२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशहोम आइसोलेसनमा बस्ने संक्रमित बढ्दैं, कति सुरक्षित होम आइसोलेसन ?

होम आइसोलेसनमा बस्ने संक्रमित बढ्दैं, कति सुरक्षित होम आइसोलेसन ?


बुटवल—बुटवल उपमहानगरपालिका—६ का २७ वर्षीय युवामा कोरोना संक्रमण देखियो । उनी आफ्नै घरमा होम आइसोलेसनमा छन् । उनलाई बुटवल उपमहानगरपालिकाले निश्चित नियम पालना गर्ने शर्तसहित होम आइसोलसनमा बस्न अनुमति दिएको छ । सोहीअनुरुप नियम पालनाका साथ उनी आइसोलेसनमा छन् । उनी भन्छन्, ‘कृयापुत्रीजस्तै गरी बसेको छु ।’

तिलोत्तमा १५ का अर्का युवा हुन्, दिपक घिमिरे । उनी संचार कर्मकै बेला संक्रमित भए । संक्रमित भएपछि होम आइसोलेसनमा बसेर कोरोना जित्न सफल भएका छन् । उनी हाल नियमित संचारकर्ममा फर्किसकेका छन् । ‘कोरोना जित्नुभन्दा समाजले गर्ने विभेद जित्न धौं—धौं भयो,’ उनी अनुभव सुनाउँछन् ।

प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रमुख उमाशंकरप्रसाद चौधरी सेवा प्रवाहकै क्रममा संक्रमित भए । अग्रपंक्तिमा रहेर काम गरिरहेका चौधरी संक्रमित भएपछि होम आइसोलेसनमा बसेका छन् । वरिष्ठ अधिकारी भएपनि उनी होम आइसोलेसनमा छन् । उनी आफ्नो स्वास्थ्य अवस्था सुधारोन्मुख र सामान्य रहेको बताउँछन् ।

नेपाल सरकारले नै लक्षण नदेखिएका संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न भनेपछि पछिल्लो समय त्यो संख्या बढ्दै गएको छ । प्रदेश ५ मा पछिल्लो तथ्यांकअनुसार १ सय ७५ जना होम आइसोलेसनमा छन् । यो संख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । प्रदेश सरकारले तयार पारेको निर्देशिकामा भएको मापदण्डका आधारमा व्यक्ति होम आइसोलेसनमा बस्न सक्ने वा नसक्ने निर्णय हुने गर्दछ । सम्बन्धित पालिकाहरुको निगरानीमा होम आइसोलेसनमा बसेका व्यक्तिहरुको निगरानी हुने प्रदेश ५ को समाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले बताए ।

होम आइसोलेसन कति सुरक्षित ?

आफ्नै घर हुनेहरु र छुट्टै व्यवस्थापन गर्न सक्नेहरुका लागि कोभिड—१९ का लक्षण नदेखिए होम आइसोलेसन उपयुक्त हुने विज्ञहरुको बुझाइ छ । ‘अब त संक्रमित र लक्षणबिहिनहरुलाई पनि होम आइसोलेसन नै हो,’ लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल भन्छन्, ‘बरु सम्झाएर बुझाएर कसरी अलग्गै बस्ने सिकाएर र समस्या पर्दा हामी आफै एम्बुलेन्स लिएर स्वास्थ्यकर्मीसहित आउछौं भन्ने सुरक्षाको प्रत्याभूति दिलाएर ब्यवस्थापन गर्दा धेरै राम्रो र आर्थिक भार पनि कम पर्छ ।’

अस्पतालमा धेरै मानिसहरुको आवतजावत हुने र अन्य संक्रमणको जोखिमसमेत हुन सक्ने हुँदा नियमहरुको पूर्ण पालनासहित होम आइसोलेसनमा बस्नु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

आफ्नै घरमा चाहेको समयमा उपयुक्त खाना, पानीलगायत सरसफाइ गर्न सकिने हुँदा सुरक्षित भएको संक्रमण जितेकाहरुको अनुभव छ । ‘आइसोलेसन अस्पतालहरुमा पनि ठिकै होला तर लक्षण नदेखिए त घर मै उपयुक्त हुन्छ । मन लागेका बेला चाहेको खानेकुरा खान र सरसफाइ गर्न पाइन्छ,’ संक्रमण जितेका घिमिरे अनुभव सुनाउँछन् ।

परिवारसँग कुनै न कुनै अवस्थामा डाइरेक्ट कन्ट्याक्ट हुन सक्ने जोखिम हुन सक्ने विज्ञहरु बताउँछन् । ‘कुनै पनि पल सावधानी हट्नु हुँदैन् । अन्यथा परिवारसमेत जोखिममा हुन्छ । त्यसतर्फ सचेत हुनुपर्छ,’ डा. सन्तोष भुसाल भन्छन्, ‘सावधानी अपनाएमा होम आइसोलेसन उपयुक्त नै हुन्छ ।’
कसरी हुन्छ संक्रमितको निगरानी ?

स्थानीय तहमा रहेका स्वास्थ्य शाखाहरुको प्रत्यक्ष निगरानीमा होम आइसोलेसनमा बस्नेहरुको निगरानी हुने गरी निर्देशिका तयार भएको छ । व्यक्ति संक्रमित भएको पुष्टि भएपछि संक्रमितको अवस्था हेरेर होम आइसोलेसनका लागि मापदण्ड पूरा हुने वा नहुने विषयमा स्थानीय पालिकाले अध्ययन गरी निर्णय लिने डा. गिरी बताउँछन् । ‘स्थानीय पालिकाले घरको अवस्था हेरेर निर्णय लिन्छन् र स्थानीय तहले नै निगरानी गर्ने गर्दछन्,’ उनले भने ।

हरेक स्थानीय तहले ५० जना संक्रमितका लागि १ जना स्वास्थ्यकर्मीको दरले व्यवस्थापन गर्ने निर्देशिकामा उल्लेख छ । संक्रमितको दिनमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने हुन्छ । संक्रमितलाई कुनै पनि कठिनाई भएमा, छाती दुःखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीमार्फत थप उपचारका लागि अस्पताल लैजाने व्यवस्था हुने डा. गिरीले बताए ।
स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले संक्रमितको दिनमा कम्तीमा दुई पटक स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन्छन् ।

कस्ता नियम पालना गर्नुपर्छ ?

मन्त्रालयले होम आइसोलेसनमा संक्रमितका लागि मापण्ड तय गरेको छ । जसअनुसार पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठा हुनुपर्छ । आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्नुपर्ने, स्नानघर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने हुन्छ । त्यस्तै सामूहिक रुपमा शौचालयको प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

यस्तै दाँत माझ्ने ब्रसलगायतका सामानहरु बेसिनबाहेक अन्य स्थानमा छुट्टै राख्ने, घरका ढोका, टेबललगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानहरु समय समयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा धुँने क्रममा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

संक्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने र बढी जोखिममा रहने समूह (दीर्घ रोगका बिरामी, ६० वर्षमाथिका जेष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलालगायत)लाई टाढा राख्नुपर्ने नियम बनाइएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ