२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ मा कोरोना संक्रमण निको हुने दर उच्च

प्रदेश ५ मा कोरोना संक्रमण निको हुने दर उच्च


बुटवल—प्रदेश ५ मा कोरोना भाइरस जित्नेहरु दर बढी देखिएको छ । यस प्रदेशमा निको भएर जानेहरु झण्डै ७७ प्रतिशत छन् । यसको अर्थ एक सय जनामा संक्रमण देखिएकोमा ७७ जना निको भएर घर गइसकेका छन् । समग्र नेपालमा डिस्चार्ज हुने दर ५६ प्रतिशत मात्र छ ।

नेपालभरको तुलनामा प्रदेश ५ मा कोरोना जित्नेहरु झण्डै २१ प्रतिशत बढी छन् । संक्रमितहरुको संख्या बढी निको हुने दर उच्च हुनुले प्रदेशमा कोभिड—१९ नियन्त्रणका लागि सकारात्मक प्रायस भैरहेको बुझ्न सकिने विज्ञहरु बताउँछन् ।

‘तथ्यांकले सकारात्मक संकेत गरेको छ । यद्यपी हामी थप सचेत हुनुपर्छ,’ प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले भने, ‘सामाजिक रुपमा संक्रमण फैलिसकेको अवस्थामा समुदाय नै सचेत हुने बेला आएको छ ।’

समुदायस्तरमा संक्रमण फैलिएका कपिलवस्तु, रुपन्देही, बाँकेजस्ता जिल्लाहरुमा अत्याधिक संक्रमितहरु देखिएपनि समग्र नेपालमा कोभिड—१९ का कारण भएको मृत्यु दर ०.६० प्रतिशत रहेकोमा प्रदेश ५ मा ०.४७ प्रतिशत मृत्यु दर देखिएको छ ।

पहिलो चारणमा भएको लकडाउन अवधिमा भारतबाट आउने नेपालीहरुमा धेरै संक्रमण देखिएको थियो । प्रदेशमा संक्रमित हुनेको दर ७ प्रतिशत छ । एक सय जनामा टेष्ट गरिएकोमा औसतमा ७ जनामा संक्रमण देखिएको छ । नेपालमा भने संक्रमित हुनेको दर ६ प्रतिशत रहेको छ । यो आँकडाले तुलनात्मक रुपमा प्रदेशमा संक्रमितको संख्या धेरै छ भन्ने जनाउँछ ।

प्रदेशमा संक्रमित हुनेहरु अधिकांश युवा समूहका पुरुष छन् । बालबालिकामा निकै कम संक्रमण भएको पाइएको छ भने जेष्ठ नागरिक पनि कम नै रहेको तथ्यांक छ । प्रदेशमा १५ वर्ष उमेर समूहका ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ, भने ६० वर्षभन्दा माथिका ६ प्रतिशतमा संक्रमण देखिएको छ । ठूलो सख्यामा १६ देखि ६० वर्ष उमेर समूहमा देखिएको छ । प्रदेशमा यो समूहका ८९ प्रतिशत व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएको छ ।

प्रदेश सरकारले संक्रमणको जोखिम न्यूनीकरणका लागि कोरोना संक्रमणको लेभल थाहा पाउन भन्दै ¥यान्डम टेष्ट गरिरहेको सामाजिक विकासमन्त्री सुदर्शन बराल बताउँछन् । अवस्था हेरेर रणनीति तय गर्नुपर्ने भन्दै ¥यान्डम स्याम्पलिंग टेष्ट गरिएको उनको दावी छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ