काठमाडौं—सरकारी चिकित्सक संघ (गोदान)को निर्वाचन २४ साउनका लागि तय भएसँगै सरकारी चिकित्सकमाझ चुनावी चटारोले छाएको छ । निती निर्माणदेखि सरकारी चिकित्सकको समस्याका बारेमा बोल्ने संगठन भएकाले अहिले गोदानलाई महत्वपूर्ण संगठन मानिन्छ ।
संघका वर्तमान अध्यक्ष डा. दिपेन्द्र पाण्डेको कार्यकालमा सरकारी चिकित्सकका मुद्धामा अगुवाई गरेका कारण पनि गोदानको नेतृत्वप्रतिको आकर्षण पनि बढेको छ ।
संघको चौथो कार्यकालका लागि अध्यक्षको दौडमा संघका वर्तमान महासचिव डा. रविन खड्का पहिलो नम्बरमा छन् । रेडियोलोजिष्ट डा. खड्का वीर अस्पतालको उप–निर्देशकमा नियुक्ति पाएतापनि सुर्खेतमा बसेर काम गरिरहेका छन् । उनी राजनीतिक रुपमा नेकपा निकट मानिन्छन् ।
यस्तै, डा. समाज गौतमले पनि गोदानको अध्यक्षका लागि उम्मेदवारी दिने तयारी थालेका छन् । ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. गौतम यसअघि पनि गोदानको उपाध्यक्ष भएर काम गरिसकेका छन् । उनले यसअघि वरिष्ठ उपाध्यक्षमा चुनाव हारेका थिए ।
पुराना चिकित्सक डा. दिपक थापामगर पनि अध्यक्षमा लड्ने साेंचमा छन् । उनी ११ औं तहका ६ वर्ष पुगेका सिनियर डाक्टर हुन् । वीर अस्पतालका सर्जन डा. थापामगर गोदानलाई सिनियर चिकित्सकहरुको समेत संस्था बनाएर लैजाने उद्धेश्यकासाथ अध्यक्षमा लड्ने सोंच बनाएका हुन् । उनी राजनीतिक रुपमा कतै खुलेका छैनन् ।
अध्यक्षपछि अर्को प्रभावशाली पद महासचिवमा सरकारी चिकित्सकहरुको हक हितमा लामो समय देखी आवाज उठाउदै आएका युवा चिकित्सक डा. किर्तिपाल सुवेदीले आकांक्षा देखाएका छन् ।
परोपकार तथा प्रसूती गृहका प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा. सुवेदी अहिले गोदानका केन्द्रीय सदस्य पनि छन् । उनको दावी बलियो रहेको गोदान निकट स्रोत बताउँछ ।
यस्तै, महासचिवका अर्का दाबेदारका रुपमा डा. विजयबाबुको नाम पनि चर्चामा छ । उनी वीरमा माष्टर इन सर्जरी गरिरहेका रेजिडेन्ट चिकित्सक हुन् ।
गोदानका संस्थापक अध्यक्ष डा. सुनिल आचार्य हुन् । गोदानमा १४ सयभन्दा बढी सरकारी चिकित्सक आवद्ध छन् ।