काठमाडौं—सरकारी चिकित्सक संघले राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट जारी भएको स्नातकोत्तर तहको परीक्षाको सूचनामा गम्भीर कमजोरी भएको औल्याएको छ । सो कमजोरीले राज्यको स्थायी स्वास्थ्य सेवा धरासायी बनाउने हेतुले सूचना जारी भएको गोदानको आरोप छ ।
चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रलाय र गोदानबीचको बैठकमा भएको सहमति विपरित सरकारीतर्फको ४० प्रतिशतको लागि एकलौटी रुपमा आयोगले नियमावलीको गलत ब्याख्या गरेर सूचना जारी गरेका गोदानले जनाएको छ ।
गोदानका अध्यक्ष डा. रविन खड्का र डा. कीर्तिपाल सुवेदीको संयुक्त हस्ताक्षरमा मंगलबार जारी विज्ञप्तिमा त्रिपक्षीय सम्झौता हुँदा मन्त्रालयले कार्यविधि निर्माण गरेपछि मात्र स्पष्ट रुपमा खुल्ने गरी सूचना जारी गर्ने सहमति भएको उल्लेख छ ।
एकै स्तरको एउटै कोठाभित्र हुने परीक्षाका लागि फरक—फरक सेवा शर्त हुनु स्थायी चिकित्सकको सेवा प्रवेश गर्दा देखाइएको सरकारी शिक्षण संस्थानमा स्नातकोत्तर अध्ययनको प्राथमिकता हटाइनुजस्ता विषयले आयोगले चरम विभेदकारी नियम ल्याएर स्थायी चिकित्सकलाई हतोत्साहित तुल्याएको गोदानले जनाएको छ । उसले आयोगका पदाधिकारीको निहित स्वार्थ पूर्तिका लागि यस्तो सूचना जारी गरी स्थायी स्वास्थ्य सेवालाई धरासायी बनाउन लागेको आरोप लगाएको छ ।
संघले अहिलेको सूचनालाई तत्काल सच्चाएर नयाँ सूचना जारी नगरे सम्पूर्ण सरकारी चिकित्सकले असहयोग गर्ने र सो अटेर गरेमा असहयोग गर्नका लागि सबै सरकारी चिकित्सकलाई आव्हान समेत गरेको छ ।