काठमाडौं—मिर्गौलाको डायलासिस फ्ल्युडको अभावमा गरिब तथा विपन्न वर्षका बिरामीहरुले डायलासिस सेवा पाउन नसकेका बेला नेपालमै ‘डायलासिस फ्ल्युड’को उत्पादन सुरु भएको छ । औषधि व्यवस्था विभागले नोभा जेनेटिक फर्मास्युटिकल प्रा.लि.लाई अत्यावश्यक ‘डायलासिस फ्ल्युड’ उत्पादनको अनुमति दिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।
नोभा जेनेटिक फर्मास्युटिकल प्रा.लि.ले अत्यावश्यक ‘डायलासिस फ्ल्युड’ उत्पादन सुरु गरी बिक्री वितरण समेत गर्न थालेको जनाएको छ । डायलासिसका लागि चाहिने अत्यावश्यक डायलासिस फ्ल्युड पर्याप्त नहुँदा सयौं बिरामीले सेवा पाएका थिएनन् । नेपालमा सो ‘डायलासिस फ्ल्युड’को दोस्रो मुलुकबाट आयात अनुमति छैन ।
नेपालमा रोडोरेड्रन फर्मास्युटिकल प्रा.लि.ले यसअघि ‘डायलासिस फ्ल्युड’ उत्पादन गर्दै आएको थियो । बिरामीको संख्या बढ्दै जानु र मागअनुसार रोडोरेड्रन फर्मास्युटिकल प्रा.लि.ले ‘डायलासिस फ्ल्युड’ उत्पादन गर्न नसक्दा सेवामा समस्या आएको थियो ।
मिर्गौला रोग विशेषज्ञ डा ऋषि काफ्लेका अनुसार डायलासिस गर्ने बिरामीका लागि ‘डायलासिस फ्ल्युड’ अनिवार्य आवश्यकता पर्छ । उक्त ‘डायलासिस फ्ल्युड’ उपलब्ध नभएको अवस्थामा बिरामीको सेवा रोकिन्छ ।
देशभर ४ हजार ६ सय २० जना व्यक्ति नियमित डायलासिस सेवा लिइरहेका छन् । करिब ७ हजार जना सेवा नपाएर बसिरहेका छन् । नोभा जेनेटिक फर्मास्युटिकल प्रा.लि.ले महिनामा २० हजार लिटर फ्ल्युड उत्पादन गर्ने बताएको छ ।
‘डायलासिस फ्ल्युड’ नपाएर सेवा लिन नपाएका मिर्गौलाका बिरामीलाई यसले राहत मिलेको चिकित्सक बताउँछन् । देशभरका सरकारी, निजी र गैरसरकारी गरी ५५ अस्पताल डायलासिसका लागि सूचीकृत भएका छन् ।