काठमाडौं—शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आरटी पीसीआर परीक्षण गराउनेहरु ८० प्रतिशत भारतीय नागरिक रहेका छन् । पूर्ण रुपमा निधेषाज्ञा खुला र तराईमा पीसीआर परीक्षणका लागि स्वाब संकलन न्युन मात्रामा हुनुले टेकु अस्पतालमा भिड बढेको हो । टेकु अस्पतालमा पिसिआर पूर्ण रुपमा निशुल्क हुन्छ ।
अस्पतालका प्रशासन प्रमुख रुपनारायण खतिवडाले पीसीआर परीक्षण गराउन आउनेमा ८० प्रतिशत भारतीय नागरिक र केही नेपाली मूलका नागरिक भएको बताए । सयौँको संख्यामा अस्पताल पुगेका मानिसहरु १६ घण्टासम्म लाइनमा बसेर पीसीआर परीक्षणका लागि नमुना दिने गर्छन् ।
नेपालबाट भारत रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरु गइरहेका बेला भारतबाट पनि रोजगारीका लागि ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेका छन् । खतिवडाका अनुसार विगत ४ दिनदेखि अस्पतालमा पीसीआर परीक्षण गराउन आउने भारतीय र तराईका नागरिकको अव्यवस्थित भिड लाग्न थालेको छ ।
अस्पतालका अनुसार मंगलबार मात्रै ९०० जनाले पीसीआर परीक्षणका लागि टिकट लिएका थिए । उनीहरुमध्ये करिब ५०० भारतीय नागरिक थिए भने अन्य तराई र न्युन मात्रै उपत्यकावासी थिए । पीसीआर परीक्षण गराउन सोमबार साँझ ५ बजेबाट उनीहरु लाइन बसेका थिए । टेकु अस्पतालले हालसम्म २४ घण्टा भित्र पीसीआर परिक्षणको रिपोर्ट दिदै आएको छ । अन्य प्रयोगशालाभन्दा धेरै छिटो रिपोर्ट दिने कारणले पनि टेकुमा मात्र बढी भिड देखिएको हो ।
विगतमा ३५० जनाको प्रति दिन स्वाब संकलन गर्ने टेकु अस्पतालको आफ्नै दायरा छ । उनीहरुले लक्षण भएका र स्वाब लिनैपर्ने अवस्थामा बाहेक पीसीआर गराउदैंनन् । तर, भारत र तराईबाट आएकाहरु अधिकाशंको स्वाब लिनुपर्ने देखिएको छ । मंगलबारदेखि भिड अव्यवस्थित भएपछि अस्पतालले स्वाबको संख्या बढाएर ३५० बाट ५५० दैनिक लिने निर्णय गरेको छ ।
तराईमा पीसीआर परीक्षण घटाइएको छ । मंगलबार पनि ७१८ वटा मात्रै नमुना संकलन गरेको छ । नमुना संकलन कम भएपछि उक्त क्षेत्रका मानिसहरु पीसीआर गराउन काठमाडौं आएका हुन् ।
टेकु अस्पतालमा पीसीआर गराउन पुगेकाहरुमा अधिकांश मजदुर छन् । जसमध्ये भारतबाट रोजगारीको सिलसिलामा नेपाल आएकाहरु धेरै छन् । भारतमा पीसीआर परीक्षणको रिपोर्ट नलिएर नेपाल आएका उनीहरुलाई घर धनी र ठेकेदारले पीसीआर रिपोर्ट ल्याउन भनेपछि टेकु पुगेका हुन् । टेकु अस्पतालका अनुसार कुल स्वाब संकलन भएकामध्ये ३५ प्रतिशत पोजेटिभ नतिजा आएको छ ।