काठमाडौं—काठमाडौं उपत्यकामा अबको ४ दिनभित्र कोभिड—१९ विरुद्ध प्रयोग हुने खोप अभियान संचालन हुँदैछ । देशभर एकै पटक सुरु हुने भनिएपनि सहजताका हिसाबले उपत्यकामा पहिला सुरु हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १४ गतेबाट खोप संचालन हुने बताइसकेका छन् । तर, विभागीय मन्त्रालय र खोप लगाउने स्वास्थ्यकर्मीले सुरु हुने दिन तोक्न सकेका छैनन् । खोप अभियान संचालन गर्न ७ वटै प्रदेशका मुख्यमन्त्रीसँग (आज) आइतबार स्वास्थ्य मन्त्रालयले छलफल गर्ने भएको छ ।
दिउँसो साढे ११ बजे तय गरिएको छलफलमा सबै मुख्यमन्त्री, सचिव, स्वास्थ्य मन्त्रालय मातहतका महाशाखा प्रमुख, प्रदेशका स्वास्थ्य प्रमुख, महानिर्देशक, प्रदेश को—अर्डिनेटरहरुको सहभागिता रहने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
पत्रकारहरुलाई समेत सहभागी गराउन गरिएको प्रस्ताव भने स्वास्थ्य सचिवले अस्वीकार गरेका छन् । सचिव लक्ष्मण अर्यालले कर्मचारीलाई खोपका विषयमा कुनै पनि प्रतिक्रिया संचार माध्यममा नदिन सर्कुलर नै जारी गरेका छन् ।