बुटवल—‘घरबाट निकाल, टोलबाट निकाल, अस्पतलाबाट पनि निकाल अनि तिमी बिरामी पर्दा कहाँ आउँछौ ? बिरामी त हामी पनि पर्दैछौं, मूत्युलाई हत्केलामा राखी तिम्रो उपचार गर्दैछौं । कोरोनाबाट त बाँचिएला, तपाईंको दुव्र्यवहारबाट हामीलाई कसले बचाउने ?’ डा. दीपेन्द्र पोखरेल व्यंग्यात्मक शैलीमा दुःखेसो पोख्छन् ।
‘हामीमाथि खनिनेहरुप्रति हार्दिकताका साथ समर्पित’ भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले त कविता नै लेखे । उनी लेख्छन्, ‘सक्ने जतिको समाजमा भ्रम फैलाउदै जाऊ, सकेजतिको समाजलाई भड्काउँदै जाऊ, जीवन बचाउन अहोरात्र खटिएका चिकित्साकर्मीमाथि प्रहार गर्दै जाऊ, तिरष्कार बहिष्कार जे गर्न सकिन्छ गर्दै जाऊ, तिमी स्वास्थ्यको विज्ञताभन्दा माथि छौं ।’
फ्रन्टलाइनमा खटिने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहारले उनीहरु निराश हुन थालेका छन् । कोरोना महाव्याधिका बेला उच्च मनोबल र हौसलाका साथ काम गर्नुपर्ने स्वास्थ्यकर्मी नै निराश र भयमा काम गर्नुपर्ने अवस्थाले आत्मबल कमजोर हुने गरेको देखिन्छ ।
कोभिड—१९ को महामारीका बेला आफ्नो ज्यानको जोखिम मोलेर उपचारमा खटिएका चिकित्सक तथा स्वास्थकर्मीमाथि विभेद् हुनु दुखद् पक्ष भएको समाजशास्त्रीहरुको बुझाइ छ । ‘समाज यति स्वार्थमा केन्द्रित हुँदै गएको छ कि आफ्नो अनुकूल नभए जे गर्न पनि तयार हुन्छ । यसले समाजको सामूहिक स्वभावमा प्रभाव पारेको देखिन्छ । यसले बैमनस्यता निम्ताएको छ,’– समाजशास्त्रका अध्येता मनोज रायमाझी भन्छन्, ‘राजनीतिक नेतृत्वबाट समेत सचेतना अभिवृद्धि आवश्यक देखिन्छ ।’
स्वास्थ्यकर्मीहरुलाई समाजले हेर्ने दृष्टिकोण नै गलत हुँदा समस्या हुने गरेको छ । स्वास्थ्यकर्मीहरु संक्रमित बिरामीसँग हुने हुँदा उनीहरु पनि संक्रमित छन् कि भन्ने मनोविज्ञानले समाजमा काम गरिरहेको रायमाझी बताउँछन् ।
रातदिन बिरामीको सेवामा खटिँदा समेत अमानवीय व्यवहार हुँदा डाक्टर तथा स्वास्थ्यकर्मीलाई दुःख लाग्ने गरेको छ । ‘मानवीय धर्म बोकेर हामी सेवामा खटिन्छौँ,’ डा. सन्तोष भुसाल भन्छन्, ‘यो अवस्थामा स्वास्थकर्मीलाई उत्साहित गर्नुपर्नेमा विभेद गर्दा दुःख लाग्नु स्वभाविक हो ।’ समाजको चेतनास्तरले पनि यस प्रकारका गतिविधिलाई नियन्त्रण गर्न भन्दै सामाजिक अभियान संचालन गर्नुपर्ने आवश्यकतामा समेत जोड दिन थालिएको छ ।