२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशलकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै

लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै


सुर्खेत– कर्णाली प्रदेशमा लकडाउन खुलेसँगै कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । असार अन्तिमदेखि साउन पहिलो सातासम्म घट्दै गएको संक्रमणको ग्राफ उकालो लाग्न थालेको हो ।

जसले गर्दा अहिले जोखिमसँगै संक्रमणको दर पनि बढ्दै गएको छ । कर्णाली प्रदेशमा सोमबार मात्र थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको जानकारी अनुसार प्रदेश अस्पताल सुर्खेत, चौरजहारी अस्पताल रूकुम र दैलेख अस्पतालमा गरिएको पिसिआर परिक्षणमा सोमबार दैलेखका २८ जना, सल्यानका २ जना र सुर्खेतका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय १० पुगेको छ ।

जसमध्ये १ हजार ६ सय ५८ जना निको भएर घर फर्किसकेका छन् भने सक्रिय २ सय ४६ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

कर्णालीमा सोमबार १४ जना संक्रमित डिस्चार्ज भएर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणका कारण कर्णाली प्रदेशमा ६ जनाको ज्यान गइसकेको छ ।

जेठ ५ गते पहिलो पटक संक्रमण पुष्टि भएको कर्णालीमा जेठमा मात्र ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
असार महिनामा भने संक्रमणदर घटेको थियो। असारमा ७ सय ५७ जना संक्रमित थपिएका थिए । असार मसान्तदेखि साउन पहिलो सातासम्मको अवधिमा भने संक्रमण केही घटेको थियो ।

त्यसयता भने दिन प्रतिदिन ठूलो संख्यामा संक्रमित थपिने क्रम जारी छ । साउन ७ गतेबाट लकडाउन खुलेसँगै संक्रमितहरूको संख्या बढ्न थालेको हो । साउन १ गते यता कर्णालीमा एक सय ८२ जनामा संक्रमण देखिएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार साउन ६ गते प्रदेशभर १२ जनामा कोरोना संक्रमण देखिएकोमा ७ गते २२ जना संक्रमित थपिएका थिए । त्यस्तै ८ गते ३० जना, ९ गते ११ जना १० गते २७ जना ११ गते २८ र १२ गते ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमणको सुरुवाती चरणमा भारतबाट आउनेहरूको संख्या धेरै भएपनि हिजोआज पुष्टि एका संक्रमित अधिकांश समुदायस्तरका भएको प्रदेश स्वाथ्यसेवा निर्देशनालयले जनाएको छ ।

समुदायमा गएर नखोज्दै धेरै स्थानीय संक्रमित भेटिनु खतराको संकेत भएको चिकित्सकहरू बताउँछन् । कर्णालीमा पछिल्ला दिनहरूमा भेटिएका अधिकांशको कोरोना संक्रमितको अहिलेसम्म संक्रमणको स्रोत भने भेटिएको छैन ।

जसकारण स्थानीयमा कहाँबाट कसरी संक्रमण सर्यो भन्ने सवाल उठ्न थालेको छ । अधिकांशको संक्रमण स्रोत नभेटिनुले पनि समुदायमा संक्रमण व्यापक भइसकेको अड्कल काट्न सकिने जानकारहरु बताउछन् ।

केहिदिन पहिले कर्णाली प्रदेश सभा एक सदस्यको पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखियो । दैनिकजसो धेरै व्यक्तिको सम्पर्कमा रहने उनलाई संक्रमण देखिएपछि अन्य प्रदेश सभा सदस्य, सचिवालयका कर्मचारी, चालक, पत्रकार गरि झण्डै तीन सय जनाको पीसीआर परीक्षण भयो ।

तर, उनको सम्पर्कमा रहेका कसैमा पनि संक्रमण देखिएन । हाल उनी कोरोना संक्रमणमुक्त भइसकेका छन् ।
लकडाउन खुलेसँगै मानिसहरूले सार्वजनिक स्थानमा सावधानी नअपनाएका कारण कोरोना संक्रमण बढ्ने खतरा रहेको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. प्रदीप न्यौपाने बताउँछन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ