बुटवल—गत बिहिबारदेखि हराइरहेका सिनियर अहेबको शव फेला परेको छ । मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब विष्णुप्रसाद नेपालको सोमबार रुपन्देहीको तिलोत्तमा -१६ मौजा कुलो बिहुलीमा शव फेला परेको तिलोत्तमा नगरपालिकाका प्रवत्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
गत बिहीबार बुटवलको एक होटलबाट घरजाने क्रममा बेपत्ता भएका उनको नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधी तथा स्थानीयहरुले लगातार चार दिन खोजी गर्दा तिलोत्तममा १६ मा शव फेला परेको हो ।
गत शुक्रबार नै उनको मोटरसाइकल बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला पारेको थियो । उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामा प्रहरीले नहर केन्द्रित खोजी गरेको थियो ।
नहरमा दलदल अत्याधिक रहेकाले सहयोगका लागि नेपाली सेनालाई समेत आग्रह गरेको थियो ।
सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल सोही ठाउँमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत थिए । उनका एक श्रीमती र छोरा छन् । उनी राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल रूपन्देहीका उपाध्यक्षसमेत थिए ।