पोखरा – कोरोनाविरुद्धको खोप अभियानको दोस्रो चरणको पहिलो दिन २ फागुनमा गण्डकी प्रदेशका २ हजार ५७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । दोस्रो चरणमा स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधि ३३५, पत्रकार ६०, निजामति सेवाका सम्पूर्ण कर्मचारीहरु ६१९, बैंक तथा वित्तीय संस्थाका कर्मचारी १२६ जनाले खोप लाएका हुन् ।
यस्तै, जनपद प्रहरी ९४४, बोर्डरमा खटिने सशस्त्र प्रहरी १४४, संस्थान तथा प्राधिकरणका कर्मचारी १५२, न्याय सेवाका कर्मचारी ९१, पहिलो चरणमा छुटेका ८८ जना र अन्य २ जनाले खोप लगाएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले ९.७८ प्रतिशतलाई पहिलो दिनमा खोप लगाइएको जनाएको हो । गण्डकीले दोस्रो चरणमा २६ हजार २८० जनालाई खोप लगाउने लक्ष्य लिएको छ ।
गण्डकी प्रदेशले दोस्रो चरणको पहिलो दिन २० वटा खोप केन्द्रमा खोप लगाउने व्यवस्था मिलाएको थियो । जिल्लागत रुपमा हेर्दा सबभन्दा बढी कास्कीमा ५६५ जनालाई खोप लगाइएको छ भने सबभन्दा कम मुस्ताङमा ५२ जनालाई खोप लगाइएको छ । गण्डकीमा ५८२ महिला र १ हजार ९८९ पुरुषले खोप लगाएका हुन् । निर्देशनालयका अनुसार १.२२ प्रतिशत खोप खेर गएको छ ।
यसैबीच खोप ढुवानीकर्ताहरुलाई खोप ढुवानी तथा कोल्डचेन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गरिएको थियो । तालिम १ दिनमात्रै सञ्चालन भएको निर्देशनालयले जनाएको छ ।
कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियानमा गण्डकी प्रदेशको लक्ष्य १७ हजार १९५ रहेकोमा १८ हजार ४७२ जनालाई खोप लगाइएको थियो ।