, तिनै शाखाहरुमध्ये साइक्याट्रिक नर्स पनि एक महत्वपूर्ण शाखा हो । नेपाल सरकारमा साइक्याट्रियलगायतका नर्सिङ शाखाहरुका आधारमा दरबन्दी नै छैन । कम्युनिटी नर्सिङ र हस्पिटल नर्सिङमा मात्रै दरबन्दी छन् ।

टीका पनि सरकारी दरबन्दीका हिसाबले जनरल नर्स नै हुन् । तर, भाग्यवस उनले मानसिक अस्पतालको इतिहासमै पहिलो साइक्याट्रिक नर्सका रुपमा त्यहाँ काम गर्ने अवसर पाइन् । ‘फष्ट टाइम बाइचान्स अहिले पहिलो पटक मेरो सरुवा मैले पढेकै कोर्सअनुसार काम गर्ने अस्पताल भयो,’ उनले सुनाइन्, ‘अब म केही नयाँ गर्ने योजनामा छु ।’ नेपालमै पनि साइक्याट्रिक नर्सिङ पढेको जनशक्ति नभएको होइन्, त्यसको आधिकारिक तथ्यांक भने छैन । तर, मुलुककै प्रमुख मानसिक अस्पतालमा टीका पहिलो साइक्याट्रिक नर्सिङ अधिकृत बनेर पुगेकी हुन् ।

टीका नेपालमा साइक्याट्रिक नर्सको संख्या र अवस्थाबारे अध्ययन गर्ने तयारीमा छन् । उनको चाहना छ, मेन्टल हेल्थ पढेका नर्सहरु नै मानसिक अस्पतालमा ल्याउन पाए हुन्थ्यो । तर, सरकारी सेवामा साइक्याट्रिक नर्सिङको छुट्टै दरबन्दी नभएकाले त्यो गाहो नै छ । तर, टीका मानसिक अस्पतालमा पुगेपछि साइक्याट्रिक नर्सिङको प्रोटोकल र प्रोसिडर पनि विकास गर्न चाहन्छिन् । त्यसले मानसिक बिरामी र उनीहरुको सेवा खटिने अन्य नर्सहरुलाई पनि सहयोग पुग्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #टीका रावत, #मानसिक अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ