२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा कोरोना संक्रमितको उपचारका लागि आइसीयुकाे अभाव

सुदूरपश्चिममा कोरोना संक्रमितको उपचारका लागि आइसीयुकाे अभाव

५० शैय्या थप गर्ने प्रदेश सरकारको तयारी


धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको उपचारका लागि आइसीयुको अभाव भएको छ । गम्भीर लक्षणसहितका बिरामीहरु बढिरहेकाले यहाँ सघन उपचार कक्ष लगायतका पूर्वाधारहरुको कमी देखिन थालेको हो ।

प्रदेशकै कोरोना अस्पतालका रुपमा घोषणा गरेर सक्रमितहरुको उपचारमा सक्रिय सेती प्रादेशिक अस्पतालले व्यवस्थान गरिरहेको ५० शैय्याको कोरोना अस्पतालमा बिरामीहरु भरिएका छन् ।

मंगलबारसम्म गम्भीर लक्षण देखिएका १७ जनाको आइसियुमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ स्रोत व्यक्ति हेमराज जोशीले बताए । ‘प्रदेश सरकारले २० वटा थप भेन्टिरलेटर खरिद गरी हरेक जिल्ला अस्पतालमा दुई÷दुई वटाका दरले जडान गर्ने प्रक्रियामा छ,’ उनले भने, ‘तत्काल बिरामीको अवस्था हेर्दा आइसियु बेड थप्नुपर्ने आवश्यकता देखिएको छ ।’

धनगढीस्थित ५० शैय्याको अस्थायी अस्पतालमा ४८ जना कोरोना सक्रमितको उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये कैलालीका ३७ जना, कञ्चनपुरका ४ जना, अछाम र डडेल्धुराका २÷२ जना र बझाङ, दार्चुला र बैतडीका १÷१ जना कोरोना सक्रमितको धनगढीमा उपचार भइरहेको छ ।

हाल १० हजार १ सय ५४ जना सक्रमित रहेको सुदूरपश्चिम प्रदेशमा ८ हजार ४ सय ८५ जना निको भएर घर फर्किसकेका छन् ।

संक्रमित बढेपछि धनगढीको कोरोना अस्पतालमा ५० शैय्या थपिँदै

कोरोना संक्रमितले धनगढीमा स्थापना गरेको कोभिड अस्थायी अस्पताल भरिएपछि प्रदेश सरकारले ५० शैय्या थप्ने तयारी गरिएको छ ।
५० शैय्याको अस्थायी अस्पताल संक्रमितले भरिएपछि थप संक्रमितको उपचारमा चुनौती थपिएका बेला प्रदेश सरकारले शैय्या विस्तार गर्न लागेको हो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले कोभिड अस्थायी अस्पतालमा थप ५० शैय्या विस्तार गर्न प्रक्रिया थालिएको जानकारी दिए ।

कार्कीका अनुसार सहरी विकास तथा भवन निर्माण कार्यालयले शैय्या विस्तारका लागि आवश्यक पर्ने भवन निर्माणका लागि प्राविधिक अध्ययन थालेको छ । कार्यालयले शुक्रबारसम्म अध्ययन गरेर लागत स्टमेट पेश गरेपछि अन्य प्रक्रिया थालिने कार्कीले बताए ।

सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको कोभिड अस्थायी अस्पतालमा ५१ जना संक्रमितको उपचार भइरहेको छ । ५० शैया क्षमता रहकोमा ५१ संक्रमितको उपचार भइरहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जटिल अवस्थाका १५ जनाको सघन उपचार कक्ष आईसीयूमा उपचार भइरहेको छ । १० शैय्याको आईसीयू सेटअप रहेको अस्पतालले जनरल वार्ड समेत अक्सिजनको उपलब्धता हुनेगरी वैकल्पिक व्यवस्था गर्दै २० शैय्याको बनाएको छ तर अस्पताल भर्ना भएका १५ जना संक्रमितलाई आईसीयूमा राखेपछि अब ५ वटा वैकल्पिक शैय्या मात्र खालि छन् ।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालका शैय्या संक्रमितले भरिएछि अब आउने संक्रमितलाई कसरी उपचार गर्ने भन्ने चुनौती थपिएको छ ।

लक्षण सहितका आइसियु र भेन्टिलेटरमा राख्नु पर्ने बिरामी बढ्न थालेपछि चुनौती थपिएको र तत्काल उपकरण र दक्ष जनशक्ति व्यवस्थापन हुन नसके बिरामी समाल्नै समस्या हुने सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले बताए ।

अन्यत्रका अस्पतालमा तत्काल आईसीयु र भेन्टिलेटर सेवाको उपलब्धता नहुँदा उपचारका लागि सेती प्रादेशिक अस्पतालमै पठाउने गरिएको छ । सामाजिक विकास मन्त्रालयले भने अन्य अस्पतालमा पनि भेन्टिलेर र आईसीयु सेवा उपलब्ध भएपनि जनशक्ति अभावका कारण समस्या भएको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता कार्कीले जनशक्ति अभावमा भएका उपकरण समेत सञ्चालन गर्न नसकिएको बताए ।

२२ जना संक्रमितको अस्पतालमा मृत्यु

सुदूरपश्चिम प्रदेशमा २२ संक्रमितको मृत्यु अस्पतालमा भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा १४ जना, अछाममा २ जना ,बाजुरामा १ जना , बझाङमा १ जना ,डोटीमा १ जना , दार्चुलामा १ जना, डडेल्धुरामा १ जना, कंचनपुरमा १ जना को उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै , कोरोना संक्रमण देखिएपछि २ जनाले आत्महत्या गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार बझाङमा १ जना र बाजुरामा १ जना ले आत्महत्या गरेको हुन् ।

सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमितको होम आईसोलेसनमा मृत्यु भएको छ । निर्देशनालयका अनुसार बझाङमा २ ,कैलालीमा १ ,बाजुरामा १, रबैतडीका भारतबाट घर फर्किदै गरेका १ जनाको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेशमा लक्षण बिहिन १५ जना र लक्षण सहितका १२ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय राजपुरले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ