काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह—प्रवक्ता डा. आशिष श्रेष्ठकाअनुसार बुधबार ३ बजेदेखि बिहीबार विहान साढे ७ बजेसम्म ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा २ जना महिला र २ पुरुष रहेका छन् ।
प्रवक्ता श्रेष्ठकाअनुसार बुधबार दिउँसो ३ः१५ मा धरान—९ सुनसरीकी ४४ वर्षीया महिलाको मृत्यु भएको हो । २७ असोजमा प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनमा त्यही दिन कोभिड—१९ पोजेटिभ देखिएको थियो । कोभिड पोजेटिभ देखिएसँगै २८ असोजमा उनलाई प्रतिष्ठानको कोभिड—१९ अस्पतालमा राखेर उपचार सुरु गरिएको थियो ।
यस्तै, बुधबार राति ११ः५५ मा धरान—९ कै ५८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनमा २५ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि २८ असोजदेखि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार सुरु गरिएको थियो ।
बिहीबार १२ः५ मा प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना भएकी एक ७५ वर्षीया महिलाको निधन भएको छ । इटहरी—२० घर भएकी उनी २८ असोजमा अस्पतालमा भर्ना भएकी थिइन् । त्यही दिनमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । उनमा हाइपरटेन्सनको समस्या रहेको अस्पतालले जनाएको छ ।
तेह्रथुम घर भएका ३१ वर्षीय पुरुषको पनि बिहीबार विहान ७ः१५ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । उनलाई १० असोजमा कोशी अस्पतालमा कोभिड—१९ पोजेटिभ पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था बिग्रदैं गएपछि ११ असोजमा विपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनमा क्रोनिक किड्नी रोग र हाइपर टेन्सनको समस्या थियो ।
मृतकहरुको कोभिड—१९ शव व्यवस्थापन मापदण्डअनुसार शव व्यवस्थापनको तयारी भैरहेको प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए ।