२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सन्तुलित भोजनमा पोषण विज्ञको जोड

सन्तुलित भोजनमा पोषण विज्ञको जोड


विराटनगर – महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेका बेला चिकित्सक एवं पोषण विज्ञले सन्तुलित भोजनमा जोड दिएका छन् । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनल आयोजना गरेको ‘वर्तमान अवस्थामा बालबालिकाहरु र पोषण’ विषयको भर्चुअल अन्तरक्रियामा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

उनीहरूले हरियो साग, तरकारी, दाल र खाना सबै मिसाएर खानाको थाली कलरफुल बनाए मात्रै सन्तुलित भोजन मिल्ने बताए । जनस्वास्थ्य निरीक्षक गजेन्द्रप्रसाद यादवले साग तरकारीबाट कोरोना सर्ने सम्भावना नभएका कारण बारीकै तरकारीमा बढी जोड दिनुपर्ने उल्लेख गरेका हुन्  ।

उनले घरको खाना, मौसम अनुसार फलफुल, साग तथा तरकारीलाई बढी प्राथमिकता दिँदा सन्तुलित भोजन मिल्ने बताए । यादवले कोरोना महामारीले भिटामिन ‘ए’, गर्भवतीलाई आरन वितरण जस्ता कार्यक्रम पनि प्रभावित रहेकाले स्थानीय तहले स्वयंसेवीका खटाएर घरघरमा पोषणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाएका छन् ।

पोषणविद् सुनिता रिमालले भात, रोटी, आलु (काब्रोहाइड्रेड), साग र तरकारी तथा फलफूल अनि अमिलो हुने जस्तै गोलभेडा, कागती आदि सबै मिलाएर खाने गर्नाले सन्तुलित हुने र कुपोषण हुनबाट बच्न सकिने बताइन् । तरकारीलाई धेरै मसिनो नकाट्ने र धेरै पकाउन नहुने उनको सुझाव छ । पोषणको कमी भए रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकाले सबै जना सजग हुनुपर्ने तर्क रिमालको थियो ।

बालरोग विशेषज्ञ डा. प्रविण कुमार झाले संक्रमित बालबालिकालाई कसरी स्याहार गर्न सकिन्छ र कस्ता पोषणयुक्त खानेकुरा दिनुपर्छ भन्ने बारेमा स्पष्ट पारेका छन् । डा. झाले संक्रमित आमाले पनि शिशुलाई स्तनपान गराउन सक्नेभन्दै स्तनपान गराउनुअघि साबुनपानीले हात धोई मास्क लगाउनु पर्ने बताए ।

क्लबका संस्थापक अध्यक्ष डा. बालकृष्ण साहको अध्यक्षतामा भएको अन्तरक्रियालाई क्लबका निर्देशक समेत रहेका डा. झा, पोषणविद् सुनिता रिमाल र जनस्वास्थ्य निरीक्षक तथा क्लबकासचिव गजेन्द्रप्रसाद यादवले सहजीकरण गरेका थिए । कार्यक्रममा बालबालिका र पोषण सम्बन्धी उठेका जिज्ञासाको समाधान पनि खोजिएको डा. साहको भनाइ छ ।

क्लबले विगत ५ हप्तादेखि प्रत्येक साता कोरोना लगायत स्वास्थ्यसँग सम्बन्धित विषयमा विज्ञहरुसँग भर्चुअल सचेतना गराउँदै आएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ