विराटनर—सुनसरीको धरानस्थित विपी प्रतिष्ठानमा शुक्रबार बिहान ३१ मिनेटको फरकमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने मोरङको बेलवारी र झापाको दमकका कोरोना संक्रमित रहेका छन् ।
उपचारको क्रममा बेलवारी नरपालिका—५ घर भएकी ५६ वर्षीया महिलाको शुक्रबार विहान ३ः१४ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । बेलवारीको कोरोना संक्रमित महिलाको मृत्यु भएको ३१ मिनेटपछि दमक नगरपालिका—३ घर भएका ८३ वर्षीय पुरुषको पनि शुक्रबार ३ः४५ मा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
बेलवारी घर भएकी संक्रमित महिलाको स्वास्थ्यमा गम्भीर समस्या आएपछि विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनबाट ९ भदौमा रिफर गरेर विपीमा भर्ना भएकी थिइन् । उनलाई ९ भदौमा संक्रमण देखिएको थियो । श्वासप्रश्वासमा समस्या भएर, खोकी, ज्वरो आएको बिरामीको कोभिड अस्पतालमा उपचार भइरहेको थियो,’ डा. सापकोटाले भने, ‘महिलामा दीर्घ रोग पनि थियो । उपचारको क्रममा मृत्यु हुन पुग्यो ।’
दमकका मृत्यु हुने पुरुषलाई झापाको विर्तामोडस्थित बी एण्ड सिटी टिचिङ हस्पिटलले रिफर गरेपछि ३ भदौदेखि विपीमा उपचार भइरहेको थियो । ३ भदौमा उनलाई संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । मिर्गौला, उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोषको समस्या रहेको उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटोले बताए ।
मृतक दुवै जनाको शव व्यवस्थापनको तयारी भइरहेको छ । शुक्रबार साँझ पनि विपीमा सिराहा नगरपालिका—१ का ५५ वर्षीया कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।
प्रदेश १ मा शुक्रबार मृत्यु भएको दुई जनासहित मृत्यु हुनेको संख्या २० पुगेको छ । झापामा मृत्यु हुने पहिलो संक्रमित हुन् । यसअघि मोरङमा १५ र सुनसरीको धरानमा तीन जनाको मृत्यु भइसकेको छ ।