२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना जित्नेहरुको अनुभूति : मृत्युको मुखैबाट फर्किएको महसुस भइरहेको छ

कोरोना जित्नेहरुको अनुभूति : मृत्युको मुखैबाट फर्किएको महसुस भइरहेको छ


बुटवल—डा.उमाशंकरप्रसाद चौधरी प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख हुन् । उनी कामको सिलसिलामा कोरोना संक्रमित भए । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसे । उनी स्वयं चिकित्सक भएकोले पनि आफ्नो स्वास्थ्यको बारेमा विशेष ख्याल राख्नु स्वभाविक नै थियो । उनले अक्सिजन नाप्ने मेसिन किनेर आफनो अक्सिजन लेभल नापी रहन्थे । ज्वरो नाप्ने काम पनि नियमित रुपमा नै गरिरहेका हुन्थे ।

एक दिन उनको शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा ९३ बाट तल झर्दै गयो । उनलाई श्वास फेर्न कठिन हुन थाल्यो । उनमा कोभिडका जटिलताहरू थपिदैं जान थालेपछि लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेसन शाखामा आईसीयुमा भर्ना भए । ‘म आफै आत्तिए र मैले लुम्बिनी प्रादेशिक अस्पताबाट सञ्चालिन बुटवलको धागो कारखानामा रहेको कोरोना फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा. सुदर्शन थापालाई फोन गरे,’ उनी अनुभव सुनाउँछन्, ‘उहाँले मलाई तुरुन्त अस्पतालमा आउन भन्नुभयो म अस्पतालमा एम्बुलेन्स बोलाएर गएँ र भर्ना भएँ ।’

अस्पतालको आईसीयुको बेड नं १६ मा भर्ना भएका डा. चौधरीलाई चिकित्सकीय टिमले श्वासप्रश्वासमा समस्या भएकाले अक्सिजन दिएर उपचार सुरु गरिहाल्यो । ‘सुरुदेखि नै उच्च मनोबलका साथ कोरोनासँंग लडिरहेको थिए । म, मलाई कुनै निराशा थिएन । मैले जसरी पनि कोरोना जितेर छिटो फर्कन्छु भन्ने आशा थियो,’ उनले भने ।

आईसीयुको बेडमा रहेका डा. चौधरीलाई कोरोनाले अत्याधिक रुपमा चाप्दै गयो । उनको अवस्था गम्भीर हुँदै गएपछि कोरोना फोकल पर्सन कन्सलटेन्ट फिजिसियन डा. थापाले रेम्डेसिभिर औषधी चलाउनुपर्ने बताए । ‘डा साब अब तपाईलाई बचाउन हामीसँग रेम्डेसिभिर औषधीबाहेक अरु केही छैन, तपाई के भन्नुहुन्छ यदि तपाईंले हुन्छ भन्नुभयो भने हामी चलाउछौं । डा. थापाले मलाई सोध्नुभयो,’ उनले सुनाए ।

जब डा. चौधरीले ‘मिल्छ भने चलाउनुहोस्’ भने त्यसपछि उनलाई ‘रेम्डेसिभिर’ औषधी चलाइयो । ‘त्यो औषधीबारे अध्ययन गरे त्यो औषधीले कतिको ज्यान गएको पाएँ, कतिको ज्यान बचाएको पाएँ,’ चौधरीले भने ।

यो औषधीले उनलाई बचाउन रामवाणको काम ग¥यो । ‘ यो औषधी पाउने प्रदेश ५ मा सम्भवतः म पहिलो व्यक्ति थिए, जसले वास्तवमा मलाई बचाउन रामवाणको काम गरेको मैले महसुस गरे । लाग्छ मृत्युको मुखैबाट फर्किएँ,’ अनुभव सुनाउँदै डा. चौधरीले भने ।

०००

डा. कृष्ण खनाल लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट हुन् । उनी पनि अग्रभागमा काम गर्दागर्दै कोरोना भाइरसबाट संक्रमित भए । उनले गत साउन २५ गते बुटवलको एक अस्पतालमा एकजना बिमारी हेरेका थिए । ती बिरामीको पिसीआर पोजेटिभ देखियो भन्ने थाहा पाएपछि डा. खनालले ३० गते आफ्नो पिसीआर गराए । साउन ३२ गते रिपोर्ट आयो । उनमा पनि कोरोना संक्रमण पोजेटिभ देखियो ।

उनी सुरुमा होम आइसोलेसनमै बसे । उनलाई विस्तारै टन्सिल बढ्ने, घाँटी सुख्खा हुने, निल्दा घाटी दुख्ने हुन थाल्यो । उनी ज्वरो आउन थाल्यो । भदौं ३ गतेपछि उनलाई खानामा अरुचि हुन थाल्यो । घाँटीमा खसखस हुन थाल्यो । खोकी सुरु भयो । त्यतिमात्र होइन्, उनमा कडा खालको पखालासमेत देखा प¥यो ।

५ भदौंमा उनमा ज्वरो १०२, अक्सिजन स्याचुरेसन ९४ देखि ९८, पल्स ११० देखियो । फोक्सोमा दुबैतिर निमोनिया देखियो । राति १ बजे एम्बुलेन्समार्फत उनलाई काठमाडौं लगियो । ‘बुटवलबाट काठमाडौंको यात्रा सुरु भयो । हिंडदा बाटोमा मुग्लिन नजिकै पहिरोेले जाम बल्लतल्ल बिहान ११ बजे एचएएमएस अस्पताल पुगियो,’ उनले अनुभव सुनाउँदै भने, ‘काठमाडौंको अन्य अस्पतालमा बेड छैन भन्ने जवाफ पाएकोले र त्यहाँका चिकित्सकले भर्ना गर्ने सल्लाहअनुसार भर्ना भै उपचार सुरु भयो ।’

उपचारपछि भदौ ८ गते ज्वरो बन्द भयो र खोकी कम हुँदै गयो । भदौं ९ गते एक्सरे नर्मल आयो । १० गते पिसीआर निगेटिभ आएपछि उनी भदौ ११ गते डिस्चार्ज भए । ‘हरेक २० देखि २५ मिनेटमा तातोपानी, दिनमा ३ देखि ४ पटक सुप र फलफूल, खाना खान नछाड्ने, दैनिक योगा र सक्दो ब्यायाम गर्ने हो भने संक्रमणलाई जित्न सकिन्छ,’ सकारात्मक राख्नुपर्ने बताउँदैं उनी भन्छन् ।

डा. खनाल सुगर, प्रेसर, कोलिष्ट्रोलको औषधी सेवन गर्ने व्यक्ति हुन् । ‘मैले सजिलोसँग कोरोना पराजित गरेको भन्दै यो हाउगुजी बनाउने काम कसैले नगरौं’, उनी भन्छन् ।

०००

रामप्रसाद अर्याल बुटवल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत हुन् । उनी कार्यलय मै काम गर्ने क्रममा कोरोना संक्रमण भएको अनुमान लगाउँछन् ।

उनलाई केही समयदेखि टाइफाइडका कारण ज्वरो पनि आएको थियो । त्यतिमात्र होइन उनी दुई चार महिनादेखि अल्सरबाट पनि पीडित थिए । ‘मलाई ज्वरो पनि आएको थियो । त्यही माथि अल्सर पनि भएकोले मेरो इम्युनिटी पावर कमजोर भएर होला । कार्यालयमा मानिसहरुको फ्लो पनि बढी नै हुने । त्यसले गर्दा मलाई संक्रमण भए होला,’ उनी संक्रमण कसरी भयो भन्ने प्रश्नमा भन्छन्, ‘सायद मलाई त्यही भएर भाइरसले छोप्यो ।’

साउन २४ गते सधैंजसो खाना खाएर उनी सुत्ने प्रयास गर्दै थिए । त्यस रात उनलाई पेटमा गडबड भएको अनभूति भयो । उनलाई निरन्तर पखाला लाग्न थाल्यो । पेट दुख्न थाल्यो । अस्वाभाविक लक्षण देखिएपछि उनलाई कतै कारोना संक्रमण त भएन ? मनमा चिसो पस्यो । त्यसपछि उनी घरमै आइसोलेट भए । ‘कोरोना होजस्तो लाग्यो । त्यसपछि मेरो म्याडनसहित म अलग्गै बस्न थाले’, उनले भने ।

उनले साउन २८ गते स्वाव दिए । स्वाव दिएको दिनदेखि उनलाई के हुने होला ? कसो हुने होला ? भन्ने लागिरहेको थियो । साउन ३१ मा नतिजा पोजेटिभ देखियो । संक्रमण देखिएको तीन दिनमा उनलाई अत्याधिक टाउको दुख्ने, छाती दुख्ने हुन थाल्यो । श्वास फेर्न कठिन होलाजस्तो भयो । अक्सिजन कम भएको जस्तो हुँदा निकै डर समेत लागेको उनी बताउँछन् । ‘मलाई तेस्रो दिन छाती दुख्दा र श्वास फेर्न गाह्रो हुँदा निकै डर लाग्यो । होम आइसोलेसनमा थिए । अरु समस्या त केही थिएन । अक्सिजन र भेन्टिलेटर चाहिने भए के गर्ने होला भन्ने सोचाइ आइरहन्थ्यो । संयोग नै भन्नुपर्छ त्यस्तो अवस्था आएन ।’

उनी घर मै उपलब्ध घरेलु औषधी तथा जनस्वास्थले उपलब्ध गराएका विभिन्न औषधीहरुको प्रयोगबाट कोरोना जित्न सफल भएका छन् । उनी भन्छन्, ‘तातो पानी, जुवानो, बेसारको पानी, गुर्जोको झोल, नियमित व्यायम, मनोरन्जन, योगा आदिले नै कोरोना जित्न सफल भइयो ।’


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ