२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथापाथली अस्पतालमा जीवित शिशु बाँच्दैन भन्दैं ८ घण्टा कोपरामा

थापाथली अस्पतालमा जीवित शिशु बाँच्दैन भन्दैं ८ घण्टा कोपरामा


काठमाडौं—सिन्धुली गोलन्जर—२ का उत्तम घिमिरेकी श्रीमती अन्जु थापाको पहिलो बच्चा गर्भमा थियो । गर्भ रहेको ५ महिना पूरा भएर ६ महिना लागेको थियो । त्यतिकैमा अन्जुलाई रक्तस्राव हुन सुरु भयो ।

रक्तस्राव भएपछि १ असोजमा सिन्धुलीबाट अन्जुलाई थापाथलीस्थित परोपकार प्रसुती गृहमा ल्याइयो । प्रसुती गृहमा ल्याएर जाँच गर्दा २४ हप्ताको बच्चा रहेको, बच्चाको अवस्थामा सामान्य तर पानी कम रहेको चिकित्सक बताए ।

अस्पतालमै राखेर अन्जुको उपचार सुरु भयो । रक्तस्रावको क्रम बढ्दैं गएपछि नर्सहरुले बच्चा निस्किन लागेको भन्दैं प्रसुती कक्षमा नलगेर सामान्य वार्डमै सुत्केरी गराउने औषधि चलाए ।

अन्जुका श्रीमान उत्तमकाअनुसार औषधि चलाउँदैं गर्दा सोमबार विहान २ बजे राति अन्जुले ६ सय ग्रामको बच्चा जन्माइन् । बच्चा जन्माइसकेपछि ड्युटीमै रहेका नर्सले चिकित्सकलाई बोलाइन् । चिकित्सकले नवजात शिशु अति सानो भएको र कुनै पनि अंगको विकास नभएको भन्दैं नबाँच्ने ठोकुवा गरे । बच्चा नबाँच्ने भनेपछि उत्तमलाई बच्चाको *‘डु नट रिस्ससेटेड’* मा सही गर्न लगाइयो ।

तर, उनका नवजात शिशुले श्वास भने फेरिरहेका थिए । उत्तमले बच्चा हेर्दै नहेरी *‘डु नट रिस्ससेटेड’* मा साइन गरिदिए । जीवित शिशुलाई नर्सले कोपरामा हालेर वार्डको बाहिर हात धुने बेसन छेउमा लगेर राखिन् । वार्डमा हुने अन्य व्यक्तिहरुले गएर हेर्दा बच्चा रोइरहेको, हात चलाइरहेको थियो ।

त्यति हुँदा पनि नवजात शिशु बाँच्दैन भनेर त्यतिकै कोपरामा छोडिएको थियो । ‘बच्चा रोइरहेको छ भनेर मलाई भनेपछि अनिमात्र म हेर्न गए,’ उत्तमले भने, ‘हेर्दाखेरि त बच्चा रोइरहेको र हातखुट्टा चलाइरहेको थियो ।’ श्वास हुन्जेल आश रहन्छ भनेझैं चिकित्सक र नर्सलाई आफूले भेन्टिलेटरमा राखेर उपचार अनुरोध गरेको उनले बताए ।

‘लागेको खर्च म ब्यहोर्छु भनेर अनुरोध गरेपछि ८ घण्टापछि बच्चा भेन्टिलेटरमा लगेर राखियो,’ उनले हेल्थआवाजसँग भने, ‘हिजो बेलुका ४ बजे गएर हेर्दा बच्चाले हाटखुट्टा र मुख चलाइरहेको थियो । अहिले पनि चलाइरहेको छ भन्ने भित्रबाट जानकारी दिनुभएको छ ।’

प्रसूति गृहको बच्चा विभागकी प्रमुख डा. कल्पना सुवेदीले यस्तो बच्चाको बाँच्ने सम्भावना कम भएको र बाचेता पनि भेन्टिलेटरमा राख्नुपर्ने हुँदा प्यासेन्ट पार्टीलाई सोधेको बताइन् । साथै, त्यो समय प्रसूति गृहमा भेन्टिलेटर पनि खाली नभएका कारण अन्त लैजान अनुरोध समेत गरेको उनले जानकारी दिइन् । ‘बाँच्ने सम्भावना अति कम हुन्छ भनेर हामीले उहाँहरुलाई जानकारी दियौं । हाम्रोमा भेन्टिलेटर खाली थिएन्,’ डा. सुवेदीले भनिन्, ‘अन्त लानुहुन्छ कि माया मार्नुहुन्छ भन्दा खर्चमात्र हुन्छ नलग्ने भनेपछि उहाँहरुलाई हस्ताक्षर गर्न लगाइएको हो ।’

तर, बच्चा जीवित रहेको र भेन्टिलेटर पनि खाली भएपछि उपचार सुरु गरिएको उनले बताइन् । ‘अझै पनि हामीलाई विश्वास छैन् । तर, बच्चा बाँच्यो भने हाम्रो सिचुएसनमा मिराकल नै हुन्छ । श्वास रहुन्जेल गर्नुपर्ने सबै प्रयास हामी गर्छौ,’ उनले भनिन् ।

* क्लिनकल शव्द *डु नट रिस्ससेटेड* हुनु पर्नेमा अन्यथा भएकाेमा सच्याईएकाे  । -सम्पादक


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ