काठमाडौं—असार यता स्क्रब टाइफस भएर उपचारका लागि अस्पताल आउने बिरामीको संख्या तीन सय बढी पुगेको छ । देशभरका अस्पतालहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार स्क्रब टाइफस बिरामीको संख्या ३०१ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ स्वास्थ्य प्रशासक डा. प्रकाशप्रसाद शाहले बताए ।
तर, स्थानीय तहबाट तथ्याङ्क संकलन हुँदा यो संख्या केही न्युन भएको सरकारी अधिकारीहरुले औल्याएका छन् । तीन महिनायता १४ जिल्लामा स्क्रब टाइफस देखिएको छ ।
महाशाखाका तथ्याङ्क अधिकृत कृष्णराज पाण्डेका अनुसार दुई महिना यता स्क्रब टाइफसका बिरामीको संख्या बढ्दैं गएको छ । उनले विभागमा प्राप्त तथ्याङ्कभन्दा केही संख्यामा बिरामी बढी भएको हुन सक्ने आशंका ब्यक्त गरे ।
यस वर्ष पाल्पाबाट स्क्रब टाइफस आउट ब्रेक भएको छ । गत वर्ष पनि सोही जिल्लाबाट आउट ब्रेक भएको थियो । यो संख्या क्रमसः बढ्न सक्ने विशेषज्ञहरु बताउँछन् । सरकारी तथ्याङ्कअनुसार विगत चार वर्षमा स्क्रब टाइफसका कारण ३५ जनाको मृत्यु भइसकेको छ ।
सूक्ष्म किरा (माइट)को टोकाइबाट फैलिन्छ
स्क्रब टाइफस ‘रिकेटसिया’ जीवाणु संक्रमित सुक्ष्म किरा (माइट)को टोकाइबाट फैलिन्छ । चिकित्सकहरुका अनुसार यो किरा मुख्यतः खेत, झाडी र घाँसमा रहने मुसा प्रजातिको जीवमा पाइन्छ ।
किराले टोकेको स्थानमा दाग देखिने गर्छ भने कतिपय अवस्थामा नदेखिन पनि सक्छ । सरुवा रोग क्षेत्रका जानकार डा. शेरबहादुर पुनले स्क्रब टाइफसलाई टाइफाइड भनी गलत निदान हुन सक्ने भन्दै समयमै उचित पहिचान गर्नुपर्ने बताए ।
समयमा यसको उपचार गरे कुनै जटिलता नआउने समेत औंल्याए । डा. पुनले नबुझेर गलत औषधि प्रयोग हुन सक्ने भन्दै स्वास्थ्यकर्मीलाई शंका लागेमा केन्द्रमा समन्वय गर्न सुझाव दिए ।
जोखिम
चिकित्सकका अनुसार बेलैमा उपयुक्त उपचार नपाउँदा जटिलता निम्तिन सक्छ । बिरामीमा दीर्घकालीन रूपमा श्रवण क्षमता गुम्ने, न्यून रक्तचाप, शरीरका विभिन्न अंगमा क्षति, मृगौला फेल, निमोनियन, ब्याक्टेरियल संक्रमण, छारे रोग, मासु कुहिनेजस्ता विभिन्न समस्या देखिन्छ ।
चिकित्सकहरुले उपियाँ वा सुलसुलेजस्ता माइटबाट पनि स्क्रब टाइफस हुन सक्ने बताए । चिकित्सकहरुले कुनै पनि समयमा डेंगुले जस्तो स्क्रब टाइफसले पनि महामारीको रुप लिन सक्नेतर्फ सचेत गराएका छन् । यो जीवाणु हाम्रो शरीरमा फैलिएपछि फोक्सो, कलेजो, मस्तिष्कमा थुप्रै प्रकारका संक्रमण हुन थाल्छन् ।
यसरी जानकारी पाउने
धेरै टाउको दुख्नु, सास फेर्न गाह्रो हुनु, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आउने, जीउ दुख्ने, आँखा हल्का रातो हुने, पसिना बढी आउने जस्ता लक्षण देखिने गर्छ ।
स्क्रब टाइफस संक्रमण आशंका गरिएका बिरामीलाई स्वास्थ्यकर्मीले प्रयोगशाला प्रतिवेदन आउनुअघि नै एन्टिबायोटिक दिन पनि सक्ने छन् । चिकित्सकका अनुसार ‘यस्ता बिरामीलाई ‘डक्सिसाइक्लिन’ वा ‘टेट्रासाइक्लिन’ तथा एन्टिबायोटिक दिन सकिन्छ ।