काठमाडौं— नेपालमा पहिलो पटक कोरोना संक्रमित चिकित्सकको निधन भएको छ । बिहीबार भेरी अस्पताल नेपालगन्जमा सिनियर अर्थोपेडिक सर्जन ५८ वर्षीय डा. हरि सापकोटाको कोरोना संक्रमणबाट निधन भएको हो ।
सरकारी चिकित्सक संघका अध्यक्ष तथा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले सो जानकारी दिएका हुन् । ‘कोभिडको संक्रमणबाट हामीले हाम्रा अभिभावक, अग्रज चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरि सपकोटा गुमायौं, । यो देशको लागि अपुरणीय क्षति हो, ’ डा. खड्काले भने ।
सरकारी चिकित्सक संघका महासचिव डा. कीर्तिपाल सुवेदीले प्रदेश अस्पताल सुर्खेतमा कार्यरत सिनियर अर्थोपेडिक सर्जन डा. सापकोटाको निधन भएको खबर प्राप्त भएको बताए ।
उनलाई भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वाश्वास प्रश्वासमा समस्या देखिएपछि डा. सापकोटालाई नेपालगञ्जको भेरी अस्पतालमा असोज २ गते रेफर गरिएको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी बिनोद बस्नेतले बताए ।
भेरी अस्पतालमा उपचारका क्रममा बिहीबार उनको निधन भएको डा. रविनले जानकारी दिए । ‘हिजोसम्म स्वास्थ्य अवस्था ठीकै थियो । आज विहानदेखि स्वास्थ्य गम्भीर बन्न थालेपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो,’ डा. रविनले भने, ‘अहिले दिउँसो ३ बजे उहाँको निधन भएको खबर प्राप्त भयो ।’
डा. सापकोटा विगत २० वर्षयता मधुमेहको बिरामी रहेकाले औषधि सेवन गरिरहेका थिए । उनलाई आजै भारतको म्याक्स अस्पताल लैजाने तयारी थियो । उनी ११ औं तहका सरकारी चिकित्सक हुन् ।