एम्बुलेन्स तथा पूर्व—अस्पताल सेवा सञ्चालनका लागि तीन तहका प्रेषण केन्द्र स्थापनाको प्रस्ताव
काठमाडौं—एकीकृत एम्बुलेन्स सेवा तथा पूर्व—अस्पताल सेवा सञ्चालनका लागि संघ, प्रदेश र स्थानीय तहमा प्रेषण केन्द्र स्थापना गर्ने प्रस्ताव गरिएको छ । एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिकाको मस्यौदा बनाउन डा. प्रदिप वैद्यको संयोजकत्वमा बनेको समितिले यस्तो प्रस्ताव गरेको हो ।
समितिले देशभरका एम्बुलेन्सहरु प्रेषण केन्द्रमार्फत एकीकृत रुपमा सन्चालन गर्ने र तीन अंक टेलिफोन नम्बरबाट नागरिकले सहज र सरल रुपमा आकस्मिक सेवासहितको एम्बुलेन्स सेवा सुनिश्चितता गर्ने गरी मस्यौदा प्रस्ताव गरेको हो । यिनै प्रेषण केन्द्रमार्फत पूर्व अस्पताल सेवा समेत सन्चालन हुनेछन् । यो सबै व्यवस्थापनका लागि सबैभन्दा माथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञको नेतृत्वमा राष्ट्रिय एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल व्यवस्थापन निर्देशक समिति गठन गर्ने प्रस्ताव छ ।
संघअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईअन्तर्गत रहने राष्ट्रिय प्रेषण केन्द्र स्थापना गरिने प्रस्ताव छ । जसमा १६ जना हेल्थ असिस्टेन्ट वा स्टाफ नर्स र आवश्यकताअनुसार अन्य प्रशासनिक कर्मचारी राख्नुपर्नेछ । यस्तै, प्रदेशमा प्रादेशिक प्रेषण केन्द्र राख्ने प्रस्तावमा छ, जसमा ८ जना हेल्थ असिस्टेन्ट वा स्टाफ नर्स राख्नुपर्नेछ । उनीहरुलाई २ हप्ते प्रेषण तालिम दिनुपर्ने प्रस्तावमा छ । स्थानीय तहले पनि आवश्यकताअनुसार प्रदेशसँग समन्वय गरी प्रेषण केन्द्र स्थापना गर्न सक्ने मस्यौदामा छ तर त्यहाँ रहने जनशक्ति भने प्रस्ताव गरिएको छैन् ।
राष्ट्रिय प्रेषण केन्द्रले २४ सैं घण्टा सञ्चालन हुने मस्यौदामा छ । जसले प्रादेशिक प्रेषण केन्द्रको अनुगमन, समन्वय र सहायता गर्ने, प्रदेशका भएका गतिविधीको प्रतिवेदन तयार पार्ने, मातहतका केन्द्रमा कार्यरत जनशक्तिलाई आकस्मिक स्वास्थ्य सेवा सम्बन्धि प्राविधिक तालिमको सहायता गर्ने, विपद् र आकस्मिक संचारका लागि गृहमन्त्रालय वा अन्तर्गतका निकाय तथा प्रदेश सरकारसँग समन्वय गरेर सक्रिय रुपमा परिचालित गर्ने, प्रदेश प्रेषण केन्द्रबाट प्रेषण गर्ने एम्बुलेन्से र प्रेषण हुने अस्पतालसँग समन्वय गर्ने, एम्बुलेन्स घटनास्थलसम्म नपुगुन्जेल बिरामीलाई प्राथमिक उपचारका लागि निर्देशन गरिरहने काम गर्नेछ । यस्तै, राष्ट्रिय प्रेषण केन्द्रले काठमाडौंमा एम्बुलेन्स सेवा सन्चालनको जिम्मेवारीसँगै बिरामी स्वास्थ्य अवस्था जटिल रहेमा विशेषज्ञसँग टेलिमेडिसिन विधीबाट परामर्श लिनुपर्नेछ । केन्द्रअन्तर्गत क र ख वर्गका एक—एक वटा एम्बुलेन्स रहनेछन् ।
समितिले प्रादेशिक एकीकृत एम्बुलेन्स तथा पूर्व व्यवस्थापन समिति गठन गरेर प्रदेश प्रेषण केन्द्र सञ्चालन गर्ने गरी मस्यौदा तयार पारेको छ । प्रदेश सामाजिक विकास मन्त्रालय रहने प्रदेश प्रेषण केन्द्र प्रदेशअन्तर्गत रहेका एम्बुलेन्सलाई एकीकृत रुपमा सेवा सन्चालनको व्यवस्था मिलाउन र राष्ट्रिय प्रेषण केन्द्रसँग सामन्जस्यता कायम गर्न स्थापना गरिने मस्यौदामा छ ।
प्रदेश प्रेषण केन्द्रले पनि २४ सै घण्टामा सन्चालनमा रहने, प्रदेशअन्तर्गतका एम्बुलेन्सलाई एकीकृत रुपमा सन्चालन गर्ने, स्थानीय प्रेषण केन्द्रहरुको अनुगमन, समन्वय र सहजीकरण गर्ने, प्रदेशका गतिविधीको प्रतिवेदन तयार गरी समितिमा प्रस्तुत गर्ने, अस्पतालहरुसँग समन्वय गर्नेलगायतका काम गर्ने उल्लेख छ । प्रदेश प्रेषण केन्द्रअन्तर्गत पनि क र ख वर्गका एक—एक वटा एम्बुलेन्स रहेन मस्यौदामा छ ।
यस्तै, प्रदेश प्रेषण केन्द्रलाई अर्को प्रदेशको प्रेषण केन्द्र र राष्ट्रिय प्रेषण केन्द्रसँग समन्वय गर्ने, एम्बुलेन्स र पूर्व अस्पताल सेवाको अभिलेख राख्ने, विपद् तथा आकस्मिक आइपर्ने आन्तरिक तथा कानुन मन्त्रालयसँग समन्वय गरेर परिचालन गर्ने, आकस्मिक चिकित्सकीय प्राविधिकलाई प्रेषित गरिएको बिरामीको स्वास्थ्य अवस्था जटिल भएमा अस्पतालका विशेषज्ञहरुसँग टेलिमेडिसिन, फोनलगायतबाट परामर्श लिनुपर्ने उल्लेख छ ।
आवश्यकताअनुसार प्रदेशसँग समन्वय गरी स्थापना गर्ने भनिएका स्थानीय प्रेषण केन्द्रले एम्बुलेन्स सन्चालन र नवीकरणका लागि मापदण्ड बमोजिम प्रादेशिक एम्बुलेन्स तथा पूर्व अस्पताल स्वास्थ्य सेवा व्यवस्थापन समितिमा पठाउनुपर्ने प्रस्ताव मस्यौदामा छ ।
नागरिकलाई प्राथमिक उपचार सम्बन्धि तालिम
मस्यौदामा पूर्व अस्पताल सेवाका लागि नागरिकलाई प्राथमिक उपचार सम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
यस्तै, संघ, प्रदेश र आवश्यकताअनुसार स्थानीय तहमा प्रेषण केन्द्र स्थापना, प्रेषण केन्द्रहरुले अस्पताल, सुरक्षाकर्मी, बिरामी र विरामीका सम्बन्धित व्यक्तिहरुसँग नियमित सञ्चार तथा समन्वय गर्नुपर्ने उल्लेख छ । यस्तै, समयमै एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ । सवारी साधन नपुग्ने र तत्कालै सवारी साधन उपलब्ध नहुने स्थानमा स्ट्रेचर, डोको, डुंगा तथा स्थानीय उपयुक्त प्रविधीअनुसार साधनमार्फत एम्बुलेन्स आइपुग्ने बाटोसम्म ओसार्ने व्यवस्था गर्ने उल्लेख छ ।
डा. वैद्य संयोजक रहेको उक्त समितिका अन्य सदस्यहरुमा शकुन्तला प्रजापति, डा. सन्तोष पौडेल, डा. अनिल श्रेष्ठ, बालकृष्ण सेढाइ सदस्य छन् । समितिको सदस्य सचिवमा मन्त्रालयका सह—प्रवक्ता डा. समिरकुमार अधिकारी छन् ।
धेरै पढिएका
- १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा
- २ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु
- ३ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र
- ४ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव
- ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो
- ६ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल
- ७ My Journey Against Myeloma
तपाईको प्रतिक्रिया दिनुहोस