काठमाडौं—कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत कर्मचारीलाई होम क्वारेन्टाइनमा पठाएर उनीहरुको सम्पर्कमा आएका अन्य शंकास्पद पहुँचवाला व्यक्तिलाई भने होटल क्वारेन्टाइनमा पठाइएको छ । पहुँच नभएकाहरुलाई भने होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।
संक्रमितमध्ये एक जनालाई मात्र अस्पताल पठाएर अन्य सबैलाई होम आइसोलेसनमा पठाइएको हो ।
संक्रमितहरुको क्लोज कन्ट्रयाकमा आएका सबैलाई क्वारेन्टाइनमा पठाइएको मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टले जानकारी दिए । उनले रोजाइमा होम क्वारेन्टाइन र होटल क्वारेन्टाइनमा पठाइएको बताए । ‘निर्देशिकाअनुसार जसले जे रोज्नुभयो, त्यहीअनुसार पठाइएको हो,’ उनले भने, ‘कतिपय होम क्वारेन्टाइनमा जानुभयो । कतिपय होटल क्वारेन्टाइनमा जानुभयो ।’
संक्रमितको सम्पर्कमा आएका भनिएका स्वास्थ्य राज्यमन्त्री नवराज रावत पनि होम क्वारेन्टाइनमा बसेका छन् । उनले आफू होटलमा बस्दा सुरक्षाकर्मीलगायत धेरै बस्नुपर्ने भन्दै आफू होम क्वारेन्टाइनमा बसेर परिवारलाई होटल क्वारेन्टाइनमा पठाएका हुन् । ‘मन्त्रीज्यू होटल क्वारेन्टाइन बस्दा धेरै जना बस्नुपर्ने भयो,’ सह—सचिव विष्टले भने, ‘त्यही भएर उहाँलाई होम क्वारेन्टाइन राखेर उहाँको परिवारलाई पठायएको हो ।’
मन्त्रालयले ऐच्छिक रुपमा होम क्वारेन्टाइन र होटल क्वारेन्टाइन बस्न भनेको बताए पनि केही कर्मचारीले भने पहुँचका आधारमा होटल क्वारेन्टाइन बस्नेहरुको लिष्ट तयार गरेको आरोप लगाएका छन् । होम क्वारेन्टाइनमा रहेका एक कर्मचारीले पहिले आफूहरुलाई होम क्वारेन्टाइन बस भनेर पठाएको तर पछि पहुँचवाला कर्मचारीहरुलाई होटलमा पठाइएको गुनासो गरे । ‘घरमा दुई कोठा छन् । एउटामा अरु सबै परिवार कोचिएर बसेका छन्, म अर्को कोठामा क्वारेन्टाइनमा बसेको छु,’ हेल्थ आवाजसँग ती कर्मचारीले गुनासो गर्दै भने ‘हामीलाई होम क्वारेन्टाइन बस्नु भन्दै पठाए । तर, पावर भएकाहरु सबै होटल गएछन् ।’
कतिपय संक्रमितको सम्पर्कमा आएका कर्मचारीहरु नियमित काममा पनि आइरहेका छन् । हिजोमात्र संक्रमितको सम्पर्कमा रहेका एक कर्मचारीले हेल्थ आवाजसँग भने, ‘हामीलाई त अफिस बोलाएर काम गर्न भनिएको छ । काम गरिरहेका छौं ।’