नेपालमा यतिबेला चिसो मौसम सुरु भएको छ । चिसोयामको सुरुवाती संगै मानिसहरुमा विभिन्न प्रकारका फ्लुहरु देखा पर्छन् । त्यसैले यसलाई ‘इन्फ्लुएन्जा’ को मौसम पनि भनिन्छ ।
अधिकांश व्यक्तिमा यस समयमा फ्लुको लक्षण स्वरुप सामान्य रुघाखोकी र श्वासप्रश्वास सम्बन्धिको समस्याहरु देखापर्छ । यसैगरि हाछ्युँ आउने समस्या पनि फ्लुको विविध साझा लक्षणमध्ये एक हो ।
वातावरणमा भएको तापमण्डलको बाफ र धुलो मिश्रित हावा श्वासप्रश्वासको माध्यमबाट शरीर भित्र प्रवेश गर्न खोज्दा नाकले त्यसलाई रोक्न खोज्ने वा शरीरबाट बाहिर फाल्ने क्रममा त्यसको प्रतिकृया स्वरुप पनि व्यक्तिलाई हाछ्युँ आउँछ । कसैमा भने सामान्यभन्दा बढि मात्रामा अस्वभाविक ढंगबाट लगातार हाछ्युँ आइरहने हुन्छ ।
हाछ्युँ किन आउँछ ?
हाछ्युँ आउने प्रकृयालाई मानव जीवनमा सामान्य रुपमा लिइन्छ । हाम्रो नाकमा स–साना मसिना रौंहरु हुन्छन् । जसलाई चिकित्सा क्षेत्रमा ‘सिलिया’ भनिन्छ । यसले बाहिरी वातावरणमा रहेका धुलो धुवाँलाई नाकबाट पस्न नदिई फिल्टरको रुपमा काम गर्दछ ।
यसका साथै नाकको माध्यमबाट शरीरभित्र पसेको कुनै पनि फोहोरलाई बाहिर निकाल्न परेमा यसले हाछ्युँको माध्यमबाट सो फोहोरलाई बाहिर निकाल्ने काम गर्छ । अर्काे शब्दमा भन्ने हो भने यसलाई शरीरको सफाई तन्त्रको रुपमा पनि लिन सकिन्छ । तसर्थ यो शरीरको सामान्य प्रकृयामध्ये एक हो । तर, यसबाहेक केहि व्यक्तिमा भने कहिलेकाहिँ अचानक लगातार हाछ्युँ आइरहने समस्या पनि देखिन्छ ।
हालको बद्लिदो ग्रामीण परिवेश र बढ्दो सहरीकरणका कारण हावामा अत्याधिक मात्रामा धुलोको मिश्रण भएको छ । तसर्थ यसरी धुलो धुवाँ मिश्रित हावा सास फेर्ने क्रममा हाम्रो नाकबाट शरीरभित्र प्रवेश गरेमा परिणाम स्वरुप त्यसले शरीरमा एलर्जी पैदा गर्छ । र, यसैको प्रतिकृया स्वरुप हामीलाई लगातार हाछ्युँ आउने गर्दछ । यसैगरि कहिलेकहिँ शरीरमा हुने विभिन्न संक्रमणको लक्षण स्वरुप पनि व्यक्तिमा लगातार हाछ्युँ आइरहन्छ ।
लगातार हाछ्युँ आएमा के गर्ने ?
- अत्याधिक धुलो धुवाँ भएको ठाउँमा नजाने
- बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने
- तातोपानीको बाफ लिने
- शरीरलाई तातो बनाउने खाद्यवस्तु (अदुवा, दालचिनी, मेथी आदि) को प्रयोग गर्ने
- झोलिलो खाना र उमालेको पानी प्रशस्त सेवन गर्नेे
- समय–समयमा राम्ररी हात धुने ।
माथिका उपायहरु अपनाउँदा पनि केहि व्यक्तिमा भने हाछ्युँ नरोकिएर यसले व्यक्तिको दैनिकीमा समेत दखल पु¥याउँने सम्भावना उच्च रहन्छ । तसर्थ यस्तो समयमा भने बिरामीले ढिलो नगरी तुरुन्त सम्बन्धित चिकित्सकसंग परामर्श लिनुपर्छ । यसका लागि व्यक्तिले जनरल फिजिसियन, छाती रोग विशेषज्ञ वा नाक, कान तथा घाँटी विशेषज्ञसँंग परामर्श लिन सकिन्छ ।
प्रस्तुतीः सृजना मगर