बुटवल—लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले विरामीका लागि दिदैँ आएका सेवाहरुमध्ये बढी चाप हुनेमा विस्तारित सेवा सुरु गरेको छ । बिरामीको चाप बढ्दै गएपछि सुविधाजन्य तरिकाले सेवा दिनका लागि अस्पतालले विस्तारित सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताए ।
अस्पतालले अधिक चाप हुने ईईजी, सीवीसीटी तथा ईएचएस सेवा विस्तार गरेको छ । अस्पतालको नियमित पेईङ्ग वार्ड र न्युरो मेडिसिन सेवाको महत्वपुर्ण ईईजी सेवासमेत सुरु गरेको उनको भनाइ छ ।
विस्तार गरिएका सेवा आम सेवाग्रहीले अस्पतालको तोकिएको समयबाहेक अतिरिक्त रकम तिरेर ईएचएस वार्डबाट पनि सेवा लिन सकिने जनाइएको छ । त्यस्तै बुधवारबाट मुखको सिटीस्क्यान सम्बन्धि सीसीवीसीटी तथा न्यूरो मेडिसिन सेवाको ईईजी सेवा पनि सञ्चालनमा आएको उनले बताए ।

प्रदेश बाहिर उपचार गर्न जान नपर्ने गरि लुम्बिनी प्रादेशिक अस्पतालको विकास गर्ने प्रदेश सरकारको योजना रहेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताए । सरकारले ल्याएको योजनालाई कार्यान्वयन गर्नेतर्फ अस्पताल प्रशासनलाई मन्त्री थारुले निर्देशन समेत दिए । जनतालाई सर्वसुलभ, गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ ।
प्रदेशकै सबैभन्दा ठूलो अस्पताल भएकाले पनि आम सेवाग्राहीबाट ठूलो अपेक्षा रहेको भन्दै सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव विकास देवकोटा जोड दिन्छन् । अस्पताल विकास समितिको मोडेलमा चल्ने भएपनि त्यसमा सरकारबाट सेवा बिस्तार र सुदृढीकरणका लागि थप सेवा हुँदै आएको उनले बताए । प्रदेश सरकारले करिब ६ अर्ब बराबरको माष्टर प्लानअनुसार अस्पतालको पुर्वाधार विकास गरिरहेको छ । प्रदेश सरकारले कोभिडबाहेक १० प्रतिशतभन्दा बढी बजेट स्वस्थ्य क्षेत्रमा विनियोजन गरेको सचिव देवकोटाले बताए ।
सेवाग्रहीको माग र आवश्यकता अनुसार आईसियु, विशिष्टीकृत कार्डियो सेवा, क्याथ ल्याब समेतको सेवा विस्तारको योजना अस्पतालले बताएको छ ।
प्रदेशमै १ सय २० जना वरिष्ठ विशेषज्ञ चिकित्सक, विशेषज्ञ चिकित्सकहरु, २ सय ५० जना नर्सिङ स्टाफहरु र ७ सय कर्मचारीहरुले लुम्बिनी प्रादेशिक अस्पतालबाट सेवा दिदै आएका छन ।