काठमाडौं-संक्रमण बढ्दै जाँदा उपत्यकाका कोभिड-१९ अस्पतालमा क्षमताभन्दा बढी बिरामी भर्ना भएका छन् । हाल उपत्यकाका ११ अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । ती अस्पतालमध्ये ६ वटा अस्पतालमा क्षमताभन्दा धेरै संक्रमित राखेर उपचार गरिएको छ ।
शुक्रबार साँझसम्म देशभर पुष्टि भएका ८ हजार ३ सयय ७५ ‘एक्टिभ केस’मध्ये उपत्यकामा १ हजार ४ सय ९९ जना छन् । उपत्यकामा ७ सय ३० जना संक्रमित अस्पताल बाहिर अर्थात घरमा छन् भने ६ सय ७९ जना मात्रै अस्पतालमा भर्ना भएका छन् । तर, यो संख्या स्वास्थ्य मन्त्रालयसँग सूचीकृत छैन । संक्रमित भर्ना गरेका अस्पतालले पनि क्षमताभन्दा १ सय १४ जना बढी भर्ना गरेका छन् ।
शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ संयोजक डा सन्तकुमार दासका अनुसार अस्पतालमा ३२ केस पुष्टि भएका छन् । शिक्षण अस्पतालमा ८ शैय्या मात्रै आइसोलेसनको सुविधा रहेको छ । तर, स्वास्थ्यकर्मी संक्रमित भएका कारण अस्पतालले पुराना शैय्याहरुको व्यवस्थापन गर्दै संक्रमित राख्दै आएको उनले बताए ।
कोरोना संक्रमितलाई राख्न सरकारले बिभिन्न अस्पतालमा आइसोलेसन वेड तयार पारेको थियो । तर, ज्यादै न्युन आइसोलेसन वेडका कारण संक्रमितले पाउन सकेका छैनन् । उपत्यकामा १ हजार ४ सय ९९ संक्रमित हुँदै आधाभन्दा बढी संक्रमित अस्पताल बाहिर हुनु आगामी दिनका लागि सुखद् पक्ष नभएको विज्ञहरुले बताएका छन् । ३० लाख बढी जनसंख्या भएको उपत्यकामा सानो संख्यामा संक्रमित व्यवस्थापन हुन नसक्दा आगामी दिनमा कसरी व्यवस्थापन होला चिकित्सकहरुले प्रश्न गरेका छन् ।
स्वास्थ्य मन्त्रालयले निजी अस्पताल गुहा¥यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताल गुहारेको छ । सरकारी अस्पतालमा कोभिड-१९ शैय्या बढाउनुको साटो निजी अस्पताललाई अनिवार्य रुपमा कुल शैय्याको २० प्रतिशत कोभिड १९ का बिरामीलाई छुट्याउन निर्देशन जारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा समिर अधिकारीले कोभिड १९ अस्पतालहरु भरिएकाले निजीलाई संक्रमित पुष्टि भए आफै भर्ना गरेर आइसोलेसनमा राख्न निर्देशनात्मक परिपत्र गरेको बताए । निजी अस्पतालहरुले कोरोना पुष्टि हुना साथ सरकारी कोभिड-१९ अस्पतालमा रिफर गर्ने र शैय्या अभावले बिरामी अलपत्र पर्न थालेपछि यस्तो परिपत्र गरेको हो ।
उनले उपत्यकाका कुनै अस्पतालमा रेफर गर्नुपर्ने भए हब अस्पतालको संयोजन र मन्त्रालयको निर्देशन प्राप्त गरेर मात्र गर्न अनुरोध गरे ।