शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी आईसीयु नर्सिङ इन्चार्ज हुन्–उषादेवी देवकोटा । उनी विगत २५ वर्षयता नर्सिङ पेसामा आवद्ध छिन् । यस वर्षको निजामती सेवा दिवसको अवसरमा उनलाई सरकारले उत्कृष्ट निजामती कर्मचारीको रुपमा पुरस्कृत गर्ने निर्णय गरेको छ । छैटाै तहकी नर्सिङ अधिकृत उनले यससँगै १ लाख राशीको पुरस्कार हात पारेकी छन् ।
सरकारको यो निर्णयबाट देवकोटा निकै खुशी छिन् । तर, उनी यसको श्रेय शुक्रराज अस्पतालको टीमलाई दिन्छिन् । अस्पतालको विस्तारमा उनले ल्याएका प्रस्तावलाई अस्पताल प्रशासन र निर्देशकले कहिल्यै पनि आनाकानी गरेनन् । त्यसैले उनको काम गर्ने इच्छाशक्ति पनि डगमगाएनन् ।
निजामती क्षेत्रमा राम्रा काम गर्ने कर्मचारीलाई सरकारले पुरस्कृत गर्छ भन्ने उनले सुनेकी थिइन् । यद्यपि, आफूलाई नै सरकारले पुरस्कृत गर्ला भन्ने सोचेकी पनि थिइनन् । ‘मलाई कसैले पुरस्कृत गरोस् या नगरोस्, त्यसमा मलाई सरोकार थिएन,’ ४९ वर्षीया देवकोटा भन्छिन्, ‘बिरामीलाई सन्तुष्ट पार्नु मेरो कर्तव्य हो ।’ त्यसो त उनी धेरैजसो समय अस्पतालमै बिताउन चाहन्छिन् । बिदाको दिन पनि उनलाई घर बस्न मन लाग्दैन् । सकभर अस्पताल नै आउने प्रयास गर्छिन् । यही कामप्रतिको लगाव, इच्छाशक्ति, भिजन र कुनै कुरा पनि लोभ लालच नगरेको प्रतिफल अहिले आएर पाएको उनी बताउँछिन् ।
४ वर्षअघिको कुरा हो । शुक्रराज अस्पतालमा आईसीयु कक्ष निर्माण गर्ने कुरा भयो । आईसीयु बनाउने क्रमममा उनले पनि केही सुझाव दिइन् । आईसीयुमा चाहिने इक्युपमेन्टदेखि बिरामीलाई दिइने सेवाका बारेमा उनले आफ्ना धारणा राखेकी थिइन् । त्यहीअनुसार नै आईसीयु तयार भयो । ‘आईसीयु कक्ष बनाउने बेलामा मैले पनि आफ्नो धारणा राख्ने मौका पाएको थिएँ,’ उनी भन्छिन्, ‘अस्पताल प्रशासन र निर्देशकले मेरो कन्सेप्टलाई मन पराएर सहयोग गर्नुभयो ।’ त्यसपछि काम गर्ने इच्छाशक्ति भयो भने सबैको साथ पाइदो रहेछ भन्ने उनलाई लाग्यो ।
यत्तिकैमा विश्वमा कोरोनाले महामारी रुप लिन थाल्यो । नेपालमा पनि त्यत्तिकै त्रास थियो । उनी पनि निकै डराएकी थिइन् । शुक्रराज अस्पतालमा आईसीयु निर्माण गर्ने कुरा भयो । उनले त्यसमा पनि आफ्नो कन्सेप्ट अस्पताल प्रशासन र निर्देशकलाई सुनाइन् । उनको कन्सेप्टलाई मन पराए । त्यहीअनुसार आईसीयु कक्ष निर्माण सुरु भयो । जति आईसीयुका बेड थपिँदै जान्थे, उनी त्यति नै डराउन थालिन् । उनलाई लाग्थ्यो यी बेडमा कोरोनाका बिरामी आउँदा कतै मैले कसैको साथ नपाउने पो हो कि, म एक्लैले कोरोनाका बिरामीको केयर गर्नुपर्ने हो कि ? यी कुराले उनी निकै डराउँथिन् ।
तर, जब कोभिडका बिरामी आईसीयुमा आउन थाले उनमा बिस्तारै डर हराउन थाल्यो । उनले अस्पतालका सबैको साथ पाइन् । अहिले आईसीयुका २० वटै बेडमा कोभिडका बिरामी छन् । बिरामीको सेवामा दिनरात नभनी खटिएकी छिन् ।
उनलाई सन्तुष्ट त्यतिबेला मिल्छ जब कोरोना संक्रमितको मुहार हँसिलो देख्छिन् अनि बिरामीका आफन्तको मिठो प्रतिक्रिया सुन्छिन् । ‘कोभिडका बिरामीलाई उनीहरुका आफन्तले भेट्न पाउँँदैनन्,’ उनी भन्छिन्, ‘अस्पतालमा आएका आफन्तलाई हामीले भाइबरमा भिडियो कल गरेर देखाइदिन्छौं । अनि उहाँहरु हाम्रो केयरिङ देखेर खुशी हुनुहुन्छ त्यतिबेला उहाँहरुले दिएको प्रतिक्रिया सुन्दाको खुशी त बयान गर्नै सक्दिनँ ।’
२५ वर्षयता नर्सिङ पेसामा आवद्ध उनी ०६३ देखि शुक्रराज अस्पतालमा कार्यरत छिन् । २०४८ सालमा लोकसेवा आयोगबाट नाम निकालेर सरकारी सेवा सुरु गरेकी उनले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुरुको ६ वर्ष काम गरिन् । त्यसपछि १२ वर्ष वीर अस्पताल र २ वर्ष जनकपुर अञ्चल अस्पतालमा काम गरेकी छिन् ।
वीर अस्पतालमा काम गर्दा उनले डा. उपेन्द्र देवकोटासँग काम गर्ने मौका पाएकी थिइन् । एकदिन उनी वीर अस्पतालमा बिरामीहरुको केयर गरिरहेकी थिइन् । त्यहिबेला डा. देवकोटाले उनलाई आफ्नो वार्डमा आएर बिरामीको कसरी हेरचाह गर्ने सिक भने । डा. देवकोटा उनी एउटै जिल्लाको भएकाले उनलाई छोरीजस्तै व्यवहार गर्थे । ‘डा. देवकोटाको वार्डमा बसेर मैले मेरा सिनियरहरुले पेसेन्ट केयर गरेको देखेँ,’ गोरखाको पालुङटारमा जन्मिएकी देवकोटा भन्छिन्, ‘उहाँहरुले बिरामीलाई केयरिङ गरेको देखेर म प्रभावित भएँ ।’
पोखरास्थित नर्सिङ कलेजबाट पीसीएल नर्सिङ अध्ययन गरेकी उनले वीर अस्पतालमा काम गर्दै बौद्धस्थित स्तुपा कलेजबाट बिएन नर्सिङ गरेकी हुन् । हाल उनी बालाजुमा बस्दै आएकी छिन् । उनकी एक २३ वर्षीया छोरी छिन् । उनी एमबीए गर्दैछिन् ।