२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअफ्रिकामा नयाँ भेरियन्ट फैलिएपछि डब्ल्यूएचओ राख्यो आपतकालीन बैठक

अफ्रिकामा नयाँ भेरियन्ट फैलिएपछि डब्ल्यूएचओ राख्यो आपतकालीन बैठक

बेलायतले रोक्यो ६ वटा देशको उडान


दक्षिण अफ्रिका र बोत्सवानामा भेटिएको कोरोनाको नयाँ भेरियन्टबाट हुन सक्ने खतरालाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले शुक्रबार आपतकालीन बैठक बोलाएको छ ।

बेलायती वैज्ञानिकहरूले पनि बोत्सवानामा फेला परेको नयाँ भेरियन्ट बारेमा चेतावनी दिएका छन्। नयाँ भेरियन्टमा ३२ म्युटेशन छन्, जसका कारण खोप पनि प्रभावकारी नहुने बताइएको छ । यो भेरियन्ट आफ्नो स्पाइक प्रोटिनमा परिवर्तन भै द्रुत रूपमा फैलिरहेको छ।

दक्षिण अफ्रिकाको नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजेजले भन्यो- हालसम्म देशमा यस प्रकारका २२ वटा केस फेला परेका छन्। वैज्ञानिकहरूले यसलाई B.1.1.529 नाम दिएका छन्। ‘हामीले यस भेरियन्टको बारेमा धेरै जानकारी पाएका छैनौं । मल्टिपल म्युटेसनका कारण भाइरसको व्यवहारमा परिवर्तन भइरहेको छ र यो चिन्ताको विषय हो,’डब्लुएचओको कोरोना केसका प्राविधिक प्रमुख डा. मारिया भान केरखोभले भनिन्।

बेलायतको कडा अडान

नयाँ भेरियन्टको खतरालाई मध्यनजर गर्दै बेलायतले अफ्रिकाका ६ देशको उडान तत्कालका लागि रोकेको छ । यसमा दक्षिण अफ्रिका, नामिबिया, बोत्सवाना, जिम्बाब्वे, लेसोथो र इस्वाटिनी पर्छन्। बेलायतका स्वास्थ्य सचिव साजिद जाविदले भने, ‘देशको स्वास्थ्य एजेन्सीले नयाँ भेरीयन्टको अनुसन्धान गरिरहेको छ। हामीलाई थप डाटा आवश्यक छ। तर, हामी सावधानी अपनाइरहेका छौं।’ यी ६ अफ्रिकी देशलाई रेड लिस्टमा राखिनेछ र बेलायत आउने यात्रुलाई क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ