विराटनगर—विराटनगर महानगरपालिका भित्र हिमाल आँखा अस्पताल सञ्चालनमा आएको छ । विराटनगर–१४ स्थित मलाया रोडस्थित गौशाला चोकमा बिहीबारदेखि हिमाल आँखा अस्पताल सञ्चालनमा आएको हो ।
आँखाको सम्पूर्ण उपचार गरिने सो अस्पतालमा अन्य अस्पतालभन्दा गुणस्तरीय सेवा प्रवाह हुने अस्पतालले जनाएको छ । अत्याधुनिक नवीनतम प्रविधियुक्त अस्पताल शिवरात्रीको अवसर पारेर सञ्चालनमा आएको हो । अस्पतालमा ५ जना साझेदारहरुको संयुक्त लगानी रहेको छ ।
अस्पतालका सञ्चालक एवं संरक्षण तेजलाल कर्णकाअनुसार हिमाल आँखा अस्पतालले विराटनगरमै पहिलो पटक अर्थोटिक इभ्यालुसन सेवा भित्र्याएको छ । नेत्ररोग विशेषज्ञ डा. शौरभ पियाले अस्पतालमा सेवा दिनेछन् । अस्पतालबाट ओपिडी, आकस्मिक, मोतियाबिन्दु शल्यक्रिया, फार्मेसी र ल्याब सेवा प्रवाह गरिने सञ्चालक कर्णको भनाइ छ । अन्य अस्पतालभन्दा सस्तो र भरपर्दो उपचार सेवा गर्ने उद्देश्यका साथ आँखा अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
विश्वमा उत्कृष्ट मानिने उपकरणमार्फत आँखाको उपचार गरिने उद्देश्यले सञ्चालनमा ल्याइएको यस अस्पतालले तुलनात्मक रुपमा खर्च पनि कम लाग्ने जनाएको छ । ‘अस्पतालमा अत्याधुनिक उपकरणहरू ल्याइएको छ,’ संचालक कर्णले भने, ‘विशेषज्ञ चिकित्सकहरूले अत्याधुनिक उपकरणहरू प्रयोग गरी आँखाको सबै उपचार यहाँ हुनेछ ।’