२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएम्स अस्पतालको लापरवाही– पीसिआर रिपोर्ट नभएको भन्दै उपचारमा ढिलाइ गर्दा बिरामीको मृत्यु

एम्स अस्पतालको लापरवाही– पीसिआर रिपोर्ट नभएको भन्दै उपचारमा ढिलाइ गर्दा बिरामीको मृत्यु


विराटनगर ६ सरौचिया घर भएकी ७७ वर्षिय सुमित्रादेवी गोढी (सहनी) लाई श्वासप्रश्वासमा समस्या आएपछि विराटनगरकाे हस्पिटल चोकस्थित एम्स अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा शनिबार राती भर्ना गरियो ।

अस्पताल ल्याइसक्दा बिरामीको स्वास्थ्य अवस्था गम्भीर भैसेकेको थियो । उनलाई आइसियुमामा राखेर उपचार गर्नुपर्ने स्थिती थियो । तर अस्पतालले भने पीसिआर परीक्षण गरेपछि मात्र आइसियु अथवा भेन्टिलेटरमा राखेर उपचार गर्ने जानकारी गरायो । पीसीआर परीक्षणका लागि परिवारका सदस्यले हारगुहार गरे । तर, कतै सुनवाइ हुन सकेन ।

सुमित्रादेवीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गयो । अस्पतालको लापरवाहीका कारण सुमित्रादेवीको आइतबार बिहान ६ बजे आकस्मिक कक्षमै मृत्यु भयो ।

बेलैमै अस्पतालले सघन उपचार कक्ष (आइसीयू) राखेर बिरामीको उपचार गरेको भए हजूरआमाको अकालमा ज्यान जानुपर्ने अवस्था नजाने मृतकका नाती सुरजकुमार गोढी बताउँछन् । कोरोनाको त्रासका कारण अस्पतालले बेलैमा उपचार नगर्दा हजुरआमाको ज्यान गएको उनको भनाई छ । ‘कोरोनाको कुनै पनि लक्षण देखिएको थिइन्,’ उनले भने, ‘अस्पतालले पीसिआर परीक्षण रिपोर्ट नभई आइसियुमा नराख्ने अडान लियो । समयमा उपचार नपाउँदा हजूरआमाको ज्यान गयो ।’

श्वासप्रश्वासमा समस्या देखिएको हजुरआमालाई अस्पतालको आइसियु अथवा भेन्टिलेरमा राखेर उपचार गरेको भए ज्यान बच्ने उनले बताए । पीसीआर रिपोर्ट नभएको भन्दै अस्पतालका चिकित्सकहरूले उपचारै नगरी आलटाल गरेको उनको आरोप छ । ‘अस्पताल भर्ना गरिएको विरामीलाई रातभरी आकस्मिक कक्ष राखियो,’ उनले भने, ‘हामीले धेरैपटक डाक्टरहरूलाई भेन्टिलेटरमा राखेर हजूरआमाको उपचार गरिदिन अनुनय–विनय ग¥यौं । तर हाम्रो कुराको सुनवाइ भएन ।’

पीसीआर रिपोर्ट नभई अस्पतालले उपचार प्रक्रिया अगाडी नबढाएको, चिकित्सक र प्रशासनको चरम लापरवाहीले बिरामीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ । मृत्युपछि समयमै उपचार नगरिएका कारण हजुरआमाको मृत्यु भएको भन्दै अस्पताललाई कारबाहीको माग राखेका छन् । उनीहरूले अस्पताल विरुद्ध उजुरी दिएर घटनाको छानविन गरी दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

यता एम्स अस्पतालका प्रशासन प्रमुख अजय यादवले रातीको समयमा बिरामीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले हामीले अन्य अस्पतालमा रिफर गरेको भएपनि उनीहरूले आफैँ अस्पतालमा राखेको बताए । ‘रिफर गर्दा पनि नलगेपछि हामीले आकस्मिक कक्षमा राखेर मेडिकल अफिसियर चकित्सकले उपचार गरेको थियो । उपचारको क्रममा मृत्यु हुन पुग्यो,’ उनले भने ।

यसअघि पनि विराटनगरमा दिर्घरोगी र अन्य रोग लागेका बिरामीले समेत समयमा उपचार नपाएर मृत्युवरण गर्नुपरेका घटना आइसकेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बिरामीको उपचार नगरि फिर्ता पठाउने अस्पताललाई जनस्वास्थ्य ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइने बताए । ‘बिरामीले उपचार नपाएर मृत्यु भएको खबर सार्वजनिक भएपछि विराटनगरका निजी हस्पिटलका सञ्चालक र चिकित्सकसँग हामीले छलफल गरेका थियौं,’ उनले भने, ‘भर्ना नगरेर तथा उपचार नपाएर बिरामीको मृत्यु हुने अवस्था आउन नदिने भन्ने विषयमा प्रतिवद्धता भएको थियो ।’ यसरी बिरामी फिर्ता पठाएर ज्यान गुमाएको हामीकहाँ उजुरी आएमा जनस्वास्थ्य ऐन–२०७५ का अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ