काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दबाबमा काम गर्न नहुने बताएका छन् । आयोगको कार्यकारी उपाध्यक्ष नियुक्तिपछि बसेको पहिलो बैठकलाई बुधबार बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दबाब, भावना र अन्य प्रकारका सम्बन्धले भएकोले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने बताए । ‘यस आयोगलाई प्रभावित पार्ने हैसियत कसैको हुदैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यसले स्वायत्त ढंगले काम गर्छ । देशको आवश्यकता अनुसार काम गर्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले नेपालमा ७० प्रतिशत प्राविधिक धारको शिक्षा हुनुपर्ने बताए । ‘हाम्रो शिक्षा साक्षर बनाउने खालको मात्र होइन, जीवन उपयोगी बनाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘विगतमा शैक्षिक संस्थाको संख्या हेरियो तर गुणस्तर हेरिएन । तर अब त्यस्तो हुँदैन ।’