२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनयाँ पिसिआर मेसिन नपाएपछि विपी प्रतिष्ठानले स्वाब लिन मानेन

नयाँ पिसिआर मेसिन नपाएपछि विपी प्रतिष्ठानले स्वाब लिन मानेन


काठमाडाैं–धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धनकुटा र तेह्रथुममा संकलित स्वाब परीक्षण गर्न इन्कार गरेको छ । आइतबार धनकुटाबाट पठाइएका ३० बढी स्वाब र तेह्रथुमबाट पठाइएका २ स्वाब लिन नमानेको हो ।

‘हामीले चौबिसे र सहिदभूमि गाउपालिकाका ३० बढीको स्वाव संकलन गरी धरान पठाएका थियौं तर लिन मान्नुभएन्,’ जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले भने, ‘सधैं पठाउँदा सिधै लिनुहुन्थ्यो हिजो भने लिन मान्नुभएन । हामीले विराटनगर पठायौं ।’

तेह्रथुम छथर गाउँपालिकाका स्वास्थ्य संयोजक सन्जित रसाइलीले आफूहरुले पठाएका २ वटा स्वाब पनि प्रतिष्ठानले लिन नमानेको बताए । ‘दुई वटा मात्रै हो यति त लिइदिनुहोस् भन्दा पनि त्यहाँको ल्याव प्रमुखले मान्नुभएन्,’ हेल्थआवाजसँग उनले भने ‘त्यसपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी विराटनगर पठायौं ।’

त्यसैगरी सुनसरीमा नै संकलन भएका १ सय २५ स्वाब पनि लिन नमानेपछि प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले स्वाब लिएर जाँच गर्न ठाडो निर्देशन दिएपछि मात्र लिइएको थियो । ‘हामीले पठाएका १ सय २५ स्वाब पहिले लिन नमानेको मलाई सूचना आयो । मैले आफै प्रतिष्ठानमा सम्पर्क गर्दा लिन सकिदैन् भन्नुभयो,’ सुनसरीका जिल्ला स्वास्थ्य प्रमुख सागर प्रसाईले भने, ‘त्यसपछि सिडिओ सापसँग कुरा गरेर उहाँले निर्देशन दिएपछि मात्र स्वाव लिन मान्नुभयो ।’

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले भने स्वाव संकलन बढी भएका कारण लिन नसकिएको जानकारी दिए । उनले समन्वय नगरी आएका स्वाबलाई नलिइएको दावी गरे ।

विपीले स्वाब नलिनुको यस्तो छ भित्री कारण

प्रदेश १ मा सबैभन्दा बढी क्षमताको प्रयोगशाला रहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानको नै हो । पिसिआर प्रविधिबाट कोरोनाको परीक्षण गर्ने २ वटा उपकरण रहेका छन् । तर, विपीले आइतबारदेखि प्रदेश १ को विभिन्न जिल्लाहरूबाट संकलन गरेर ल्याएको स्वाब लिन छाडेको छ ।

प्रदेश १ को केही जिल्लाहरूमा सामुदायस्तरमा कोरोना संक्रमण देखा परेको अवस्थामा विपीले संकलन भएको स्वाब नलिनुको कारण प्रदेश सरकारले वितरण गरेको पिसिआर मेसिन रहेको बुझिएको छ । प्रदेश १ सरकारले शनिबार विराटनगरस्थित जनस्वास्थ्य प्रयोगशाला र झापास्थित मेची अस्पताललाई कोरोना परीक्षण गरिने पिसिआर मेसिन १/१ थान वितरण गरेको थियो । दुई मध्ये एक मेसिन विपीमा राख्नका लागि प्रतिष्ठानका पदाधिकारीले पहल गर्दै आएका थिए ।

तर, यसअघि नै विपी प्रतिष्ठानको ल्याबमा २ वटा कोरोना परीक्षण गर्ने उपकरण रहेकोले प्रदेश सरकारले जनस्वास्थ्य प्रयोगशाला र मेची अस्पतालको ल्याबलाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले विपी प्रतिष्ठानलाई कोरोना परीक्षण गरिने उपकरण नदिएको भन्दै प्रदेश मातहत रहेको अस्पतालले संकलन गरेर ल्याएको स्वाब लिन छोडनुको भित्री कारण रहेको विपी प्रतिष्ठान स्रोतको दाबी छ ।

विपी प्रतिष्ठानको दैनिक ३ सय जनाको परीक्षण गर्ने क्षमता हो । तर, पछिल्लो समय क्षमताभन्दा आधा मात्र पिसिआर प्रविधीबाट कोरोना परीक्षण गरेको पाइएको हो । दैनिक ३ सय जनाको पिसिआर प्रविधिबाट गरिएको कोरोना परीक्षणमा शुक्रबार १ सय ७४ जनाको परीक्षण गरेको छ । हालसम्म विपी प्रतिष्ठानको ल्याबबाट १३ हजार ६ सय ४५ जनाको पिसिआर प्रविधीबाट कोरोना परीक्षण भएको छ ।

विपीले परीक्षण गरेको भन्दा विराटनगरस्थित कोशी अस्पतालले बढी परीक्षण गरेको छ । दैनिक १ सयदेखि १ सय ५० परीक्षण गर्ने क्षमता रहेको कोशी अस्पतालको ल्याबले हालसम्म १६ हजार ३ सय ५० जनाको पिसिआर प्रविधीबाट परीक्षण भएको छ । विपीको भन्दा कोशीको ल्याबमा २ हजार ७ सय ५ जनाले परीक्षण भएको छ ।

यस्तै, प्रदेश जनस्वास्थ्य ल्याबले हालसम्म १३ हजार ७ सय ३६ जनाको परीक्षण गरेको ल्याबको सूचना अधिकारी प्रकाश कार्कीले जानकारी दिए । प्रदेश जनस्वास्थ्य ल्याबको दैनिक क्षमता १ सयदेखि १ सय ५० हो । ल्याबमा संकलन गरेर ल्याएको स्वाब संख्या बढेपछि प्रदेश सरकारले थप १ थान पिसिआर उपकरण प्रदेश जनस्वास्थ्य ल्याबलाई उपलब्ध गराएको हो । प्रदेश जनस्वास्थ्य ल्याबमा उपकरण थप भएपछि परिक्षणको दायरा बढने अनुमान गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ