२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअध्ययन विदा लिएर तीन वर्षदेखि अस्पतालको क्वार्टर कब्जा

अध्ययन विदा लिएर तीन वर्षदेखि अस्पतालको क्वार्टर कब्जा

कोभिडमा खटेका सुइपरले बस्ने ठाउँ पाएनन्


काठमाडौं—पेशाले नर्स कविता भुजेलको स्थायी ठेगाना काठमाडौं—१७ कुश्लेचौर हो । मिति २०६७ जेठ १ गतेदेखि उनी शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत छन् । अस्पतालमा कार्यरत रहँदादेखि उनले आफ्नो घर छाडेर अस्पतालको क्वार्टर प्रयोग गर्दै आएकी हुन् ।

टेकु अस्पतालकाअनुसार अहिले भुजेल बीएन अध्ययनका लागि अध्ययन बिदामा छन् । कानुनतः अध्ययन बिदामा भएको व्यक्तिले अस्पतालको क्वार्टर प्रयोग गर्न मिल्दैन । अस्पतालले स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रमा भुजेलले ०७४ पुस १३ देखि ०७७ पुस १२ सम्म तीन वर्षका लागि अध्ययन विदा स्वीकृत गराएको उल्लेख गरेको छ । साथै, पटक—पटक क्वार्टर खाली गर्नसमेत अस्पतालले मौखिक अनुरोध गरेको छ ।

कर्मचारी समायोजनमा उनको दरबन्दी सिन्धुली गाउँपालिकामा भएको छ । तर, उनी अहिले पनि अस्पतालको क्वार्टरमै बसोवास गरिरहेकी छन् । कोरोना महामारीको समयमा अस्पतालमा कार्यरत कर्मचारीले कोठा नपाएको बेला उनले क्वार्टरका तीन वटा कोठा कब्जा गरेकी छन् । अस्पतालले पटक—पटक क्वार्टर खाली गर्न परिपत्र गरेको छ । तर, उनी शक्तिकेन्द्रको दबाबमा क्वार्टरमै बस्दा जोखिममा काम गरेका सुइपर र अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने ठाउँ नभएको अस्पतालका प्रशासन प्रमुख रुपनारायण खतिवडाले बताए ।

अस्पतालको क्वार्टरमा बसेका केही कर्मचारीलाई हटाएर आईसीयुमा काम गर्ने १९ जनालाई राखिएको छ । केही कोठा खाली नभएकाले अन्यको व्यवस्थापन गर्न निकै कठिन भएको अस्पतालले जनाएको छ । भुजेलले प्रयोग गरेको तीन कोठा खाली भए ७ जनासम्म कर्मचारी यो बेला राख्न सकिने खतिवडाले बताए ।

खतिवडाले भने, ‘उहाँ (भुजेल) ले तीन वर्षको अध्ययन बिदा स्वीकृत गराएर आफ्नो घर वा अन्तै कोठा लिएर बस्नुपर्ने हो । अस्पतालमा काम पनि गर्नु भएको छैन । काम गर्ने कर्मचारीहरुलाई बस्नको लागि कोठा पनि छाड्नु भएको छैन ।’ पटक—पटक अस्पतालबाट आग्रह हुँदा समेत कोठा छाड्न अटेर परेपछि मन्त्रालयलाई परिपत्र गर्दै हटाउने तयारीमा प्रशासन पुगेको उनले बताए । अस्पतालले एक हप्ता भित्र कोठा खाली गर्न निर्देशन दिएको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ