विराटनगर—बिरामीले सेवन गर्ने औषधी जस्तो संवेदनशील क्षेत्रमा कमाउ धन्दामा लागेका व्यवसायीहरूले स्वास्थ्यमाथि खेलवाड गर्दै मनलाग्दी बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
औषधी पसल संचालन गर्न र औषधी बिक्री वितरण गर्ने प्राविधिक अनिवार्य रूपमा राखेपछि औषधी व्यवस्था विभागबाट स्वीकृत लिएर मात्र फार्मेसी संचालन गरिनुपर्ने प्रावधान रहेको छ । तर, कमाउ धन्दामा लागेका व्यवसायीहरूले प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा मनलाग्दी तरिकाले चस्मा पसलमा पनि औषधी बिक्री वितरण गर्ने गरेको अनुगमनको क्रममा भेटिएको छ ।
विराटनगर आँखा अस्पताल अगाडि विराटनगर–१३ मा रहेको गुगल चस्मा घरका संचालक विकास साहले अनुमति लिएको भन्दा बाहिर रहेर औषधी बिक्री वितरण गरेको भेटिएपछि औषधी व्यवस्था विभाग विराटनगरले पसल सिलबन्दी गरेको छ ।
उक्त चश्मा घरले अनुमति बेगार बिक्री वितरणमा राखिएको औषधी पनि विभागले बरामद गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए । ‘अनुमति नलिकन चस्मा पसलले औषधी बिक्री वितरण गरेको सूचना आएको थियो,’ उनले भने, ‘अनुगमनको क्रममा चश्मा पसलले औषधी भेटियो । यसरी औषधी व्यवस्था विभागको स्वीकृती बेगर औषधी बिक्री वितरणमा प्रतिबन्ध छ ।’ विभागबाट स्वीकृत नलिकन मनलाग्दी तरिकाले पसल संचालन गरेर औषधीको बिक्री वितरण गर्नेलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढने उनले बताए ।
यसअघि औषधी पसल खोलेपनि विभागदेखि स्वीकृत नकिलन तराईको र पहाडी जिल्लाका फार्मेसीहरूले औषधी बिक्री वितरण गर्ने गरेका थिए । तर, पछिल्लो समय चस्मा पसलहरूले पनि खुल्लेआम औषधी बिक्री वितरण गर्न थालेपछि अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको तीन महिना असोजसम्ममा दर्ता नभएका १८ वटा फार्मेसीलाई औषधी व्यवस्था विभाग विराटनगरले कारवाही गरेको छ ।
अनुगमनको क्रममा दर्ता बेगार फार्मेसी संचालन गरेको पाइएपछि साउनदेखि असोजसम्मा सो संख्यामा कारवाही गरिएको हो । अनुगमनको क्रममा व्यवसायी (फर्मासिष्ट) अनुपस्थित भएका ४३ फार्मेसीलाई कारवाही गरिएको छ । यस्तै, विभागमा दर्ता नभएका औषधी बिक्री वितरण गर्ने ६ फार्मेसीलाई पनि कारवाहीको दायरामा ल्याएको विभागले जनाएको छ ।