पोखरा—पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट १ बिरामी डिस्चार्जको तयारी भइरहेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्री, निर्देशक प्रा.डा. भरतबहादुर खत्री, कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराललगायत उपस्थित थिए । व्यास–१० दमौलीकी मनमाया गुरुङ बेस्सरी रोइन् । त्यतिबेला मनमायाका लागि खुसी थिइन् । किनभने, तिनै मनमाया ५५ दिनको अस्पताल बसाइँपछि डिस्चार्जको तयारी भइरहेको थियो ।
सुरुमा मनमायालाई ज्वरो आयो । छाती दुख्यो । उनका श्रीमान विजय गुरुङले उनलाई नजिकैको मेडिकलमा लगे । मेडिकलमा गरिएको रगत जाँचमा टाइफाइड भएको रिपोर्ट आयो । मेडिकलले ५ दिनको औषधी दिएर घर फर्कायो । तर, उनलाई निको हुने छाटकाँट आएन । फेरि सोही मेडिकलमा पुग्दा अक्सिजन लेभल कम भएको भनेर दमौली अस्पताल पठाइयो ।
गुरुङ दम्पती दमौली अस्पताल पुगे । एन्टिजेन परीक्षण गर्दा कोभिड–१९ पुष्टि भयो । दमौली अस्पतालमा १ दिन राखियो । तर, १६ लिटरभन्दा बढीको हाइफ्लो अक्सिजन चाहिने भन्दै उनलाई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गरियो । दमौली अस्पतालले नै पोखरामा बेड पाइने सुनिश्चित गरिदिएको विजयले बताए ।
विजयको घरमा ७ वर्षीय छोरा र आमा थिए । श्रीमतीको उपचारका लागि ५ साउनमा उनी भाइसहित पोखरा आए । ‘अस्पताल आउँदा मनमायाको अवस्था क्रिटिकल थियो,’ कोभिड फोकल पर्सन डा. शरदचन्द्र बरालले भने । २३ दिनसम्म आईसीयुमा राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा सुधार आयो । त्यसपछि नर्मल वार्डमा राखेर उपचार गरिएको थियो ।
विजय २ महिनाको हाराहारीमा अस्पतालमा श्रीमतीको उपचार भइरहँदा तलमाथि केही हुने हो कि ? भनेर तनावमा थिए । उनी घरमा रहेकी आमा र ७ वर्षीय छोरा सम्झन्थे अनि आत्तिन्थे । यहाँ नहुने भए अरु अस्पतालमा लैजान पाए ठीक हुने थियो कि जस्ता कुरा विजयको मनमा खेलिरहन्थे । उनले डाक्टरसँग यही कुरा नभनेका पनि होइनन्, ‘जहाँ भए पनि उपचार यही हो, तपाईंको खर्चमात्रै बढ्ने त हो नि,’ उपचारमा संलग्न डाक्टरको भनाइले अर्काे अस्पतालमा लैजाने उनको सोच बदलियो ।
मनमाया आफैं त आईसीयुमा सिकिस्त थिइन् । उनका श्रीमान् र देवर उनलाई कुरेर बसेका थिए । मनमायाको अवस्था देखेर बाँच्ने आशा नै गुमाएझै कहिलेकाहीँ आत्तिन्थे । डाक्टर विजयलाई सम्झाउँदै भन्थे, ‘अवस्था त जटिल नै छ । तर, हामी प्रयासरत छौं नआत्तिनुुस् ।’
डाक्टरको व्यवहार विजयलाई सरकारी अस्पतालको जस्तो महसुस नै भएन । निजीमा लगाव भएका डाक्टरले सरकारी अस्पतालमा बेवास्ता गरेर सरकारी अस्पतालको साख गिराएको आरोप लागिरहेका बेला उपचारमा संलग्न डाक्टरले सरकारी अस्पतालको शान बढाएको उनी बताउँछन् । डाक्टरको सहयोगले श्रीमती बाँचेको भन्दै विजयले सरकारी अस्पतालको सेवा उत्कृष्ट लागेको उल्लेख गरे ।
मनमाया निको भएर घर फर्कने दिन भक्कानिँदै आँसु झार्दै आफू बाँच्छु भन्ने नलागेको बताएको डा. बरालले सुनाए । डा. बरालले भने, ‘भेन्टिलेटरमा राखेर मास्क लगाउँदा घाउ भएर, पाप्रा नै निस्किएको थियो, अवस्था क्रिटिकल थियो ।’ डा. बराल आफैंले दिनको ३÷४ घन्टासम्म राउन्डमा हेरिरहेको बताए । उनले थपे, ‘मसँगै मेडिकल अफिसर, नर्सिङ, अक्सिजन सप्लाई, सरसफाइलगायत टिमले बिरामीको उपचारमा सघाइरहेकोे हुन्छ । सफलता मिलेको छ । मनमाया असाध्यै खुसी हुनुभएको छ ।’
मनमायाजस्तै लामो समय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाका ७६ वर्षीय वृद्धको पनि छिट्टै डिस्चार्ज गर्न सकिने डा. बरालको विश्वास छ । गत ६ असारमा भर्ना भएका वृद्धलाई अहिले १ लिटर फ्लोमा अक्सिजन उपचार भइरहेको डा. बरालको भनाइ थियो । ‘उहाँको गाउँ दुर्गम ठाउँमा भएकाले पनि तत्काल डिस्चार्ज नगरिएको हो,’ उनले भने ।
अहिले मनमायालाई सरासर हिँड्न कठिन छ । लामो समय भेन्टिलेटर र बेडमा रहेकाले खुट्टामा केही समस्या देखिएको हुनसक्ने विजयले बताए । डाक्टरले पौष्टिकयुक्त खाना खान र सरसफाइमा ध्यान दिन र चिसोबाट जोगिन सुझाव दिएका छन् ।