काठमाडौं-कोभिड-१९ का कारण गम्भीर अवस्थामा पुगेका १ सय जना बिरामी देशका विभिन्न अस्पतालका आईसीयु र भेन्टिलेटरमा पुगेका छन् । हेल्थ आवाजलाई प्राप्त तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ४७ जना आईसीयु र ६ जना भेन्टिलेटरमा कोभिड-१९ का संक्रमित उपचाररत रहेका छन् ।
जसमा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आईसीयुमा १४ जना, युनिफाइड अस्पताल बलम्बुमा ८ जना, त्रिवि शिक्षण अस्पतालको आईसीयुमा ५ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जना, ह्याम्स अस्पताल धुम्बाराहीमा ७ जना, धुलिखेल अस्पताल धुलिखेलमा २ जना र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना आईसीयुमा उपचाररत रहेका छन् ।
कोरोना संक्रमित ६ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
उपत्यका बाहिर ४८ जनाको आईसीयुमा उपचार भइरहेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ८ जना आईसीयुमा उपचाररत रहेका छन् ।
जनकपुर प्रादेशिक अस्पतालका कोभिड-९ संयोजक डा. जामुन साहकाअनुसार सो अस्पतालको आईसीयुमा ८ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी, वीरगन्जस्थित नारायणी अस्पतालका कोभिड-१९ संयोजक डा उदयनारायण सिंहका अनुसार नारायणी अस्पतालमा २२ जनालाई आईसीयुमा राखेर उपचार जारी छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १० जना गम्भीर संक्रमितको उपचार भइरहेको अस्पतालका कोभिड-१९ फोकल पर्सन डा. विष्णु गौतमले जानकारी दिए ।
नेपालमा आइतबार साँझसम्म २६ हजार ६ सय ६० जना संक्रमित भएका छन् । तीमध्ये १७ हजार ३ सय ३५ जना संक्रमणमुक्त भइसकेका छन् । ९ हजार २ सय २१ जना सक्रिय संक्रमित भएका छन् । कोभिड १९ को कारण १ सय ४ जनाको मृत्यु भइसकेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङ्गमा जानकारी गराएका थिए ।
नेपालमा हालसम्म संक्रमणमुक्त हुनेहरुमा प्रदेश १ मा १ हजार १ सय ८ जना, प्रदेश २ बाट ३ हजार ६ सय १२ जना, बागमतीबाट ६ सय ५४ जना, गण्डकीबाट १ हजार ५ सय २८, प्रदेश ५ बाट ४ हजार २ सय ८८ जना, कर्णाली प्रदेशबाट १ हजार ९ सय ३८ जना र सुदूरपश्चिम प्रदेशबाट ४ हजार २ सय ७ जना छन् ।