२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमनकारी डाक्टर अर्चना : भन्छिन्, ‘भोको पेट देख्नै सक्दिनँ’

मनकारी डाक्टर अर्चना : भन्छिन्, ‘भोको पेट देख्नै सक्दिनँ’


पेसाले आँखा चिकित्सक । सँगसँगै समाजसेवा । यस्तो गुण थोरै मानिसमा मात्र हुन्छ । यस्तै गुणी कर्ममा जुटिरहेकी छन्, आँखा रोग विशेषज्ञ डा. अर्चना पोखरेल । डा. पोखरेल यतिबेला लकडाउनका कारण छाक टुटेकाहरुको छाक टार्न तल्लीन छन् । साथै, सामान्य चोटपटक लागेका बिरामीलाई अस्पतालसम्म पनि आफै खर्च जुटाएर पु¥याउँछिन् । आफैले उपचार गर्न सम्भव बिरामीलाई त्यही उपचार गरिदिन्छिन् ।

कोभिड—१९ कहरका बेला बिरामीलाई समेत छिःछि र दूरदूर गर्ने केही चिकित्सक र अस्पतालका समाचारहरु बाहिरिरहेका हुन्छन् । तर, यी डाक्टर कोरोनाको उच्च जोखिम मोलेर कोभिड—१९ का कारण सडकमा विचल्लीमा परेकाहरुको सेवामा निर्भिक डटिरहेकी छन् ।

११ चैतबाट कोरोनाका कारण नेपाल पूर्ण लकडाउन भयो । यससँगै दिउँसो काम गरेर बेलुका छाक टार्नेहरुको अवस्था जटिल बन्दै गयो । लकडाउनका लम्बिदैं गएपछि उनी लकडाउनको एक सातापछि योगिनी सरिता आनन्दजीसँग भेट्न गएका बेला उनले पशुपतिलगायतका ठाउँमा भोकले कुपोषण भएकाको खाना खाइरहेको फोटो देखाइन् । भोकले छटपटिएका ती तस्वीरले उनको मन रोयो । ती भोकाएका मानिसको पेट भर्ने निधो गरिन् ।

२६ चैतमा उनले पहिलो पटक आफ्नै घरमा खाना पकाइन । ५० वटा प्याकिङ बनाइन् । पशुपति परिसरमा गएर भोका मानिसहरुलाई खाना खुवाउन थालिन् । सुरुमा एक्लै खटिएकी उनलाई केही दिनपछि साथीहरुले सहयोग गर्न थाले ।

डा. पोखरेल डिभाइन पाथ इन्टरनेशनल फाउन्डेसन नामक संस्थामा आवद्ध छिन् । यो संस्थाले मनोआध्यात्मिक र मानसिक स्वास्थ्यमा काम गर्छ । यही संस्थामार्फत उनले हरेक दिन बेलुका खाना खुवाउने अभियान सुरु गरिन् । सुरुमा ४० देखि ५० जनालाई खाना खुवाउन सुरु गरेकी उनले अहिले दैनिक ३ सय ५० जनाभन्दा बढीलाई खाना खुवाउँछिन् ।

डा. पोखरेलको यो अभियानलाई धेरैजसो मानिसहरुले सामाजिक सन्जालमा सेयर गरे । साथै उनका श्रीमान डा. अनिल बरालले पनि सामाजिक सञ्जालमा उनले गरिरहेको काम र सहयोगका लागि अपिल गरे । जसले सहयोगी मनहरुको साथ डा. पोखरेललाई मिल्न थाल्यो । यहिक्रममा अमेरिकामा ‘सापटी’ टक शो कार्यक्रम सञ्चालन गर्दै आएका डा. सन्तोष सापकोटा र नेप्लीज हिन्दु सोसाइटी अफ अष्ट्रेलियाले पनि सहयोग गर्न थाले ।

भोकाको पेट भएकाहरुलाई तृप्त गर्न सुरु गरेको यो अभियानको सुरुवाती दिनमा उनलाई विभिन्न लाञ्छना लगाइयो । सामाजिक सञ्जालमा कतिपयले यसरी भात खुवाएर मान्छेलाई अल्छी बनाए, यस्ता मान्छेहरुलाई के खाना खुवाएको होला, जड्याहाहरुलाई खाना खुवाएर के पाइन्छ भन्नेजस्ता कुराहरु सामाजिक सन्जालमा आए । साथै, सरकारी तवरबाट पनि उनले सहयोग पाइनन् । तैपनि, उनले आफ्नो अभियानलाई निरन्तरता दिइरहिन् ।

‘खाना आउँदैन् भन्दा गरिबहरु रोए’

केही साथीहरु र स्वयं आफैं लागेर सुरु गरेको यो अभियानमा विस्तारै सरकारी तवरबाट पनि बन्द गर्नु भन्ने दबाव आउन थाल्यो । साथै, आर्थिक रुपमा पनि संकट पर्न थाल्यो । त्यसैले उनले एकदिन खाना बाँडेर सकेपछि ‘हामीलाई अप्ठयारो प¥यो अब भोलिबाट खाना आउँदैन है’ भनेर जानकारी गराइन् ।

यस्तो सुन्ने बित्तिकै नियमित खाना खाँदै आएका मानिसहरु डाँको छोडेर रुन थाले । ‘एकदिन मैले हामी अब खानाको व्यवस्था गर्न नसक्ने भयौं, भोलिबाट खाना आउँदैन भनेँ,’ उनी भन्छिन्, ‘मैले यसोभन्दा गरिबहरुले हामीलाई यसै नमार्नुस् भनेर रुनुभयो त्यसपछि त मैले सहनै सकिनँ ।’ यो दृश्य कति कारुणिक थियो, उनी त्यसको बयान गर्न सक्दिनन् । त्यसपछि यो अभियानलाई निरन्तरता दिने अठोट लिएको उनी बताउँछिन् ।

मनकारीहरुले सुरु गरेको भोको पेट भर्ने अभियान काठमाडौंका विभिन्न ठाउँमा चलिरहेको छ । यहीबेला काठमाडौं महानगरपालिका भने यसले महानगरको बेइज्जत भएको भन्दै बन्द गराउने अभियानमा छ । यसले मानिसहरुलाई एक पेट खाना पु¥याउने अभियान चलाइरहेका अभियन्ता जस्तै डा. पोखरेललाई पनि पीडा भएको छ । ‘सरकारले बरु मलाई गोली ठोकोस् तर गरिबको पेट भोको राख्दिनँ,’ उनी भन्छिन्, ‘मेरो शरीरका अंग बेचेरै भएपनि गरिबलाई खाना खुवाउँछु ।’

गरिबको पेट भर्न ५ वर्षपछि फेसबुक

उनले फेसबुक चलाउन छोडेको ५ वर्षभन्दा बढी भैसकेको थियो । डा. पोखरेललाई सामाजिक सन्जाल खासै मन पर्दैन । उसो त उनले ५ वर्ष अघिबाट नै फेसबुक बन्द गरिन् । तर, आफ्नो अभियान रोकिने भएपछि उनी फेसबुकमा पुनः सक्रिय भइन् ।

फेसबुक खोलेर उनले त्यसमार्फत खाना खुवाउने अभियानमा सहयोग गर्न अपिल गरिन् । त्यही अपिलका कारण फेसबुकमा सहयोगी मनहरु फेला भेटिए । जसमध्ये धेरैजसो उनकै साथीहरु थिए ।

दौडधुपले कोरोना संक्रमण

पीपीई लगाएर गरिब तथा असहायको पेट भर्न दगुर्ने डा. पोखरेललाई एक महिना अघि कोरोना संक्रमण भयो । सुरुमा उनलाई एक्कासी ज्वरो आयो । दुई तीन दिनसम्म पनि ज्वरो नघटेपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।

उनलाई कोरोना पोजेटिभ रिपोर्टले भन्दा पनि गरिबहरुको पेट भोको हुने भयो भन्ने चिन्ताले सताउन थाल्यो । तर, उनले आफ्ना साथीहरुसहितको तीनवटा समूह बनाएकी थिइन् । त्यसैले उनी थला परेपछि पनि उनले बनाएका तिनै समूहले गरिब तथा असहायहरुलाई खाना खुवाउन थाल्यो ।

‘आइसोलेसनको बसाइँमा रोगको पीडाभन्दा बढी भोको पेटमा बसिरहेका गरिब तथा असहायको दृश्य मानसपटलमा आउँथ्यो,’ डा. पोखरेल भन्छिन्, ‘त्यही कर्मको आर्शिवादले होला मैले सहजै कोरोना जितेँ ।’

जनकपुरमा जन्मिएकी मनकारी डा. पोखरेलले सरकारी छात्रवृत्तिमा पोखराको मणिपालबाट एमबीबीएस र वि.पी. प्रतिष्ठान धरानबाट एमडी गरेकी हुन् । सन् २००६ मा एमडी उत्तीर्ण गरेपछि उनले करिब ४ वर्ष नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा सेवा गरिन् । त्यसपछि लायन्स आँखा अस्पतालमा ६ वर्ष काम गरेकी उनी विगत २ वर्ष यता ललितपुरको निदान अस्पतालमा कार्यरत छिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ