काठमाडौं—अस्पतालहरुले मनोमानी तरिकाले आईसीयुका बिरामीहरुलाई अन्यत्र रिफर गर्न थालेपछि सरकारले त्यसमा कडाइ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले समन्वय नगरी रिफर गरिएका बिरामीलाई केही भएमा रिफर गर्ने अस्पताल नै त्यसको जिम्मेवारी हुने बताए ।
‘विभिन्न निजी तथा सामुदायिक तथा अन्य अस्पतालहरुले आईसीयुमा भएका बिरामीहरु अन्य कोभिड डेडिकेटेड अस्पतालमा रिफर गर्दा समन्वय नगरी, स्वास्थ्यकर्मी साथमा नलगाई पठाइएको सूचना प्राप्त भएका छन्,’ मन्त्रालयको नियमित कोभिड ब्रिफिङमा प्रवक्ता डा. गौतमले भने, ‘समन्वय नगरी पठाइएका बिरामीहरुको ज्यान तलमाथि पर्न गएमा रिफर गर्ने अस्पताल नै जिम्मेवार हुने जानकारी गराइन्छ ।’
उनले अहिले कतिपय अस्पतालहरुले बिरामी रिफर गर्दा कोभिड डेडिकेटेड अस्पतालमा बेड भए नभएको एकीन नगरी पठाएको समेत उल्लेख गरे । गौतमले रिफर गरिएको अस्पतालको उपचार गर्ने टिमसँग सम्पर्क नगरी र स्वास्थ्यकर्मी पनि साथमा नलगाइकन त्यतिकै पठाइएको पाइएको समेत बताए ।
त्यस्तो अवस्थामा बेड खाली भएर र कसैको ज्यान तलमाथि पर्ने गएमा रिफर गर्ने अस्पतालले त्यो जिम्मेवारी लिनुपर्ने उनले बताए ।