२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मृगौला पीडित बस्नेत भन्छिन्, ‘रोग लागेपछि श्रीमानले पनि साथ छोडे, सहयोग पाए बाँच्थे’

मृगौला पीडित बस्नेत भन्छिन्, ‘रोग लागेपछि श्रीमानले पनि साथ छोडे, सहयोग पाए बाँच्थे’


विराटनगर – पातलो शरीर । निन्याउरो अनुहार । हिडडुल गर्न  गाह्रो छ । एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न सक्ने शरीरमा तागत छैन । उनी हुन्-उदयपुर चौधन्डीगढी नगरपालिका – ९ की ३१ वर्षीया दुवै मृगौला पीडित टिका कुमारी बस्नेत थापा । दुवै मृगौलाले काम नगरेपछि चार वर्षदेखि उपचार गर्दै आएकी छिन् । भएको सम्पती बेचर उपचार गरेर १५ लाखभन्दा बढी उपचारमा पैसा सकेपछि टिका कुमारीले मनकारीहरूसँग मृगौला प्रत्यारोपणको लागि सहयोगको याचना गरेकी छिन् ।

दुवै मृगौला फेल भएपछि अहिले उपचारको लागि विराटनगर आएकी छिन् । ‘२८ वर्षको उमेरमा मृगौला फेल भयो । काठमाडाैंका सबै अस्पताल चहारेँ, पैसा सकियो रोग निको भएन्,’ उनले भनिन्, ‘मृगौला प्रत्यारोपण गर्न सके बाँच्ने चिकित्सकले भन्नुभएको छ । यसको लागि खर्चिलो हुने रहेछ । सहयोग पाए उपचार गरेर बाँच्ने रहर छ ।’

सरकारले मृगौला पीडितको डायलाइसिस गर्दा शुल्क नलाग्ने भनेपनि महंगोमा इन्जेक्सन र औषधी किन्नुपरेको उनको गुनासो छ । ‘सरकारले निःशुल्क डायलाइसिस हुन्छ भनेको छ । तर, औषधि र इन्जेक्सन किन्दा हप्तामा पाँच हजारभन्दा बढी खर्च हुन्छ’ ,उनले भनिन्, ‘अहिलेसम्म १५ लाखभन्दा बढी खर्च भइसक्यो । रोग जाति हुन सकेको छैन ।’ आफू रोगी भएपछि जीवन भरी साथ दिने भनेर विवाह गरेको श्रीमानले पनि छोडेको टिकाकुमारीले बताइन् ।

‘अहिले ६ वर्षकी छोरी छ । श्रीमान तेजबहादुर थापा बैदेशिक रोजगारमा कतारमा हुनुहुन्छ,’ टिकामायाले भनिन्, ‘आफूलाई रोगले च्यापेपछि श्रीमान अहिले सम्पर्कविहिन हुनुभयो । बिरामी परेर थला परेको अवस्थामा अझै धेरै श्रीमानले साथ सहयोग दिनुपर्ने थियो । श्रीमान लापता हुनुहुन्छ । फोन गर्दा काटिदिने गर्न थाल्नुभएको छ ।’ केही दिन अगाडी फोन गर्दा आफूले अर्कै विवाह गरेको र आउने दिनमा फोन नगर्नु भनेको उनले सुनाइन् ।

अहिले टिकाकुमारीले विराटनगरस्थित नोबल अस्पताल डाइलाइसिस गर्दै आएकी छिन् । अध्ययन गर्न विराटनगरमा बसोवास गर्दै आएकी भतिजी छोरी कविता थापाको डेरामा बसेकी छिन् । ‘घरमा आम्दानी छैन, काकीको आफ्नो कमाइ छैन । डायलाइसिस गर्नपनि गाह्रो भएको छ,’ छोरी कविताले भनिन्, ‘काकीको मृगौला प्रत्यारोपण गरेर बाँचेको हेर्ने इच्छा छ ।’

टिकाकुमारीको माइतीले पनि उपचारमा धेरै पैसा खर्च गरिसकेका छन् । उनीहरूले उपचारका लागि धेरै सरकारी निकाय र संघसंस्था धाएपनि सहयोग नपाएको गुनासो गरेका छन् । टिकाकुमारीले उपचारमा सहयोगको लागि देश विदेशमा रहनुभएका सबैमा सहयोग गरिदिन आग्रह गरेकी छिन् । उनको सम्पर्क नम्बर  ९८१५७०७२८३ रहेको छ । टिकाकुमारीलाई सहयोग गर्नको लागि उनको सानिमा बैंकको ०६७०११०९००००२ नम्बरको खाता रहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ