काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गर्न लागेको स्वास्थ्य सामाग्रीमा आर्थिक अनियमितताको आरोप लागेको छ । प्रतिस्पर्धाका आधारमा एक नम्बर सस्तोमा उपलब्ध गराउने कबुल गरेको कम्पनीलाई छाडेर ५ नम्बरको महंगो कम्पनीलाई टेन्डर दिइएको पाइएको हो ।
सबैभन्दा सस्तो मुल्यमा सामान उपलब्ध गराउने कवुल गरेर टेण्डर हालेको हाम्रो अभिषेक जेभीले मिलेमत्तोमा धेरै रकम कवोल गर्ने कम्पनीलाई टेन्डर दिएर अनियमितताको आशंका भएको भन्दै आफूले नपाउनुको जवाफ माग गरेको छ ।
९ भदौमा ३ लाख आरटी—पिसिआर र ५० हजार आरएनए एक्ट्राक्सन किट खरिद गर्न स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले टेण्डर आह्वान गरेको थियो । सो सामान ल्याउन ९ करोड ४५ लाख ५० हजारदेखि २१ करोड ८२ लाख ५० हजारसम्मका १६ वटा सप्लायर्सले प्रतिस्पर्धामा भाग लिएका थिए । उनीहरुमध्ये एक नम्बर सस्तोमा ‘हाम्रो अभिषेक’ संयुक्त उपक्रमले टेन्डर हालेको थियो । तर, आर्थिक प्रलोभनमा परेर पाचौं क्रममा रहेको ‘फेयर ट्रेड प्रा.लि’ लाई दिएको आरोप लागेको छ ।
सस्तोमा हाल्ने ‘हाम्रो अभिषेक’ संयुक्त उपक्रमले ९ करोड ४५ लाख ५० हजारमा टेन्डरमा सहभागी भएको थियो । तर, ‘फेयर ट्रेड प्रा.लि’लाई विभागले नोटिस अफ इन्टेन्शन टु एवार्ड दिएको छ । उक्त कम्पनीले ११ करोड १० लाखमा टेन्डर हालेको थियो । यसरी सस्तोलाई पाखा लगाएर बढी मुल्य तिर्ने पाँचौ नम्बरको कम्पनीलाई स्वीकृती दिदा राज्यलाई एक करोड ६४ लाख ५० अतिरिक्त व्ययभार थपिएको छ ।
व्यवस्थापन महाशाखाले कोरोना परीक्षण गर्न आवश्यक पर्ने आरटी—पिसिआर र आरएनए एक्स्ट्याक्सन किट खरिदका लागि ९ भदौमा टेन्डर आव्हान गरेको थियो । हाम्रो अभिषेक संयुक्त उपक्रमले टेन्डरमा सहभागीमध्ये सबैभन्दा कम मूल्य कबोल गर्ने स्वीकृत नगरेर पाचौं क्रम संख्यामा रहेको ‘फेयर ट्रेड प्रा.लि’ लाई स्वीकृत दिएको विषयमा हाम्रो अभिषेकले आपत्ति जनाएको हो ।
कम्पनीले विभाग समक्ष आफूले नपाउनुको पछाडिको कारणबारे लिखित जानकारी माग गरेको छ । उक्त जानकारीमा विभागले पिसिआर किटमा कुनै समस्या औल्याएको छैन तर, आरएनए एक्स्ट्याक्सन गर्ने समयमा भने सानो कमेन्ट गरेको छ । उक्त समय पनि विभागले उल्लेख गरेकोभन्दा कममै हाम्रो अभिषेकले पेस गरेको छ ।
व्यवस्थापन महाशाखाका निर्देशक डा. रमेश खरेलले हाम्रो अभिषेक जेभीलाई फर्काएको जवाफ पत्रमा बोलपत्रका कागजहरु कानुनी तथा प्राविधिक पक्षहरुको सम्बन्धित विषय विज्ञ समेतको सहभागितामा मुल्याङ्कन हुँदा ‘फेयर ट्रेड प्रा.लि’को बोलपत्र न्यूनतम मुल्याङ्कन सारभूत रुपमा प्रभावकारी रहेको हुँदा स्वीकृत गरिएको उल्लेख छ ।
विभागले १५ देखि ४५ मिनेट लाग्ने आरएनए एक्स्ट्याक्सन किट बजारमा पाइन्छ भनेपछि ‘हाम्रो अभिषेक’ले आरएनए एक्स्ट्याक्सन गर्न ३४ मिनेट लाग्ने किटको प्रस्ताव हालेको थियो । तर, विभागले ३० मिनेटभन्दा बढीको लिन नसक्ने भनेर उसलाई हटाएको हो । हाम्रो अभिषेकले पिसिआर किट र आरएनए एक्स्ट्याक्सन किट खरिदका लागि टेन्डर नपाउनुको कारणपनि यही मात्रै हो ।
हाम्रो अभिषेक जेभीका अध्यक्ष देवेन्द्र श्रेष्ठकाअनुसार चार सेप्टेम्बरमा स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले ३ लाख पिसिआर किट र ५० हजार आरएनए एक्स्ट्याक्सन किटको टेन्डर खोलेको हो ।
विभागले हाम्रो अभिषेक जेभीले कम मूल्यमा हालेकाले उसैले पाउने बताउँदै आएको थियो । ‘१४ तारिकमा लेटर अफ इन्टेस दिने भनिएको थियो,’ उनले भने, ‘हामी अबेरसम्म कुरेर बस्यौं । तर, १५ गते पाँचौ नम्बरमा रहेको फेयर ट्रेड प्रा.लि.लाई दिएको पत्र इमेलमार्फत पायौं । त्यो पनि १४ तारिकको मिति राखेर ।’
१६ वटा कम्पनीले टेन्डर हालेको मूल्यसूची
भाग लिएका कम्पनी |
टेन्डर हालेको मूल्य |
हाम्रो अभिषेक जेभी |
९४५५०००० |
बायोमेड इन्टरनेशनल प्रा.लि. |
९५३५०००० |
निपा हिमा ट्रेडलिङ्क प्रा.लि. |
९६०००००० |
लुम्बिनी हेल्थ केयर प्रा.लि. |
१०१८५०००० |
फेयर ट्रेड प्रा.लि. |
१११०००००० |
सरोडायग्नोष्टिक ट्रेडिङ नेपाल प्रा.लि. |
१११७५०००० |
सन्यो कोरर्जन मेट जेभी |
१२०९००००० |
म्याप इन्ट्रीप्रेनर्स प्रा.लि |
१२२९००००० |
मेट्रोनिक्स नेपाल प्रा.लि. |
१३४२५०००० |
ओम सर्जिकल कन्सर्न प्रा.लि. |
१४००००००० |
डङ्वन हेल्थ केयर प्रा.लि. |
१५६६५०००० |
सुदिप इन्टरनेशनल प्रा.लि. |
१५८०५०००० |
शिभस् मेडिटेम्स प्रा.लि. |
१६६१५०००० |
भण्डारी सर्जिकल हाउस |
१७३४५०००० |
इस्ट वेस्ट इन्टरनेशनल प्रा.लि. |
२१२८००००० |
सनराइज जयश्री श्याम जेभी |
२१८२५०००० |