काठमाडौं—नेकपा एमालेका तत्कालीन महासचिव स्व. मदन भण्डारीको आज ७० औं जन्मजयन्ती हो । वि.सं. २००९ साल असार १४ गते उनको जन्म ताप्लेजुङको ढुंगेसाँधुमा भएको थियो ।
नेपालमा मदनलाई मृत्युपछि पनि जीवित राख्ने धेरै कुराहरु छन् । उनको व्यक्तित्व, अगाडि सारेको सैद्धान्तिक मान्यता ‘जनताको बहुदलीय जनवाद’ जबज त्यसमध्ये प्रमुख कारण हुन् ।
वि.सं. २०५० साल जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा निधन भएका मदन एमालेको महासचिवका रुपमा निकै लोकप्रिय भए । उनले बहुदलीय प्रतिस्पर्धामार्फत कम्युनिष्ट शासन स्थापना गर्न सकिन्छ भन्ने सिद्धान्त अगाडि सारेर चर्चा कमाए ।
वि.सं. २०४९ साल माघमा सम्पन्न एमालेको पाँचौं महाधिवेशनमा तत्कालीन महासचिव जननेता भण्डारीले पेश गरेको जबजमा स्वास्थ्यलाई महत्वका साथ समेटिएको छ । जबज पास भएको एक वर्षमै संगठन विभाग प्रमुख जीवराज आश्रितसँगै उनको निधन भएको थियो ।
अहिले मुलुकमा कर्पोरेट स्वास्थ्य प्रणालीको जगजगी बढिरहेको र पैसा नहुनेले उपचार नै नपाएर अस्पतालमा बन्धक बन्नु परेका घटना सार्वजनिक भइरहेका बेला मदनको स्वास्थ्यलाई मावनअधिकारकै रुपमा अंगीकार गर्नुपर्ने परिकल्पना निकै वस्तुवादी र वैज्ञानिक देखिन्छ । एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक अंकुपञ्चर र प्राकृतिक उपचार पद्धतिलाई उनले अगाडि सारेको जबजमा समन्वयात्मक ढंगले विकास गर्ने उल्लेख छ ।
स्वास्थ्य सेवालाई अत्यावश्क र विशिष्ट सेवाका रुपमा छुट्टै संवैधानिक एवं कानुनी व्यवस्था गर्ने परिकल्पना उनले गरेका छन् । ‘स्वास्थ्य सेवालाई अत्यावश्क एवं विशिष्ट सेवाका रुपमा छुट्टै संवैधानिक एवं कानुनी व्यवस्था गरिनेछ,’ भण्डारीले प्रतिपादन गरेको जबजमा छ, ‘सबै खाले स्वास्थ्यकर्मीहरुका छुट्टाछुट्टै स्वायत्त पेशागत संगठनहरुमार्फत हकहितको संरक्षण र मर्यादिने सेवा पु¥याउने वैधानिक व्यवस्था गरिनेछ ।’
भण्डारीले स्वास्थ्य सेवाको क्रममा हुने दुर्घटना एवं हानी नोक्सानीको क्षतिपूर्ति दिइने व्यवस्थाको पनि परिकल्पना गरेका छन् । जबजमा राष्ट्रिय औषधी नीति बनाइने, औषधीमा राष्ट्रिय आत्मनिर्भरताको नीति लिइने र बहुराष्ट्रिय औषधी कम्पनीहरुको शोषणबाट देशलाई मुक्त गर्ने कुराको परिकल्पना गरिएको छ ।
गैर सरकारी स्वास्थ्य संस्थालाई राष्ट्रिय स्वास्थ्य नीतिअन्तर्गत निर्देशित गर्ने पनि जबजमा उल्लेख छ ।
मदन भण्डारीले जबजमा परिकल्पना गरेको नेपालको स्वास्थ्य जस्ताको तस्तै
३.१३. स्वास्थ्यको सम्बन्धमा
-स्वास्थ्य सेवाको विद्यमान स्वरूपमा आमूल परिवर्तन गरी स्वास्थ्यलाई मानवअधिकारकै रूपमा तथा सुविधा होइन, अधिकार हो भन्ने तथ्यलाई अङ्गीकार गरी सोअनुरूपका नीतिहरू तय गरिनेछ । एलोपेथिक, होमियोपेथिक, आयुर्वेदिक, अक्युपञ्चर र प्राकृतिकलगायत सबै उपचार पद्धतिलाई समन्वयात्मकढङ्गले विकास गरिनेछ ।
-स्वास्थ्य सेवालाई अत्यावश्यक एवम् विशिष्ट सेवाको रूपमा छुट्टै सम्वैधानिक एवम् कानुनी व्यवस्था गरिनेछ । साथै, सबैखाले स्वास्थ्यकर्मीहरूका छुट्टाछुट्टै स्वायत्त पेशागत सङ्गठनहरूमार्फत हकहितको संरक्षण तथा मर्यादित सेवा पुर्याउने वैधानिक व्यवस्था गरिनेछ ।
-जनतालाई स्वास्थ्य सेवाको क्रममा हुने दुर्घटना एवम् हानी नोक्सानीको क्षतिपूर्ति दिइने कानुनी व्यवस्था गरिनेछ ।
-औषधी व्यवस्था अत्यावश्यक राष्ट्रिय औषधी नीति प्रयोग गर्ने प्रोटोकल व्यवस्था तथा यस क्षेत्रमा राष्ट्रिय आत्मनिर्भरताको नीति लिइनेछ र बहुराष्ट्रिय औषधी कम्पनीहरूको शोषणबाट देशलाई मुक्त गरिनेछ ।
-गैरसरकारी स्वास्थ्य संस्थाहरूलाई राष्ट्रिय स्वास्थ्य नीतिअन्तर्गत निर्देशित दिशामा काम गर्न प्रोत्साहित गरिनेछ ।