काठमाडौं– नेपालीले शरीरलाई चाहिनेभन्दा बढी नुन खाने गरेको एक सर्वेक्षणले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपाल स्टेप सर्वेक्षण, २०१९ को तथ्यांकले यस्तो देखाएको हो ।
१५ देखि ६९ वर्ष उमेर समूहका मानिसहरुमा गरिएको सर्वेक्षणमा ९ दशमलव २ प्रतिशतले प्राय नुन थपेर खाने गरेको पाइएको छ । खाना खानुअघि वा खाइरहँदा खानामा नुन वा नुनिलो सस् सधैं प्रयोग गर्ने पुरुष ९ दशमलव ८ प्रतिशत छन् भने ८ दशमलव ७ प्रतिशत महिला रहेका छन् ।
यस्तै, १९ दशमलव ५ प्रतिशतले बढी मात्रामा नुन हालिएको तयारी खानेकुरा (जंक फुड) खाने गरेको पाइएको हो । जसमा पुरुष २१ दशमलव १ प्रतिशत छन् भने महिला १८ दशमलव १ प्रतिशत रहेका छन् ।
सर्वेक्षणमा नुनको मात्रा नियन्त्रण गर्नेको संख्या अत्यन्तै न्युन रहेको देखिन्छ । खानामा नुनको मात्रा नियन्त्रण गर्न सधैं जसो केहि उपाय अपानाउने २ दशमलव ६ प्रतिशत छन् । जसमा ३ प्रतिशत पुरुष र २ दशमलव २ प्रतिशत महिला रहेका छन् ।
यसरी चाहिने मात्रामा बढी नुन खाँदा मानव शरीरमा गम्भीर प्रकारका स्वास्थ्य समस्या देखिने चिकित्सकहरु बताउँछन् । मुटु रोग विशेषज्ञ डा। प्रकाशराज रेग्मी चाहिनेभन्दा बढी नुन खाँदा उच्च रक्तचाप, मुटु रोग, मृगौलासम्बन्धि रोग लाग्ने बताउँछन् । ‘नेपालीहरु चाहिनेभन्दा बढी नुन खान्छन्,’ उनी भन्छन्, ‘खास हाम्रो शरीरका लागि चाहिने नुन ५ ग्राम हो तर नेपालीहरुले डबल खाइरहेका छन् ।’
शरीरमा नुनको मात्रा बढी हुँदा नुनले शरीरका सेलबाट पानी सोस्छ र त्यो पानी रगतमा घुलित भएर रगतको मात्रा बढाउँछ । जसले गर्दा उच्च रक्तचाप हुने डा. रेग्मी बताउँछन् । ‘नुनको मात्रा बढी भएपछि रगतमा पानीको मात्रा बढ्छ, त्यसपछि उच्च रक्तचाप हुन्छ,’ उनले भने,‘रक्तचापले हृदयघात, मस्तिष्क घात हुने र मृर्गौलामा गम्भीर असर पुर्याउँछ ।’
नुन भनेको सोडियम क्लोराइड हो । यसको मात्रा बढी भएपछि शरीरमा भएका अन्य खनिजलाई असन्तुलित बनाएर मुटुको धड्कनलाई समेत असन्तुलित बनाउने मुटुरोग विशेषज्ञ डा. रेग्मी बताउँछन् ।